२०८३ कात्तिक २० , शुक्रबार

ह्विलचेयर अभावमा घरभित्रै थुनिए आठ वर्षीय प्रकाश



जुम्ला । जुम्लाको तिला गाउँपालिका–१ रारागाउँका आठ वर्षीय प्रकाश रावतको बाल्यकाल सहज छैन। पूर्ण शारीरिक अपाङ्गताका कारण उनी अन्य बालबालिकाजस्तै विद्यालय जान, खेल्न र साथीभाइसँग रमाउनबाट वञ्चित छन्।

हिँडडुल गर्न र बोल्न नसक्ने प्रकाश परिवारको सहारामा घरभित्रै दिन बिताउन बाध्य छन्। घरको एउटा कोठाबाट अर्को कोठासम्म पुग्नसमेत उनलाई परिवारका सदस्यको सहयोग चाहिन्छ। तर, अहिले उनको दैनिक जीवनलाई सहज बनाउने एकमात्र सहारा ह्विलचेयरसमेत प्रयोग गर्न नसकिने अवस्थामा पुगेको छ।

करिब पाँच वर्षअघि आइएनएफ नेपालले उपलब्ध गराएको ह्विलचेयर बिग्रिएपछि प्रकाशको दैनिकी थप कठिन बनेको उनका बुवा जग्गबहादुर रावतले बताउनुभयो। नयाँ ह्विलचेयर नहुँदा छोरालाई घरभित्र तथा बाहिर लैजान परिवारका सदस्यले नै बोकेर हिँड्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ। शौचालयसम्म पुर्‍याउनसमेत बोकेर लैजानुपर्ने बाध्यता छ।

आवश्यक सहायक सामग्रीको अभावमा छोराको स्याहारसुसार गर्न परिवारले ठूलो कठिनाइ भोगिरहेको जग्गबहादुरले बताउनुभयो। प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको पुरानै ह्विलचेयरमा कम्बल ओढाएर प्रकाशलाई राख्नुपर्ने अवस्था रहेको छ। बाल्यकालमा खेल्ने, सिक्ने र अन्य बालबालिकासँग घुलमिल हुने उमेरमा प्रकाश आधारभूत सहायक सामग्रीकै अभावमा घरभित्र सीमित हुनुपरेको छ। एउटा ह्विलचेयरको अभावले उनको व्यक्तिगत जीवन मात्र नभई परिवारको दैनिकीसमेत प्रभावित बनेको छ।

बिग्रिएको ह्विलचेयरको सट्टा नयाँ उपलब्ध गराइदिन स्थानीय सरकार तथा विभिन्न गैरसरकारी संस्थासँग पटकपटक अनुरोध गरे पनि अहिलेसम्म सहयोग प्राप्त हुन नसकेको परिवारको गुनासो छ।

नजिकको सरकारका रूपमा रहेको गाउँपालिकासँग समेत सहयोग माग गरिएको तर सुनुवाइ नभएको जग्गबहादुरले बताउनुभयो। आवश्यक सहायक सामग्रीको व्यवस्था नहुँदा छोराको हेरचाहमा परिवारले निरन्तर कठिनाइ सामना गर्नुपरेको उहाँको भनाइ छ।

ह्विलचेयरको अभावसँगै प्रकाश शिक्षाको अवसरबाट पनि वञ्चित छन्। आठ वर्षको उमेरमा विद्यालय गएर नयाँ कुरा सिक्ने र साथीहरूसँग रमाउने समयमा उनी घरमै बस्न बाध्य छन्। शारीरिक अवस्थाका कारण विद्यालयसम्म पुर्‍याउन कठिनाइ हुनुका साथै परिवारका सदस्यमा साङ्केतिक भाषा तथा विशेष शिक्षासम्बन्धी आवश्यक ज्ञान नहुँदा उनको सिकाइमा समेत समस्या देखिएको छ।

प्रकाशको अवस्थालाई ध्यानमा राखेर आवश्यक सहायक सामग्री, पहुँचयुक्त शिक्षा र विशेष हेरचाहको व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको छ। यसैबीच, तिला गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिको आवश्यकता सम्बोधन गर्न आगामी कार्यक्रम तथा बजेटमा व्यवस्था गर्ने जनाएको छ।

गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाका अनुसार अपाङ्गता भएका व्यक्तिका लागि सहायक सामग्री वितरण, आयआर्जन र सीपमूलक कार्यक्रम सञ्चालन गर्न यस वर्षदेखि बजेट व्यवस्थापन गरिनेछ। उहाँले प्रकाशका लागि ह्विलचेयर उपलब्ध गराउन गाउँपालिकामा कार्यरत सहास संस्थासँग समन्वय गर्ने र त्यहाँबाट व्यवस्था हुन नसके गाउँपालिकाले नै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

प्रकाशित मिति : २०८३ कात्तिक २० गते शुक्रबार