२०८३ कात्तिक २० , शुक्रबार
सम्पादकीय

सभाहलको व्यवस्थापनमा ध्यान देऊ



वर्षौंको प्रतीक्षापछि सुर्खेत सिटी हल सञ्चालनको तयारीमा पुगेको छ । झन्डै नौ वर्षअघि निर्माण सुरु भएको यो सभाहल कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका लागि महत्वपूर्ण पूर्वाधार हो । राष्ट्रिय तथा प्रादेशिकस्तरका सभा, सम्मेलन, गोष्ठी, सांस्कृतिक कार्यक्रम र अन्य ठूला समारोह सञ्चालन गर्ने उद्देश्यले निर्माण गरिएको सभाहल पूर्ण रूपमा सञ्चालनमा आउनु सकारात्मक पक्ष हो । तर यसको निर्माण सम्पन्न हुनु र प्रभावकारी रुपमा सञ्चालन हुनु फरक विषय हुन् । अब यसको व्यवस्थापनमा समयमै ध्यान दिन जरुरी छ ।

सार्वजनिक रकमको ठूलो लगानीमा निर्माण भएका संरचना प्रयोगविहीन हुने, संरक्षणको अभावमा जीर्ण बन्दै जाने र अन्ततः खण्डहरमा परिणत हुने उदाहरण हामीकहाँ प्रशस्तै छन् । सुर्खेत सिटी हलको हकमा त्यस्तो अवस्था आउन दिनु हुँदैन । यसलाई नियमित आम्दानीको स्रोत र कर्णालीको सभा सम्मेलन तथा सांस्कृतिक गतिविधिको महत्त्वपूर्ण केन्द्रका रूपमा विकास गर्न सकिन्छ । सभाहलको सञ्चालन व्यवस्थित गर्न सके यसबाट आम्दानी पनि गर्न सकिन्छ । विभिन्न संघसंस्था, सरकारी तथा गैरसरकारी निकाय, निजी क्षेत्र र सामाजिक संस्थाले आयोजना गर्ने कार्यक्रमका लागि सभाहल उपयोगी हुन सक्छ । मुख्य सभाहल, मिनी हल तथा उपलब्ध अन्य सुविधालाई निश्चित मापदण्ड र भाडादर निर्धारण गरेर सञ्चालन गर्न सके नियमित आम्दानीको आधार बन्न सक्छ । त्यसबाट प्राप्त रकम सभाहलको मर्मतसम्भार, सरसफाइ, कर्मचारी व्यवस्थापन र सामग्रीको संरक्षणमा खर्च गर्न सकिन्छ । यसले सभाहललाई सरकारको निरन्तर आर्थिक भार बन्नबाट समेत जोगाउन सक्छ ।

तर अहिले नै सभाहलको उपयोग र व्यवस्थापनमा देखिएका कमजोरीप्रति सम्बन्धित निकाय गम्भीर हुनुपर्छ । कार्यक्रम सञ्चालनका क्रममा उपलब्ध सामग्रीको उचित सदुपयोग र संरक्षणमा ध्यान नदिइएको तथा भवनको सुविधालाई व्यवस्थित ढंगले उपयोग गर्न नसकिएको अवस्था छ । अत्याधुनिक संरचना निर्माण गरेर मात्र हुँदैन, त्यसको नियमित हेरचाह र संरक्षण पनि उत्तिकै आवश्यक हुन्छ । कार्यक्रम सञ्चालनका नाममा भवन र त्यहाँ जडित सामग्रीको दुरुपयोग हुने अवस्था आउन दिनु हुँदैन ।
त्यसैले सभाहल पूर्ण रुपमा सञ्चालनमा आउनुअघि नै वीरेन्द्रनगर नगरपालिकाले स्पष्ट र व्यावहारिक कार्यविधि बनाउनुपर्छ । कार्यक्रम बुकिङ प्रक्रिया, भाडादर, सामग्री प्रयोग, सरसफाइ, सुरक्षा, मर्मतसम्भार, कर्मचारीको जिम्मेवारी र आम्दानी खर्चको पारदर्शितालाई कार्यविधिमा समेट्नुपर्छ । सभाहल सञ्चालनका लागि दक्ष जनशक्ति र नियमित अनुगमनको व्यवस्था पनि हुनुपर्छ । व्यवस्थापन निजी क्षेत्रलाई दिने हो भने पनि त्यसको छनोट र जिम्मेवारी सार्वजनिक हितलाई केन्द्रमा राखेर तय गरिनुपर्छ । सभाहल निर्माणमा देखाइएको तत्परता अब यसको सञ्चालन, सदुपयोग र संरक्षणमा पनि देखाउन आवश्यक छ ।

प्रकाशित मिति : २०८३ कात्तिक २० गते शुक्रबार