२०८३ कात्तिक २० , शुक्रबार

ममता हत्या प्रकरण : शव लुकाउन काटेको नरेशद्वारा स्वीकार, हत्या भने अस्वीकार



अमेरिका । अमेरिकाको भर्जिनिया राज्यस्थित प्रिन्स विलियम काउन्टीमा ममता काफ्ले भट्टको हत्या अभियोगमा चलिरहेको मुद्दामा प्रतिवादी नरेश भट्टले ममताको शव टुक्राटुक्रा पारेको स्वीकार गरेका छन्।

तर उनले ममताको हत्या आफूले नगरेको दाबी गर्दै शव व्यवस्थापन गर्ने काम मात्र गरेको बयान दिएका छन्। बिहीबार अदालतमा प्रतिरक्षा पक्षको साक्षीका रूपमा उपस्थित भएका भट्टले ममतालाई अचेत अवस्थामा फेला पारेपछि शव लुकाउने उद्देश्यले विभिन्न गतिविधि गरेको बताएका हुन्।

अनुवादकको सहयोगमा बयान दिएका उनले घटनाको रात, ममताको अवस्था, शव लुकाउन गरिएको प्रयास तथा इन्टरनेटमा गरेका विभिन्न खोजीबारे अदालतमा जवाफ दिएका थिए।

भट्टका अनुसार सन् २०२४ जुलाई २९ को रात करिब ८ बजे उनी सुत्न गएका थिए। त्यसबेला ममता घरको भान्सामा फोनमा कुरा गरिरहेकी थिइन्। भोलिपल्ट बिहान करिब ४ बजे छोरीको हेरचाहका लागि उठ्दा घरमा असामान्य गन्ध आएको र ममतालाई खोज्ने क्रममा ओछ्यानको खुट्टातिर भुइँमा अचेत अवस्थामा फेला पारेको उनको दाबी छ।

उनले ममता नजिकै बान्ता, औषधिका चक्की र विषादीजस्तो पदार्थ देखेको बताए। त्यसपछि आफूले सीपीआर दिए पनि प्रहरी वा एम्बुलेन्सलाई खबर नगरेको स्वीकार गरे। आपत्कालीन सेवा किन नबोलाएको भन्ने प्रश्नमा आफू आत्तिएको र घटनाको दोष आफूमाथि आउन सक्ने डर लागेको उनको जवाफ थियो।

शव लुकाउन सामग्री खोजेको स्वीकार

भट्टले घटनापछि होम डिपो र वालमार्ट गएको अदालतमा बताए। ती पसलमा जानुको उद्देश्य शव लुकाउन वा अन्यत्र लैजान आवश्यक सामग्री खोज्नु रहेको उनले स्वीकार गरेका छन्। उनले पञ्जा किनेको र शव पोटोम्याक नदीतर्फ लैजान सकिने सामग्रीसमेत खोजेको बयान दिए।

प्रतिरक्षा पक्षका वकिलले शव टुक्राटुक्रा पार्नुको कारणबारे प्रश्न गर्दा उनले डस्टबिनमा अटाउने गरी शरीर सानो बनाउन खोजेको स्वीकार गरे। अदालतमा प्रस्तुत गरिएको र्‍योबी ब्रान्डको आरासमेत पहिचान गर्दै उक्त उपकरण प्रयोग गरेको बताए।

उनका अनुसार ममताको शरीरका टुक्राहरू फोहोरका झोलामा राखिएको थियो। फोहोर उठाउने दिनअघि नै उक्त काम गरिएको र अवशेष फोहोरसँगै लगिने आफूलाई थाहा भएको उनले बताए। यद्यपि, शव काटेको ठ्याक्कै मिति भने सम्झन नसकेको उनको भनाइ थियो। शव फेला नपरोस् भन्ने उद्देश्यले शरीर काटेर फोहोरमा राखेको हो भन्ने वकिलको प्रश्नमा भट्टले सहमति जनाएका थिए।

१४ हजारभन्दा बढी गुगल खोजी गरेको हुन सक्ने बयान

अदालतमा भट्टको इन्टरनेट खोजी इतिहासबारे पनि विस्तृत प्रश्न गरिएको थियो। भर्जिनियामा हराएका मानिस फेला पर्ने सम्भावनाबारे आफूले खोजी गरेको हुन सक्ने उनले बताए।

