२०८३ साउन २१ , बिहीबार

राउटे समुदायकी ज्येष्ठ महिलाको निधन



सुर्खेत । लोपोन्मुख राउटे समुदायकी ज्येष्ठ सदस्य फलाटो शाहीको निधन भएको छ । राउटे समुदायका मुखियामध्येका एक प्रकाश शाहीकी ६५ वर्षीया आमा फलाटो शाहीको बिहीबार बिहान निधन भएको हो । राउटे परियोजनाका जोडी शिक्षक लालबहादुर खत्रीका अनुसार शाही लामो समयदेखि दीर्घरोगबाट पीडित थिइन् । स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि बिहीबार बिहान उनको मृत्यु भएको उनले जानकारी दिए ।फलाटो शाहीको निधनसँगै राउटे समुदायको कुल जनसंख्या घटेर एक सय ३२ पुगेको छ । पछिल्ला वर्षहरूमा समुदायमा मृत्यु दर बढ्दै जाँदा जनसंख्या निरन्तर घट्दै गएको तथ्यांकले देखाएको छ । नेपालको लोपोन्मुख आदिवासी समुदायका रूपमा परिचित राउटेहरू परम्परागत रूपमा घुमन्ते जीवनशैली अपनाउँदै जंगलमै बसोबास गर्ने समुदाय हुन् । उनीहरू जाजरकोट, दैलेख, सल्यान, सुर्खेत, अछाम र दाङ आसपासका वन क्षेत्रमा बसाइँ सर्दै जीवनयापन गर्दै आएका छन् । हाल राउटे समुदाय पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका नाै स्थित खानीखोलामा अस्थायी रूपमा बसोबास गरिरहेको छ ।

राउटे समुदायको जनसंख्या घट्नुको प्रमुख कारणमध्ये अस्वस्थ जीवनशैली, गुणस्तरहीन मदिराको अत्यधिक सेवन, स्वास्थ्य सेवामा सीमित पहुँच तथा दीर्घरोगको समस्या रहेको सरोकारवालाहरू बताउँछन् । समुदायको संरक्षण, स्वास्थ्य सुधार र दिगो जीवनयापनका लागि सरकारी तथा गैरसरकारी निकायले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका भए पनि अपेक्षित उपलब्धि हासिल हुन सकेको छैन । राउटे समुदायको घट्दो जनसंख्याले यस लोपोन्मुख जातिको संरक्षण र जीवनस्तर सुधारका लागि थप प्रभावकारी पहल आवश्यक रहेको सरोकारवालाले औँल्याएका छन् ।

प्रकाशित मिति : २०८३ साउन २१ गते बिहीबार