हुम्ला । अति शीघ्र कुपोषणको समस्या देखिएपछि उपचारका लागि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएका हुम्लाका ११ जना बालबालिका उपचारपछि घर फर्किएका छन् । प्रतिष्ठानको पोषण पुनःस्थापना केन्द्रमा करिब तीन महिना उपचार तथा आवश्यक स्याहार पाएपछि उनीहरूको स्वास्थ्य र पोषण अवस्थामा उल्लेख्य सुधार आएपछि घर फर्काइएको हो ।
अति कुपोषित अवस्थामा रहेका ११ जना शिशुसँगै १० जना आमालाई गत वैशाख १८ गते ताँजाकोट गाउँपालिकाको समन्वयमा जुम्ला पठाइएको थियो । उनीहरूलाई पोषण पुनःस्थापना केन्द्रमा छ महिनासम्म राखेर उपचार गर्ने योजना भए पनि अपेक्षाभन्दा छिटो स्वास्थ्यमा सुधार आएपछि तीन महिनामै घर फर्काइएको हो । ताँजाकोट गाउँपालिका एककी पविता कार्कीले आफ्नो शिशु लिएर जुम्ला पुगेको अनुभव सुनाउँदै उपचार र स्याहारपछि बालबालिकाको पोषण अवस्थामा निकै सुधार आएको बताइन् ।

कुपोषित अवस्थामा रहेका आफ्ना बालबालिका निको भएर घर फर्काउन पाउँदा आमाहरू खुसी भएको उनले बताइन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोषण पुनःस्थापना केन्द्र व्यवस्थित हुनुका साथै बालबालिकाको उपचार, पोषण र स्याहारमा विशेष ध्यान दिइएको प्रतिष्ठानले जनाएको छ । उपचारका क्रममा बालबालिकाका लागि आवश्यक पोषणयुक्त आहार, स्वास्थ्य परीक्षण तथा स्याहारको व्यवस्था निःशुल्क गरिएको थियो ।
प्रतिष्ठानका अनुसार जुम्ला पठाइएका सबै ११ जना बालबालिकाको स्वास्थ्य अवस्थामा राम्रो सुधार आएको छ । उनीहरूमध्ये ताँजाकोट गाउँपालिका दुईकी मौसमी चदराका जुम्ल्याहा शिशुसमेत रहेका छन् । उपचारका लागि पहिलो पटक हुम्लाबाट कुपोषित बालबालिकालाई जुम्ला पठाइएको गाउँपालिकाले जनाएको छ ।
ताँजाकोट गाउँपालिका एक देखि पाँच सम्मका विभिन्न बस्तीमा गत मंसिरमा गरिएको पोषण लेखाजोखाका क्रममा पाँच वर्षमुनिका बालबालिकामा अति शीघ्र कुपोषण पहिचान भएको थियो । त्यसपछि गाउँपालिकाको समन्वयमा स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकामार्फत थप परीक्षण, उपचार र स्याहारका लागि उनीहरूलाई जुम्ला पठाइएको हो ।
गाउँपालिकाले यसअघि पनि बस्ती–बस्तीमा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरी पाँच वर्षमुनिका बालबालिकाको पोषण अवस्था पहिचान गर्दै आएको जनाएको छ । कुपोषण पहिचान भएका बालबालिकालाई समयमै उपचार र पोषणयुक्त आहार उपलब्ध गराउन सके स्वास्थ्यमा उल्लेख्य सुधार ल्याउन सकिने स्वास्थ्यकर्मीहरूको भनाइ छ ।