शव काटेपछि पक्राउ पर्ने डर लागेको थियो कि भन्ने प्रश्नमा उनले स्वीकारोक्तिसहित जवाफ दिएका थिए। त्यस्तै, आफ्नी छोरीलाई साथीको जिम्मा लगाउन मिल्ने वा नमिल्ने विषयमा गरिएको इन्टरनेट खोजीलाई उनले छोरीको अस्थायी हेरचाहका लागि विश्वासिलो व्यक्ति खोज्ने प्रयासका रूपमा व्याख्या गरे।

मासु काट्ने उपकरण र चक्कु धार लगाउने साधनसम्बन्धी खोजीबारे पनि अदालतमा प्रश्न उठाइएको थियो। अनुसन्धानमा समेटिएको अवधिमा आफूले गुगलमा करिब १४ हजार पटक खोजी गरेको हुन सक्ने भट्टले अनुमान व्यक्त गरे। यद्यपि, ती सबै खोजी घटनासँग सम्बन्धित रहेको पुष्टि भएको छैन।

वैवाहिक सम्बन्धमा समस्या रहेको स्वीकार

बयानका क्रममा भट्टले ममतासँगको वैवाहिक सम्बन्ध राम्रो नरहेको र आफू सम्बन्धविच्छेद गर्ने सोचमा रहेको बताएका थिए। तर ममताका सहकर्मीहरूले यसअघि अदालतमा प्रस्तुत गरेका घरेलु हिंसासम्बन्धी आरोप भने उनले अस्वीकार गरे। विवाहबाहिर सम्बन्ध रहेको आरोपसमेत उनले अस्वीकार गरेका छन्।

प्रतिरक्षा पक्षका वकिलले भट्टको बाल्यकाल, आर्थिक अवस्था र विगतमा भोगेको भनिएको दुर्व्यवहारबारे पनि प्रश्न गरेका थिए। भोजन विश्रामका लागि दिउँसो १२:०५ बजे सुनुवाइ स्थगित हुँदा प्रतिरक्षा पक्षको प्रश्नोत्तर जारी थियो। उनका वकिलले थप करिब डेढ घण्टा बयानका लागि आवश्यक पर्ने जानकारी अदालतलाई दिएका थिए। त्यसपछि अभियोजन पक्षले जिरह गर्ने प्रक्रिया बाँकी थियो।

ममताको परिवारलाई साथ दिन रातो पहिरन लगाएर अदालत आउन आग्रह

यसैबीच, ममताको परिवारलाई न्यायको लडाइँमा साथ दिन सर्वसाधारणलाई रातो पहिरन लगाएर अदालतमा उपस्थित हुन सामाजिक सञ्जालमार्फत आह्वान गरिएको छ। ‘जस्टिस फर ममता’ अभियानअन्तर्गत ममताको मनपर्ने रङ रातो पहिरन लगाएर मानाससस्थित प्रिन्स विलियम काउन्टी जुडिसियल सेन्टरमा उपस्थित हुन आग्रह गरिएको हो।

विशेषगरी नर्स तथा स्वास्थ्यकर्मीहरूलाई आफ्नो कार्यस्थलमा प्रयोग गर्ने स्क्रब्स लगाएर उपस्थित हुन अनुरोध गरिएको छ। ‘ममताको परिवारसँग उभिऔँ’ भन्ने सन्देशसहित परिवारप्रति ऐक्यबद्धता जनाउन र न्यायको मागमा साथ दिन अभियान सञ्चालन गरिएको हो। भट्टले ममताको शव लुकाउन टुक्राटुक्रा पारेको स्वीकार गरे पनि उनको मृत्यु कसरी र कुन परिस्थितिमा भयो भन्ने विषयमा भने आफ्नो दाबी प्रस्तुत गरेका छन्।

उक्त दाबी स्वतन्त्र रूपमा पुष्टि भएको निष्कर्ष होइन। हत्या अभियोगसम्बन्धी मुद्दामा अभियोजन पक्षको जिरह र अदालतको अन्तिम फैसला आउन बाँकी रहेकाले घटनाको वास्तविकता न्यायिक प्रक्रियाबाट टुंगो लाग्नेछ।

प्रकाशित मिति : २०८३ कात्तिक २० गते शुक्रबार