सुर्खेत । जडीबुटीको प्रचुर सम्भावना रहेको कर्णाली प्रदेशले आफ्नै स्रोतबाट आयुर्वेद औषधी उत्पादन गरी आत्मनिर्भर बन्ने योजना अघि बढाएको छ । प्रदेश सरकारले जडीबुटीको उत्पादन, प्रशोधन र उपयोगमार्फत आयुर्वेद उपचार प्रणालीलाई विस्तार गर्ने तयारी गरेको हो । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटिएको योजना अनुसार प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र र आयुर्वेद स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी औषधी उत्पादन केन्द्रका रूपमा विकास गरिने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता एवं वरिष्ठ जनस्वास्थ्य प्रशासक वृषबहादुर शाहीका अनुसार प्रदेशमै उत्पादन हुने आयुर्वेद औषधीलाई ब्रान्डका रूपमा बजारीकरण तथा बिक्री वितरण गर्न आवश्यक कानुनी व्यवस्था गरिनेछ । कार्यक्रम कार्यान्वयनका लागि चालु आर्थिक वर्षमा छ करोड ४१ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । गत आर्थिक वर्षदेखि प्रदेश आयुर्वेद औषधालयलाई अनुसन्धान केन्द्रका रूपमा सञ्चालन गरिएको छ ।
प्रदेश आयुर्वेद अस्पतालका प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार आर्थिक वर्ष २०८२/८३ देखि अनुसन्धानसम्बन्धी काम सुरु गरिएको हो । नागरिकलाई निरोगी राख्न स्वस्थ जीवनशैली, आहारविहार, योग, ध्यान तथा व्यायाम प्रवर्द्धन गर्दै आयुर्वेद सेवाको पहुँच विस्तार गर्न लागिएको उनले बताए । औषधालयमा पछिल्लो समय सेवाग्राहीको संख्या बढ्दै गएको छ । हाल आयुर्वेद उपचार, वैकल्पिक उपचार तथा अन्य सेवा एकीकृत रूपमा प्रदान गरिँदै आएको छ ।
गत वर्ष तीन वटा अनुसन्धानसम्बन्धी काम सम्पन्न भएका थिए भने चालु वर्षमा अनुसन्धानलाई थप व्यवस्थित बनाउने तयारी छ । तर आयुर्वेद अस्पतालको भवन निर्माण भने सुस्त छ । २०७८ असारदेखि सुरु भएको भवन निर्माणमा हालसम्म ४५ प्रतिशत भौतिक र ३५ प्रतिशत वित्तीय प्रगति भएको सहरी विकास तथा भवन डिभिजन कार्यालयले जनाएको छ ।
नौ करोड ७१ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको १५ शय्याको भवन समयमै सम्पन्न नहुँदा सेवा प्रवाहमा समस्या भएको अस्पतालका प्रमुख तिवारीको भनाइ छ । भौतिक संरचनासँगै जनशक्तिको समेत अभाव छ । २६ जनाको स्थायी दरबन्दी रहे पनि १८ जना मात्रै कार्यरत छन् । आठ दरबन्दी रिक्त हुँदा बढ्दो सेवाग्राहीको चाप व्यवस्थापनमा चुनौती थपिएको औषधालयले जनाएको छ ।









