रुकुम पश्चिम । नागरिकता र राहदानी लिने नागरिकको संख्या पछिल्ला तीन वर्षदेखि निरन्तर घट्दै गएको छ । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमका अनुसार नयाँ नागरिकता तथा राहदानी बनाउनेको संख्यामा क्रमशः कमी आएको हो । प्रमुख जिल्ला अधिकारी निशानराज गौतमका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा जिल्लाबाट चार हजार नाै सय ६१ वटा नयाँ नागरिकता जारी भएका छन् । यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा छ सय ८७ ले कम हो । आर्थिक वर्ष २०८१/०८२ मा पाँच हजार छ सय ४८ र २०८०/०८१ मा पाँच हजार आठ सय दुई वटा नयाँ नागरिकता जारी गरिएको प्रशासन कार्यालयको तथ्यांक छ ।
राहदानी बनाउने नागरिकको संख्यामा पनि कमी देखिएको छ । आर्थिक वर्ष २०८२/०८३ मा दुई हजार आठ सय १९ जनाले राहदानी सेवा लिएका छन् । अघिल्लो आर्थिक वर्षमा दुई हजार ८९० र २०८०/०८१ मा तीन हजार तिन सय ५८ जनाले राहदानी लिएका थिए । नागरिकताको प्रतिलिपि लिनेको संख्या पनि अघिल्लो वर्षको तुलनामा केही घटेको छ । गत आर्थिक वर्षमा चार हजार दुई सय २१ वटा नागरिकताको प्रतिलिपि जारी भएको छ भने २०८१/०८२ मा चार हजार तिन सय ६८ र २०८०/०८१ मा तीन हजार पाँच सय तिन वटा प्रतिलिपि जारी भएको थियो ।
प्रशासन कार्यालयका अनुसार गत आर्थिक वर्षमा चार जनाले नागरिकता त्याग गरेका छन् भने तीन जनाको नागरिकता रद्द गरिएको छ । यस्तै, एक सय ४७ जनालाई नाबालक परिचयपत्र वितरण गरिएको छ । अघिल्लो वर्ष एक सय ८१ जनाको नाबालक परिचयपत्र बनाइएको थियो । नागरिकता तथा राहदानी बनाउनेको संख्या घट्नुको कारणबारे थप अध्ययन आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी गौतमले बताए । उनका अनुसार जिल्लाबाट बसाइँसराइ बढ्नु तथा वैदेशिक रोजगारीमा जाने नागरिकको संख्यामा आएको कमी यसको सम्भावित कारण हुनसक्छ ।
नागरिकता र राहदानी बनाउनेको संख्या घटिरहँदा जिल्लामा राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउने नागरिकको संख्या भने उल्लेख्य रूपमा बढेको छ । आर्थिक वर्ष २०८०/०८१ मा छ हजार तिन सय चार जनाको राष्ट्रिय परिचयपत्र विवरण दर्ता भएकोमा २०८१/०८२ मा यो संख्या बढेर १२ हजार आठ सय ९७ पुगेको थियो । गत आर्थिक वर्षमा थप वृद्धि हुँदै १४ हजार ३७ जनाले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएका छन् ।
बैंकिङ सेवा, मतदाता परिचयपत्र तथा विभिन्न सरकारी सेवामा राष्ट्रिय परिचयपत्रको प्रयोग र आवश्यकता बढ्दै गएपछि यसको विवरण दर्ता गराउनेको संख्या बढेको प्रशासन कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले गत आर्थिक वर्षमा विभिन्न शीर्षकबाट एक करोड ५८ लाख २८ हजार तिन सय ५५ रुपैयाँ राजस्व संकलन गरेको छ । न्यायिक दस्तुर, परीक्षा शुल्क, राहदानी शुल्क, हातहतियार इजाजतपत्र दस्तुर, प्रशासनिक दण्ड–जरिवाना तथा जफतलगायत शीर्षकबाट उक्त राजस्व संकलन भएको हो ।









