२०८३ साउन २५ , सोमबार

सल्यानबाट २२ लाख किलोभन्दा बढी जडीबुटी निकासी



सल्यान । आर्थिक वर्ष २०८२/८३ मा २२ लाख ६८ हजार  सय ६५ किलो जडीबुटी निकासी भएको छ । डिभिजन वन कार्यालय सल्यानका अनुसार जिल्लाका १० वटै स्थानीय तहका राष्ट्रिय वन तथा निजी आवादीबाट संकलन गरिएको जडीबुटी निकासी गरिएको हो । जडीबुटी निकासीबाट गत आर्थिक वर्षमा २३ करोड ३६ लाख ८१ हजार ५ सय रुपैयाँ जिल्लामा भित्रिएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ ।

विभिन्न १३ प्रजातिका जडीबुटी निकासीबाट २३ लाख ३३ हजार ७ सय रुपैयाँ राजस्व संकलन भएको कार्यालयका सूचना अधिकारी ललितजंग खड्काले जानकारी दिए । उनका अनुसार सल्यानबाट टिमुर, रिठा, तेजपात, चुत्रो, काउलोको बोक्रा, गुजरगानो, अमला, घोडताप्रे, दालचिनीको बोक्रा, गुर्जो, कचुर, झ्याउ र कालिकाठको दानालगायत जडीबुटी निकासी भएका छन् । निकासी हुने जडीबुटीमध्ये चुत्रो, रिठा र टिमुरको परिमाण सबैभन्दा बढी रहेको कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्षमा तिन लाख २७ हजार दुई सय ४५ किलो टिमुर निकासी भएको थियो । टिमुरको बिक्रीबाट मात्रै १७ करोड ९९ लाख रुपैयाँ जिल्लामा भित्रिएको खड्काले बताए । टिमुरबाट १० लाख १६ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । त्यस्तै, पाँच लाख ५४ हजार दुई सय ३२ किलो रिठा निकासीबाट दुई करोड २१ लाख रुपैयाँ तथा आठ लाख ६२ हजार एक सय ७५ किलो चुत्रो निकासीबाट एक करोड ८९ लाख रुपैयाँ जिल्लामा भित्रिएको छ ।

कार्यालयका अनुसार गुजरगानोबाट ७५ लाख ५४ हजार, तेजपातबाट २४ लाख, काउलोको बोक्राबाट २३ लाख ५० हजार, अमलाबाट ५ लाख ४० हजार, घोडताप्रेबाट एक लाख ८० हजार, दालचिनीबाट ५१ हजार, गुर्जोबाट ९० हजार, कचुरबाट २ लाख, झ्याउबाट १० लाख र कालिकाठको दानाबाट चार लाख ५० हजार रुपैयाँ जिल्लामा भित्रिएको छ । छत्रेश्वरी गाउँपालिका, शारदा र बनगाड कुपिण्डे नगरपालिकालगायत क्षेत्रमा टिमुरको संकलन तथा निकासी बढी हुने गरेको छ ।

त्रिवेणी र छत्रेश्वरी गाउँपालिका तथा बागचौर नगरपालिकामा रिठा बढी संकलन हुने गरेको कार्यालयले जनाएको छ । यस्तै, बनगाड कुपिण्डे नगरपालिका, कुमाख र दार्मा क्षेत्रमा चुत्रोको बोक्रा तथा कालिमाटी, त्रिवेणी र कपुरकोट गाउँपालिकालगायत क्षेत्रमा तेजपात बढी संकलन हुने गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा सल्यानबाट १७ लाख ३९ हजार किलोभन्दा बढी जडीबुटी संकलन तथा निकासी भएको थियो । त्यसबाट १९ लाख ३९ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन भएको थियो । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा जडीबुटीको संकलन तथा निकासी परिमाण बढेको डिभिजन वन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८३ साउन २५ गते सोमबार