२०८३ साउन २३ , शनिबार

कपुरकोटमै विशेषज्ञ आँखा सेवा, दुई सय ९० नागरिक लाभान्वित



सल्यान । जिल्लाकाे  कपुरकोट गाउँपालिकाका नागरिकले आफ्नै गाउँपालिकामा विशेषज्ञ आँखा स्वास्थ्य सेवा पाएका छन् । गाउँपालिकाको आयोजना तथा राप्ती आँखा अस्पताल, तुलसीपुर, दाङको प्राविधिक सहयोगमा सञ्चालित निःशुल्क आँखा शिविरको पहिलो दिन दुई सय ९० जनाले सेवा लिएका छन् । वडा नं. पाँच स्थित रिम स्वास्थ्य चौकीमा शुक्रबार सञ्चालन गरिएको शिविरमा एक सय ६९ पुरुष र एक सय २१ महिला गरी दुई सय ९० जनाको आँखा परीक्षण गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

नेत्र सहायक सुरुची बुढाथोकीको नेतृत्वमा आएको प्राविधिक टोलीले स्थानीयको आँखा परीक्षण तथा आवश्यक परामर्श प्रदान गरेको थियो । स्वास्थ्य शाखा प्रमुख सुवास हमालका अनुसार शिविरमा परीक्षण गरिएका मध्ये २६ जनामा मोतिबिन्दुको समस्या पहिचान भएको छ । त्यस्तै, ६० जनालाई आवश्यकताअनुसार निःशुल्क चश्मा वितरण गरिएको छ । एक सय ७० जनाको सामान्य आँखा परीक्षण गरिएकोमा जटिल समस्या देखिएका ३४ जनालाई थप उपचारका लागि सम्बन्धित स्वास्थ्य संस्थामा प्रेषण गरिएको हमालले जानकारी दिए ।

शिविरअन्तर्गत शनिबार वडा नं. दुई स्थित गर्पा स्वास्थ्य चौकीमा पनि निःशुल्क आँखा परीक्षण गरिनेछ । दुवै दिनको शिविरमा मोतिबिन्दु पहिचान भएका तथा गाउँपालिकाभित्र रहेका अन्य मोतिबिन्दुका बिरामीका लागि आइतबार साउन २४ गते कपुरकोट आधारभूत अस्पतालमा निःशुल्क शल्यक्रियाको व्यवस्था गरिएको छ ।

शल्यक्रियापछि बिरामीलाई आवश्यक पर्ने कालो चश्मा तथा औषधिसमेत गाउँपालिकाले निःशुल्क उपलब्ध गराउने जनाएको छ । यसअघि सामान्य आँखा परीक्षणदेखि मोतिबिन्दुको शल्यक्रियासम्मका लागि तुलसीपुर वा जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेका स्थानीयले गाउँमै विशेषज्ञ सेवा र निःशुल्क उपचार पाएपछि राहत महसुस गरेका छन् । गाउँपालिकाले नागरिकलाई घरदैलोमै सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अभियान सञ्चालन गरेको जनाएको छ ।

प्रकाशित मिति : २०८३ साउन २३ गते शनिबार