डोल्पा । दुनै–तिप्ला सडक निर्माण वर्षौंदेखि अलपत्र परेको भन्दै ठूलीभेरी नगरपालिका चार तिप्लाका स्थानीयले पूर्वाधार विकास कार्यालय डोल्पामा तालाबन्दी गरेका छन् । सडक निर्माण तत्काल अघि बढाउन माग गर्दै वडा अध्यक्ष जुद्धबहादुर बुढाको नेतृत्वमा जनप्रतिनिधि र स्थानीय कार्यालय पुगेका थिए । सडक निर्माण सुरु भएको लामो समय बितिसक्दा पनि तिप्ला गाउँसम्म सडक नपुगेको र पटक–पटक आश्वासन पाए पनि निर्माणले गति लिन नसकेको भन्दै स्थानीयले तालाबन्दी गरेका हुन् । उनीहरूले सडक निर्माणमा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाउँदै तत्काल काम सुरु गर्न माग गरेका छन् ।
कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ मा बहुवर्षीय आयोजनाका रूपमा दुनै–तिप्ला–थरगाउँ हुँदै रुकुम पूर्वको सिमाना तोरीद्वारीसम्म सडक निर्माणका लागि बजेट स्वीकृत गरेको थियो । आर्थिक वर्ष २०७६/७७ बाट निर्माण सुरु भएको सडक तिप्ला गाउँ पुग्नै लाग्दा विवाद र अवरोधका कारण रोकिएको हो । सडक निर्माणका क्रममा निस्किएको माटो, ढुंगा तथा ढिस्को दुनै खोलामा खस्दा सदरमुकाम दुनैको बस्तीमा जोखिम बढेको भन्दै स्थानीयवासीले विरोध गरेपछि निर्माण रोकिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
सडकको हालको रेखाङ्कनले दुनै बस्तीमा पार्न सक्ने जोखिमलाई ध्यानमा राख्दै वैकल्पिक रेखाङ्कन परिवर्तन गर्ने विषयमा समेत पटक–पटक अध्ययन र छलफल हुँदै आएको छ । जिल्ला प्रशासन, सुरक्षा निकाय, प्राविधिक टोली र जनप्रतिनिधिसहितको टोलीले विभिन्न समयमा सडक क्षेत्रको स्थलगत अनुगमनसमेत गरेको छ । तर अनुगमन र प्राविधिक अध्ययन भए पनि त्यसअनुसार निर्माणलाई गति दिन नसक्दा स्थानीयमा असन्तुष्टि बढ्दै गएको हो ।
स्थानीय सुरेश बुढाका अनुसार सडक निर्माण अघि बढाउने भन्दै सम्बन्धित निकायबाट पटक–पटक आश्वासन आउने गरे पनि काम भने अघि बढेको छैन। हरेक वर्ष बजेट विनियोजन हुने गरे पनि प्रभावकारी रूपमा काम हुन नसक्दा बजेट खर्च नभई फिर्ता जाने अवस्था आउने गरेको उनको भनाइ छ । पूर्वाधार विकास कार्यालय डोल्पाका प्रमुख इन्जिनियर टेकबहादुर हितानले भने सडक निर्माणको ठेक्का अवधि थप भइसकेको र आवश्यक बजेटसमेत रहेको बताएका छन् । केही प्राविधिक समस्या समाधान गर्न बाँकी रहेको भन्दै उनले भदौको दोस्रो सातादेखि निर्माण कार्यले गति लिने दाबी गरे ।
“ठेक्काको म्याद थप भइसकेको छ। बजेट पनि पर्याप्त छ। केही प्राविधिक अल्झन सुल्झाएर भदौको दोस्रो सातादेखि निर्माण कार्यले गति लिने गरी काम अघि बढ्छ,” हितानले भने । दुनैलाई तिप्ला, थरगाउँ हुँदै रुकुम पूर्वको सीमासँग जोड्ने महत्वपूर्ण सडक लामो समयदेखि अधुरो रहँदा स्थानीय यातायात सुविधाबाट वञ्चित छन् । अर्कोतर्फ सडक निर्माणकै क्रममा दुनै बस्तीमा जोखिम बढेपछि सुरक्षित र व्यवहारिक रेखाङ्कनसहित आयोजना अघि बढाउने विषय चुनौती बनेको छ ।
दुई घण्टामै खुल्यो ताला
स्थानीयले पूर्वाधार विकास कार्यालयमा लगाएको ताला भने जिल्ला समन्वय समिति प्रमुख श्यामबहादुर रोकायासँग भएको छलफलपछि करिब दुई घण्टामै खोलिएको छ । छलफलमा सडक निर्माणलाई अघि बढाउने विषयमा पहल गर्ने प्रतिबद्धता जनाइएपछि स्थानीयले ताला खोलेका हुन् । वर्षौंसम्म सडक निर्माण पूरा नभएपछि यसपटक कार्यालयमै तालाबन्दी गरेर स्थानीयले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । अब सुरक्षित रेखाङ्कनसहित सडक निर्माण कहिलेबाट प्रभावकारी रूपमा अघि बढ्छ भन्ने विषयमा स्थानीयको चासो छ ।









