२०८३ साउन २१ , बिहीबार

सबिनाको अभियान, बालविवाह अन्त्यतर्फ



डोल्पा । हिमाली जिल्ला डोल्पाको जगदुल्ला गाउँपालिकामा बालविवाह न्यूनीकरण अभियानले उल्लेखनीय सफलता हासिल गरेको छ । केही वर्षअघिसम्म गरिबी, अशिक्षा, दुर्गम भूगोल र परम्परागत सामाजिक सोचका कारण बालविवाह सामान्य अभ्यासजस्तै रहेको यस क्षेत्रमा अहिले यसको संख्या शून्यमा झरेको छ । यो परिवर्तनको नेतृत्व गाउँपालिकाको बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख तथा सामाजिक अभियन्ता सबिना बोहोराले गरिरहेकी छन् ।

२०७७ सालदेखि जिम्मेवारी सम्हालेपछि उनले बालविवाहलाई कानुनी विषयभन्दा पनि सामाजिक समस्याका रूपमा लिएर समुदायसँग प्रत्यक्ष संवाद, जनचेतना र सहकार्यलाई प्राथमिकता दिइन् । उनको पहलमा गाउँपालिका, विद्यालय, महिला समूह, बाल क्लब, किशोर–किशोरी समूह र युवा क्लबलाई अभियानमा जोडियो । विद्यालयस्तरीय सचेतना, अभिभावकसँग अन्तरक्रिया, महिला हिंसा, बालश्रम, लागूऔषध दुव्र्यसन तथा बाल अधिकारसम्बन्धी कार्यक्रम नियमित सञ्चालन गरिएपछि समुदायको सोचमा परिवर्तन आउन थालेको छ ।

अहिले धेरै अभिभावकले छोरीको विवाहभन्दा शिक्षा र भविष्यलाई प्राथमिकता दिन थालेका छन् । गाउँपालिकाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५/७६ मा ४३ वटा बालविवाहका घटना भएका थिए । त्यसपछि क्रमशः संख्या घट्दै आर्थिक वर्ष २०७६/७७ मा ३६, २०७७/७८ मा ३४, २०७८/७९ मा १४, २०७९/८० मा ९, २०८०/८१ मा ६, २०८१/८२ मा तिन र आर्थिक वर्ष २०८२/८३ मा बालविवाहको घटना शून्यमा पुगेको छ ।

अभियानलाई थप प्रभावकारी बनाउन वडा नम्बर चार छाँचु र चौरीकोटलाई बालविवाहमुक्त वडा घोषणा गर्ने तयारी गरिएको छ । साथै सम्पूर्ण गाउँपालिकालाई बालविवाहमुक्त पालिका घोषणा गर्ने लक्ष्यसहित आर्थिक वर्ष २०८३/८४ मा बालविवाह, बालश्रम तथा बालहिंसा न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्न १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ । सबिना बोहोराको नेतृत्वमा सञ्चालन भएको अभियानले दुर्गम क्षेत्रमा पनि स्थानीय सरकार, समुदाय र सरोकारवालाबीचको सहकार्यबाट सामाजिक परिवर्तन सम्भव हुने स्पष्ट सन्देश दिएको छ ।

प्रकाशित मिति : २०८३ साउन २१ गते बिहीबार