मुगु । ताल्चा विमानस्थलबाट बग्ने वर्षाको पानीको उचित व्यवस्थापन नहुँदा मुगुको बुकाखोलामा पानीको बहाव बढेर आसपासका बस्ती तथा खेतीयोग्य जमिन जोखिममा परेका छन् । पानीको तीव्र बहावले सडक तथा बाटो कटान गर्नुका साथै छायानाथ रारा नगरपालिकाका ११ वटा बस्ती प्रभावित भएका छन् । छायानाथ रारा नगरपालिका चारका वडाध्यक्ष लक्ष्मी भामका अनुसार भामवडा, रावलवडा र सेजुवालवडाका तिन सय ९२ घरधुरी बाढी तथा कटानको प्रत्यक्ष जोखिममा छन् ।
ताल्चादेखि भट्टेचौरसम्मको एक सय हेक्टरभन्दा बढी खेतीयोग्य जमिन बाढीले कटान गरी बगाइसकेको छ । ताल्चा र कालपाल्त आसपासका करिब २० घरसमेत बाढीको बहावका कारण उच्च जोखिममा छन् । स्थानीय समाजसेवी नन्दबहादुर रोकायाका अनुसार ११ वटा बस्तीमा आवतजावत गर्ने मुख्य बाटो बुकाखोला क्षेत्र हुँदै जाने भएकाले वर्षायाममा स्थानीयले निकै सास्ती खेप्नुपर्छ । विशेषगरी ज्येष्ठ नागरिक, गर्भवती महिला, अपाङ्गता भएका व्यक्ति र विद्यार्थीलाई खोला पार गर्न कठिन हुने गरेको उनले बताए ।
स्थानीय प्रेमबहादुर भामका अनुसार ताल्चा विमानस्थलदेखि भट्टेचौरसम्म पानीको उचित निकास नहुँदा हरेक वर्ष खेतीयोग्य जमिन कटान हुँदै गएको छ । खेती गर्ने जमिन घट्दै गएपछि स्थानीय रोजगारीका लागि छिमेकी जिल्ला हुँदै भारतसम्म मजदुरी गर्न जानुपर्ने अवस्था आएको उनले बताए । गत बुधबार विमानस्थलबाट आएको बाढीले एक रोपनी खेतमा लगाइएको धानबालीसहित खेत नै बगाएको स्थानीय रामलाल कामीले बताए । उनका अनुसार निरन्तरको कटानले केही परिवारको खेतीयोग्य जमिन नै समाप्त भएको छ ।
यता नागरिक उड्डयन प्राधिकरण एरोड्रम इन्जिनियरिङ विभागका इन्जिनियर महेश नेपालीले विमानस्थल परिसरभित्र मात्र पानी निकासको व्यवस्था गरिएको बताए । विमानस्थल क्षेत्रबाहिरको पानी व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय तह र प्रदेश सरकारको भएको उनको भनाइ छ ।स्थानीयवासीले बाढी र कटान नियन्त्रणका लागि तत्काल पानीको उचित निकास, तटबन्ध तथा दीर्घकालीन व्यवस्थापनको काम अघि बढाउन माग गरेका छन् । समयमै समस्या समाधान नगरे थप खेतीयोग्य जमिन र बस्ती जोखिममा पर्ने उनीहरूको चेतावनी छ ।








