२०८३ कात्तिक २० , शुक्रबार

एनपीएलमा आज दुई खेल : कर्णाली–सुदूरपश्चिम र चितवन–पोखरा भिड्दै



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत शुक्रबार दुईवटा रोमाञ्चक खेल हुँदैछन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन् भने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ। शुक्रबार दिउँसो साढे १२ बजे सुरु हुने पहिलो खेलमा दुवै टोली जितको लक्ष्यसहित मैदान उत्रनेछन्।

तीन खेल खेलेको कर्णाली याक्सले दुई जित र एक हारसहित चार अंक जोडेको छ। अंक तालिकामा तेस्रो स्थानमा रहेको कर्णालीले प्रतियोगिताको पहिलो खेलमा काठमाडौंसँग हार बेहोरेको थियो। त्यसपछि विराटनगर किंग्स र जनकपुर बोल्ट्सलाई पराजित गर्दै लगातार दुई जित निकालेको थियो।

यता, सुदूरपश्चिम रोयल्स चार खेलबाट दुई जित र दुई हारसहित चार अंक जोडेर छैटौं स्थानमा छ। प्रतियोगिताको पहिलो खेलमा चितवन राइनोजलाई पराजित गरेको सुदूरपश्चिम दोस्रो खेलमा विराटनगरसँग पराजित भएको थियो। तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई हराएको टोली चौथो खेलमा भने लुम्बिनी लायन्ससँग पराजित भएको थियो।

आजको खेलमा जित निकाल्दै अंक तालिकामा आफ्नो स्थान सुधार गर्ने लक्ष्य दुवै टोलीको हुनेछ। यसैगरी, शुक्रबार दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ। तीन खेल खेलेको चितवनले एक जित, एक हार र एक खेल वर्षाका कारण रद्द हुँदा अंक बाँडेको छ। कुल तीन अंकसहित चितवन अंक तालिकाको सातौं स्थानमा रहेको छ।

चितवनले प्रतियोगिताको पहिलो खेलमा सुदूरपश्चिमसँग हार बेहोरेको थियो। दोस्रो खेलमा लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्दा वर्षाका कारण खेल रद्द भएको थियो। तेस्रो खेलमा भने विराटनगर किंग्सलाई हराउँदै चितवनले प्रतियोगितामा पहिलो जित दर्ता गरेको थियो।

यता, पोखरा एभेन्जर्स भने यस सिजन अहिलेसम्म जितविहीन छ। तीन खेल खेलेको पोखराले सबै खेलमा पराजय बेहोरेको छ। अंक तालिकाको अन्तिम स्थानमा रहेको पोखरा आज चितवनलाई हराउँदै प्रतियोगितामा पहिलो जित निकाल्ने प्रयासमा हुनेछ।

पोखराले आफ्नो पहिलो खेलमा लुम्बिनी लायन्स, दोस्रो खेलमा जनकपुर बोल्ट्स र तेस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग हार बेहोरेको थियो।आजको खेल पोखराका लागि हारको शृंखला तोड्ने अवसर हुनेछ भने चितवन आफ्नो जितको लयलाई निरन्तरता दिने लक्ष्यमा मैदान उत्रनेछ।

प्रकाशित मिति : २०८३ कात्तिक २० गते शुक्रबार