२०८३ साउन २५ , सोमबार

१५ अर्बको सूर्यतारा सिमेन्ट उद्योग निर्माण तीव्र



सुर्खेत । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका नाै सुनाकाँडामा निर्माणाधीन सूर्यतारा सिमेन्ट उद्योगको पूर्वाधार निर्माणले गति लिएको छ । करिब १५ अर्ब रुपैयाँ लगानीमा स्थापना हुन लागेको उद्योगका लागि आवश्यक क्रसर प्लान्ट, कामदार आवास, माटो परीक्षण तथा अन्य संरचना निर्माणको काम अहिले तीव्र रूपमा अघि बढिरहेको छ । सरकारी र निजी गरी करिब पाँच सय रोपनी क्षेत्रफलमा उद्योगका संरचना निर्माण भइरहेका छन् । उद्योगका परियोजना प्रमुख सञ्जय मिश्राका अनुसार हाल करिब दुई सय  ५० जना मजदुर निर्माणस्थलमा कार्यरत छन् ।

उद्योग सञ्चालनका लागि आवश्यक भौतिक संरचना निर्माणलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको उनले जानकारी दिए । मिश्राका अनुसार निर्माणको यही गति कायम रहे अबको १७ देखि १८ महिनाभित्र उद्योग सञ्चालनमा ल्याउने लक्ष्य छ । “संरचना निर्माणको काम भइरहेको छ । कामको गति यही रूपमा अघि बढेमा १७/१८ महिनाभित्र उद्योग सञ्चालन गर्ने लक्ष्य छ,” उनले भने । तर उद्योग निर्माणको कामले गति लिए पनि निर्माणस्थलसम्म पुग्ने सडक र पुलको अवस्था भने चुनौतीपूर्ण रहेको उद्योग व्यवस्थापनले जनाएको छ ।

चौकुने गाउँपालिकाको केन्द्र गुटुबजारबाट उद्योगस्थलतर्फ जाने सडकको गुटुखोलामा हालसम्म पुल निर्माण हुन सकेको छैन । त्यस्तै, कैलालीको चिसापानीतर्फ जोडिने सडकको अवस्था पनि कमजोर छ । सडक तथा पुलको समस्या हुँदा उद्योगका लागि आवश्यक निर्माण सामग्री ढुवानी गर्न कठिनाइ भइरहेको परियोजना प्रमुख मिश्राले बताए । उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आएपछि आवश्यक पर्ने कच्चा पदार्थ तथा अन्य सामग्रीको नियमित ढुवानीका लागि सडक पूर्वाधार सुधार अपरिहार्य रहेको उनको भनाइ छ । उनले स्थानीय र प्रदेश सरकारलाई सडक स्तरोन्नति तथा गुटुखोलामा पुल निर्माणका लागि आवश्यक पहल गर्न आग्रह गरेका छन् ।

चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विकले पालिकामा ठूलो उद्योग स्थापना हुनु गौरवको विषय भएको बताए । उनका अनुसार सूर्यतारा सिमेन्ट उद्योग सञ्चालनमा आएपछि स्थानीय अर्थतन्त्र चलायमान हुनुका साथै रोजगारी र व्यापारिक गतिविधि बढ्नेछ । उद्योगस्थलसम्म पुग्ने सडकको ट्र्याक पालिकाले आफ्नै स्रोतबाट खोलेको भए पनि ठूलो बजेट आवश्यक पर्ने सडक स्तरोन्नति र पुल निर्माणको काम पालिकाको क्षमताभन्दा बाहिर रहेको अध्यक्ष विकले बताए । यसका लागि प्रदेश सरकारसँग समन्वय र सहजीकरण भइरहेको उनले जानकारी दिए ।

उद्योग सञ्चालनमा आएपछि करिब एक हजार जनाले प्रत्यक्ष रोजगारी पाउने उद्योगले जनाएको छ । दैनिक ५० हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखिएको छ । उद्योगका लागि आवश्यक चुनढुङ्गा वराहताल गाउँपालिका सात लखरपाटाबाट उत्खनन गरिनेछ । लखरपाटामा रहेको चुनढुङ्गा खानीबाट करिब २४ किलोमिटर दूरीमा सुनाकाँडामा उद्योग स्थापना भइरहेको छ । उद्योग सञ्चालनमा आएपछि पश्चिम सुर्खेतको औद्योगिक विकाससँगै स्थानीयस्तरमा रोजगारी र आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८३ साउन २४ गते आइतबार