कालिकाेट । कर्णाली करिडोरअन्तर्गत कालीकोटको पचालझरना गाउँपालिका छ थिर्पुमा सडक निर्माणका क्रममा ठूलो पहिरो खसेपछि निर्माण कार्य प्रभावित भएको छ । नेपाली सेनाले सडक निर्माणका लागि ब्लास्ट गरेपछि आइतबार ठूलो चट्टानसहितको सुख्खा पहिरो खसेको हो । लगातारको वर्षाका कारण जमिन भिजेर कमजोर बनेका बेला सडक निर्माणका लागि चट्टान फुटाउने क्रममा पहिरो खसेको नेपाली सेनाले जनाएको छ । पहिरो ठूलो भए पनि आसपासका बस्तीमा तत्काल जोखिम नरहेको सेनाको भनाइ छ ।
नेपाली सेनाका मेजर सुकी थकालीका अनुसार लगातार पानी परेर जमिन कमजोर बनेका कारण पहिरो खसेको हो । उनले पहिरो खसेको क्षेत्र आसपास बस्ती भए पनि हालसम्म कुनै जोखिम नदेखिएको बताए । “लगातार पानी परेर जमिन भिजेको थियो । ठूलो सुख्खा पहिरो गएको छ । वारिपारि बस्ती छन् तर अहिले बस्तीमा जोखिम देखिएको छैन,” थकालीले भने । पहिरोका कारण कराइली गहिरो क्षेत्रमा भइरहेको सडक निर्माणको काम दुईदेखि तीन दिनसम्म प्रभावित हुने भएको छ ।
पहिरो खसेको क्षेत्रमा थप चट्टान तथा माटो खस्न सक्ने सम्भावना रहेकाले तत्काल उक्त क्षेत्रमा काम नगर्ने सेनाको तयारी छ । थकालीका अनुसार पहिरो खसेको क्षेत्रमा जोखिमको अवस्था अध्ययन गरी मात्रै पुनः निर्माण कार्य अघि बढाइनेछ । तत्कालका लागि प्रभावित क्षेत्र छाडेर करिडोरको अन्य क्षेत्रमा सडक निर्माणको कामलाई निरन्तरता दिइनेछ । “सुख्खा पहिरो झरेको हुनाले त्यो क्षेत्रमा दुई–तीन दिन काम गर्न सकिँदैन । अहिले अर्को क्षेत्रमा काम गर्छौं,” उनले भने ।
कर्णाली करिडोरको उक्त खण्डमा नेपाली सेनाले सडक निर्माणको जिम्मेवारी सम्हाल्दै आएको छ । दुर्गम भूगोल, भिरालो जमिन र लगातारको वर्षाका कारण निर्माणाधीन सडक क्षेत्रमा पहिरोको जोखिम बढ्दै गएको छ । सडक निर्माणका लागि चट्टान फुटाउने क्रममा पहिरो खस्दा निर्माणमा थप चुनौती थपिएको सेनाले जनाएको छ । पहिरो प्रभावित क्षेत्रमा थप क्षति हुन नदिन तत्काल जोखिमयुक्त स्थानमा काम रोक्ने र सुरक्षित क्षेत्रबाट निर्माणलाई निरन्तरता दिने तयारी गरिएको छ ।
कर्णाली करिडोर कर्णालीका दुर्गम क्षेत्रलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने महत्वपूर्ण सडक आयोजना हो। करिडोर निर्माणले कर्णालीका पहाडी तथा हिमाली जिल्लाको यातायात सहज बनाउने अपेक्षा गरिएको छ । तर कठिन भौगोलिक अवस्था, वर्षायाममा हुने पहिरो तथा चट्टान खस्ने समस्याका कारण सडक निर्माणमा पटक–पटक अवरोध आउने गरेको छ ।









