काठमाडौं । बलरहरूको उत्कृष्ट प्रदर्शनमा साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो अपराजित यात्रा कायम राखेको छ।
बिहीबार भएको खेलमा लुम्बिनीले पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गरेको हो। लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो। यससँगै लुम्बिनीले प्रतियोगितामा तेस्रो जित दर्ता गर्दा जनकपुरले पाँच खेलमा तेस्रो हार बेहोरेको छ।
लुम्बिनी चार खेलबाट सात अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा कायम छ। वर्षाका कारण चितवन राइनोजविरुद्धको एक खेल रद्द भएपछि लुम्बिनीले अंक बाँडेको थियो। जनकपुर भने पाँच खेलबाट चार अंकसहित प्लेअफ दौडमा दबाबमा परेको छ। अब उसले बाँकी दुवै खेल जित्नुपर्ने अवस्था बनेको छ।
जनकपुरका लागि कप्तान हर्मीत सिंहले सर्वाधिक ३३ रन बनाए। उनले २० बलमा तीन छक्का प्रहार गरे। आदित्य महता २३ बलमा चार चौकासहित ३० रनमा अविजित रहे। ६५ रन जोड्दा पाँच विकेट गुमाएर संकटमा परेको जनकपुरलाई हर्मीत र आदित्यले सम्हाल्ने प्रयास गरेका थिए। उनीहरूले आठौँ विकेटका लागि ४३ रनको साझेदारी गरे। तर, १८औँ ओभरको चौथो बलमा हर्मीत आउट भएपछि जनकपुरको जित्ने सम्भावना कमजोर बन्यो।
त्यसअघि सेफ हसनले २५ बलमा चार चौकासहित २८ रन बनाउँदा ओपनर तृतराज दासले १८ रन जोडे। अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन्। लुम्बिनीका लागि डार्सी सर्टले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा २३ रन खर्चेर तीन विकेट लिए। तिलक भण्डारीले दुई तथा रुबेन ट्रम्पलम्यान र शेर मल्लले एक–एक विकेट हात पारे।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १४९ रन बनाएको थियो। लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रन बनाए। उनले ३१ बलमा चार चौका र एक छक्का प्रहार गरे। निरोशन डिकवेलाले २७ बलमा दुई चौका र एक छक्कासहित २७ रन जोडे।
त्यस्तै आसिफ शेख र दिलीप नाथले समान २१ रन बनाउँदा शामिन हुसेनले १३ रनको योगदान दिए। रुबेन ट्रम्पलम्यानले आठ बलमा दुई छक्कासहित १५ रन बनाए। ओपनर डार्सी सर्ट भने पहिलो बलमै आउट भएका थिए। जनकपुरका बलरमध्ये विशाल सुशीलिङ र राहुल यादवले दुई–दुई विकेट लिए। कप्तान हर्मीत सिंह, ललित राजवंशी र अभिषेक तिवारीले एक–एक विकेट हात पारे।
जनकपुरले स्पिन बलरलाई प्राथमिकता दिँदै १७ ओभर स्पिनबाट बलिङ गराएको थियो। स्पिनरहरूले चार विकेट लिँदा तीव्र गतिका बलरले तीन विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन्। यो जितसँगै लुम्बिनीले उपाधि रक्षा अभियानलाई थप बलियो बनाएको छ भने जनकपुरको प्लेअफ यात्रा कठिन बनेको छ।








