२०८३ साउन २६ , मंगलबार

लैङ्गिक हिंसा र जातीय विभेद न्यूनीकरणका लागि अभिमुखीकरण



हुम्ला । लैङ्गिक हिंसा, जातीय विभेद न्यूनीकरण तथा सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले हुम्लाको सिमकोटमा एकदिने अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । महिला तथा पुरुषलाई लैङ्गिक हिंसा र सामाजिक विभेदका विषयमा सचेत गराउँदै समाजमा देखिएका हिंसा, विभेद तथा असमानता न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा सहभागीलाई लैङ्गिक हिंसा, जातीय विभेद, जातीय संवेदनशीलता, सामाजिक सद्भाव तथा महिला अधिकारसम्बन्धी कानुनी व्यवस्थाका विषयमा जानकारी प्रदान गरिएको थियो ।

समाजमा हुने विभिन्न प्रकारका लैङ्गिक हिंसा तथा जातीय विभेदका कारण, प्रभाव र त्यसको न्यूनीकरणका उपायबारे समेत सहभागीलाई जानकारी गराइएको थियो । कार्यक्रमका सहजकर्ता छतुप लामाका अनुसार समाजमा विद्यमान लैङ्गिक हिंसा र जातीय विभेदलाई न्यूनीकरण गर्न सबै समुदायको समान सहभागिता र सचेतना आवश्यक रहेको बताए । महिला र पुरुष दुवैलाई यस्ता विषयमा जानकारी गराउँदा समाजमा आपसी सम्मान, सहिष्णुता र सद्भाव बढाउन सहयोग पुग्ने उनको भनाइ थियो ।

कार्यक्रम बरगाउँ महिला समूहकी सदस्य निमा लामाको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा सिमकोट गाउँपालिकाका उपाध्यक्ष शुशिला भाम रोकाया तथा बौद्ध धर्मगुरु लोप्साङ लामाको उपस्थिति रहेको थियो । अभिमुखीकरण कार्यक्रममा १० जना महिला र १० जना पुरुष गरी जम्मा २० जनाको सहभागिता रहेको थियो । सहभागीलाई महिला अधिकार, लैङ्गिक समानता तथा विभेदविरुद्ध अपनाउनुपर्ने कानुनी र सामाजिक उपायबारे समेत जानकारी दिइएको आयोजकले जनाएको छ ।

राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चसँगको सहकार्यमा सञ्चालन भइरहेको ‘हाम्रो साहस’ कार्यक्रम अन्तर्गत उक्त अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमका लागि युएन वुमन र यूके इन्टरनेसनल डेभलपमेन्टको आर्थिक सहयोग रहेको आयोजकले जनाएको छ। लैङ्गिक हिंसा तथा जातीय विभेद अन्त्यका लागि समुदायस्तरमै निरन्तर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका छन् ।

प्रकाशित मिति : २०८३ साउन २५ गते सोमबार