सुर्खेत । कर्णाली प्रदेशका विभिन्न जिल्लामा देखिएको खाना पकाउने ग्यासको अभाव समाधान गर्न नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी)सँग थप ग्यास माग गरेको छ । निगमले यसअघि माग गर्दै आएको परिमाणभन्दा पाँच हजार मेट्रिक टन बढाएर ५५ हजार मेट्रिक टन ग्यास माग गरेको जनाएको छ । सुर्खेतमा आइतबार आयोजित सर्वपक्षीय बैठकमा नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले देशभर देखिएको ग्यास अभाव समाधानका लागि आईओसीसँग ६० हजार मेट्रिक टन ग्यास माग गरिएको जानकारी दिए ।
आईओसीले भने ५५ हजार मेट्रिक टन ग्यास उपलब्ध गराउने सहमति जनाएको उनले बताए । उनका अनुसार मागअनुसार ग्यास प्राप्त भएपछि हाल देखिएको अभाव क्रमशः समाधान हुने अपेक्षा गरिएको छ । असारअघि ग्यासको खपत तुलनात्मक रूपमा कम रहे पनि असारदेखि माग बढेपछि आपूर्ति व्यवस्थामा दबाब परेको निगमले जनाएको छ ।
निगमले गत फागुनमा ३१ हजार, चैतमा ३८ हजार, वैशाखमा ३२ हजार र जेठमा ३३ हजार मेट्रिक टन ग्यास आपूर्ति गरेको थियो । असारमा भने ४४ हजार पाँच सय मेट्रिक टन ग्यास आपूर्ति गरिएको थियो । मागको तुलनामा आपूर्ति कम हुँदा बजारमा अभाव देखिएको प्रवक्ता ठाकुरले बताए । नेपालमा ग्यास ढुवानी गर्ने करिब छ सय ५० वटा बुलेट भारतीय रहेका कारण आपूर्ति व्यवस्थामा थप चुनौती हुने गरेको निगमले जनाएको छ । यसअघि लागू गरिएको आधा सिलिन्डर प्रणालीले समेत बजारमा समस्या बढाएको निगमको भनाइ छ ।
निगमका अनुसार साउन एक गतेदेखि २३ गतेसम्म मात्रै सुर्खेतमा ४१ हजार पाँच सय १७ सिलिन्डर ग्यास वितरण गरिएको छ । निगम सुर्खेतका प्रमुख दीपक घिमिरेले ठूलो परिमाणमा ग्यास वितरण भए पनि उपभोक्ताको लाइन घट्न नसकेको बताए । उनका अनुसार व्यवसायीसँग रहेका खाली सिलिन्डर एकैपटक भर्न सम्भव नभएकाले आपूर्ति बढ्दै गएसँगै क्रमशः भर्दै जाने व्यवस्था गरिनेछ । यसैबीच, झन्डै एक महिनादेखि सुर्खेतमा देखिएको ग्यास अभाव समाधान गर्न जिल्ला प्रशासन कार्यालयले सर्वपक्षीय बैठक आयोजना गरेको हो ।
बैठकले विद्यार्थी, अपाङ्गता भएका व्यक्ति, सुत्केरी तथा ज्येष्ठ नागरिकलाई प्राथमिकता दिँदै आयल निगम र प्रशासनको रोहबरमा १० प्रतिशत ग्यास जगेडा राखेर वितरण गर्ने निर्णय गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले ग्यास व्यवसायीलाई प्राथमिकताका आधारमा ग्यास वितरण गर्न निर्देशन दिए । उनले आपूर्ति परिमाण बढाउन समेत निगमसँग आग्रह गरे । सुर्खेतका ग्यास व्यवसायीले जिल्लामा ४० हजारभन्दा बढी खाली सिलिन्डर रहेको भन्दै ती सिलिन्डर तत्काल भर्ने व्यवस्था मिलाउन आयल निगमसँग माग गरेका छन् । मागअनुसार आपूर्ति नहुँदा उपभोक्तालाई सहज रूपमा ग्यास वितरण गर्न कठिनाइ भएको उनीहरूको भनाइ छ ।









