२०८३ साउन २१ , बिहीबार

२१ वर्षपछि दुल्लूवासीले पाए घरआँगनमै न्यायको पहुँच



दैलेख । दुल्लू क्षेत्रका बासिन्दाले २१ वर्षको लामो प्रतीक्षापछि आफ्नै घरआँगनबाट न्यायिक सेवा पाउने भएका छन् । प्रहरी प्रधान कार्यालयको २०८३/३/१८ को निर्णयअनुसार आर्थिक वर्ष २०८३ साउन एक गतेदेखि इलाका प्रहरी कार्यालय दुल्लूलाई मुद्दा चलाउने अधिकार प्रदान गरिएको हो । मुद्दा चलाउने अख्तियारी पाएसँगै स्थानीयवासीमा खुसी छाएको छ । यसअघि सामान्य झै–झगडा मिलापत्रबाहेक अन्य आपराधिक घटनाको प्रक्रिया अघि बढाउन स्थानीयले जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यता थियो । अब भने धेरैजसो मुद्दाको प्रारम्भिक प्रक्रिया दुल्लूमै हुने भएको छ ।

२०४२ सालमा प्रहरी चौकीका रूपमा स्थापना भएको दुल्लूमा २०६२ सालदेखि प्रहरी निरीक्षकको दरबन्दी कायम थियो । तर आवश्यक मापदण्ड पूरा नभएका कारण लामो समयसम्म मुद्दा चलाउने अधिकार प्राप्त हुन सकेको थिएन । इलाका प्रहरी कार्यालय दुल्लूका प्रमुख प्रहरी निरीक्षक सरोज कडेलले प्राप्त अधिकारलाई सदुपयोग गर्दै नागरिकलाई छिटो, निष्पक्ष र प्रभावकारी सेवा दिने बताए । उनका अनुसार अभद्र व्यवहार, बालविवाह, झै–झगडा लगायतका मुद्दालाई प्राथमिकतामा राखेर काम गरिनेछ ।

दैलेख क्षेत्र नं. दुई अन्तर्गत पर्ने दुल्लू भौगोलिक रूपमा ठूलो क्षेत्र हो । यसअघि यहाँका नागरिकले आपराधिक घटनाका लागि समय र खर्च व्यहोरेर सदरमुकाम धाउनुपर्ने अवस्था थियो। “न्याय अब घरमै आएको महसुस भएको छ,” स्थानीय प्रकाश शाहीले बताए। दुल्लू नगरपालिका सातका रामबहादुर शाहले प्रहरी कार्यालय भवन निर्माणका लागि २०६७ सालमा जग्गा दान गरेका थिए । सोही जग्गामा २०७१ सालमा पक्की भवन निर्माण भएको थियो ।

अख्तियारी पाएपछि स्थानीयवासीसँगै प्रहरी कर्मचारी पनि उत्साहित भएका छन् । यद्यपि कार्यालयमा थप जग्गा अभाव र साँघुरो सडकका कारण केही समस्या अझै कायम छन् । लामो पर्खाइपछि प्राप्त यो अधिकारले दुल्लूवासीलाई न्यायका लागि सहज पहुँच प्रदान गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८३ साउन २० गते बुधबार