२०८३ साउन २४ , आइतबार

जुम्लामा ग्यासको हाहाकार



जुम्ला । खाना पकाउने एलपी ग्यासको अभाव बढेपछि उपभोक्ताले सिलिन्डर लिन घण्टौँसम्म लाइनमा बस्नुपर्ने अवस्था आएको छ । शनिबार बिहानैदेखि बसपार्क क्षेत्रमा ग्यास लिन उपभोक्ताको ठूलो भीड लागेको थियो । स्थानीय जयशंकर धितालका अनुसार बिहानैदेखि ग्यासका लागि उपभोक्ताको लाइन लागेको थियो । एउटा सिलिन्डर लिनसमेत लामो समय पर्खनुपर्ने अवस्था रहेको उनले बताए ।  जुम्लामा ग्यास वितरण गर्दै आएको लगन स्टोर एण्ड सप्लायर्सले शनिबार  तिन सय ५० वटा सिलिन्डर वितरण गर्ने तयारी गरेको थियो । तर कर्णाली राजमार्गमा ग्यास बोकेको गाडी बिग्रिएपछि ढुवानीमा ढिलाइ भएको थियो ।

ग्यास बोकेको गाडी राति मात्र जुम्ला पुगेपछि शनिबार बिहानदेखि वितरण सुरु गरिएको डिलर सञ्चालक पृथ्वीबहादुर शाहीले जानकारी दिए । उनका अनुसार नेपाल ग्यासका सिलिन्डर आएपछि वितरणको व्यवस्था मिलाइएको हो । गत शनिबार पनि तिन सय ५० वटा सिलिन्डर वितरण गरिएको थियो । डिलरले तिन सय ५० वटा सिलिन्डर मात्र वितरण गर्ने तयारी गरे पनि करिब एक हजार उपभोक्ता लाइनमा बसेका थिए ।

मागको तुलनामा आपूर्ति कम भएपछि ग्यास वितरण व्यवस्थापन गर्न समस्या भएको छ । भीड नियन्त्रण तथा वितरण व्यवस्थित गर्न जिल्ला प्रशासन कार्यालय जुम्लाले प्रहरी परिचालन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी मिनबहादुर रावलका अनुसार वितरणस्थलमा सुरक्षा व्यवस्था मिलाइएको छ । एउटै परिवारका नाममा एकभन्दा बढी सिलिन्डर भए तत्कालका लागि एउटा मात्र उपलब्ध गराउने व्यवस्था गरिएको उनले बताए ।

जुम्लामा अघिल्लो महिनाको तुलनामा ग्यासको आपूर्ति बढाइएको दाबी गरिए पनि अभाव भने कायमै छ । यसले बजारमा कृत्रिम अभाव सिर्जना भएको हो कि भन्ने आशंका समेत बढाएको छ ।  जुम्लामा न्यू बुढा जनरल स्टोर र लगन स्टोर एण्ड सप्लायर्सले ग्यास वितरण गर्दै आएका छन् । न्यू बुढा जनरल स्टोरका सञ्चालक हरिलाल बुढाका अनुसार यस महिनामा मात्रै करिब एक हजार दुई सय सिलिन्डर ग्यास वितरण भइसकेको छ । उनले आपूर्ति बढ्दा पनि अभाव देखिनुको कारण स्पष्ट हुन नसकेको बताए ।

ग्यासको कालोबजारी तथा अनियमितता रोक्न प्रशासनले उपभोक्ता र वितरण प्रणालीको अभिलेख व्यवस्थित गर्ने तयारी गरेको छ । जिल्लाबाहिर पठाइएको ग्यासदेखि डिलर, सहायक पसल र उपभोक्तासम्म पुगेको परिमाणको विवरण राखिने जनाइएको छ । व्यवसायीहरूले तेल उत्पादन हुने क्षेत्रमा देखिएको पछिल्लो द्वन्द्वका कारण ग्यास आपूर्ति प्रभावित भएको बताएका छन् । ग्यास अभावका कारण विद्यार्थी, कर्मचारी तथा सर्वसाधारणसमेत दैनिक खाना पकाउने ग्यास लिन घण्टौँ लाइनमा बस्न बाध्य भएका छन् ।

प्रकाशित मिति : २०८३ साउन २४ गते आइतबार