काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवाद र आर्थिक लेनदेनको चर्चाबारे आफू कुनै पनि अनैतिक गतिविधिमा संलग्न नरहेको दाबी गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियो सन्देशमा आफूविरुद्ध नियोजित रूपमा भ्रम फैलाइएको आरोप लगाउँदै पार्टीको आधिकारिकतासम्बन्धी कानुनी तथा राजनीतिक लडाइँमा कुनै आर्थिक लेनदेन नभएको स्पष्ट पारेका हुन्।
थापाले पार्टीको विशेष महाधिवेशनलाई विद्रोहको संज्ञा दिँदै भदौ २३ र २४ गते युवाहरूले गरेको विद्रोहको सम्मान गर्दै पार्टीभित्र परिवर्तनका लागि आफूहरू अघि बढेको बताए। पार्टीका तल्लो तहका कार्यकर्ताले परिवर्तनको मागसहित गरेको विद्रोहमा आफूहरू सहभागी भएको उनको भनाइ छ।
फिक्सर भनिएका इनम सापकोटाको नामसँग जोडिएको अडियो सार्वजनिक भएपछि त्यसमा आफ्नो नाम जोडेर विभिन्न चर्चा भइरहेकोप्रति टिप्पणी गर्दै थापाले उक्त अडियो कहाँ, कसले र कुन परिस्थितिमा बोलेको हो भन्ने आफूलाई जानकारी नभएको बताए।
उनले यस विषयमा आफूहरूले जवाफ दिइरहनुपर्ने आवश्यकता नरहेको उल्लेख गर्दै निष्पक्ष अनुसन्धानबाट वास्तविकता बाहिर आउनुपर्नेमा जोड दिए। ‘नेपाली कांग्रेसको आधिकारिकताको राजनीतिक र कानुनी लडाइँमा रुपैयाँ होइन, एक सुकाको पनि कुनै आर्थिक लेनदेन वा अनुचित काम भएको छैन,’ थापाले भने।
उनले सम्बन्धित व्यक्तिमाथि भइरहेको अनुसन्धान निष्पक्ष हुनुपर्ने र घटनामा जोडिएका सबै पक्षको भूमिकाबारे छानबिन हुनुपर्ने बताए। सञ्चारमाध्यमले पनि अनुसन्धानको निष्पक्षतामाथि निगरानी राख्नुपर्ने उनको धारणा छ।
यसैबीच, आफू विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटघाटमा जुटेको विषयलाई पनि उनले नियमित राजनीतिक संवादका रूपमा व्याख्या गरेका छन्। मधेश प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकारले विश्वासको मत लिनुपर्ने अवस्थालाई ध्यानमा राखेर अन्य दलका नेताहरूसँग छलफल भइरहेको उनले बताए।
थापाका अनुसार उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका हुन्।
सरकारसँगको सम्बन्धबारे धारणा राख्दै उनले वर्तमान सरकार पाँच वर्षको कार्यकालका लागि आएको जनादेशलाई सम्मान गर्ने बताए। तर सरकारले जनजीविकासँग जोडिएका विषयलाई प्राथमिकतामा राख्नुपर्ने उनको सुझाव छ।
प्राकृतिक विपद्बाट प्रभावित नागरिकको पुनस्र्थापना, सुकुम्बासी समस्या समाधान, रोजगारी सिर्जना, लगानी प्रवद्र्धन र अर्थतन्त्र सुधारमा सरकारको ध्यान जानुपर्ने उनले बताए।
सरकारले सही काम गर्दा सहयोग गर्ने तर लोकतान्त्रिक अधिकार संकुचित गर्ने तथा संवैधानिक संस्थाहरूलाई कमजोर बनाउने प्रयास भए त्यसको विरोध गर्ने थापाको भनाइ छ। आफूविरुद्धका आरोप र चर्चाले राजनीतिक तथा सार्वजनिक विषयमा प्रश्न उठाउने अधिकार कमजोर पार्न नहुनेमा उनले जोड दिए।
‘म कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन। मेरो हातमा दाग छैन, मनमा कुनै कालो छैन। मेरो हात सफा छ,’ उनले भने। थापाले विगतमा शक्तिशाली सरकार र आफ्नै पार्टी नेतृत्वको सरकारका गलत कामविरुद्ध समेत आफूले प्रश्न उठाउँदै आएको स्मरण गरे।
आफ्नो नैतिक बल र स्वच्छताका कारण नै गलत कामविरुद्ध बोल्ने आँट आएको उनको दाबी छ। अन्त्यमा उनले प्रायोजित हल्लाका बीचमा पनि सही प्रश्न उठाउने प्रवृत्ति कमजोर हुन नहुने बताए। प्रश्न गर्ने अधिकार कमजोर भए लोकतन्त्र र मुलुकको प्रगतिसमेत प्रभावित हुने उनको भनाइ छ।








