जुम्ला । आर्थिक अवस्था कमजोर भएका तथा लक्षित वर्गका विद्यार्थीका लागि जुम्लामा उच्चशिक्षा छात्रवृत्ति सहयोगको आधार बन्दै गएको छ । सामाजिक विकास कार्यालय जुम्लाले तीन आर्थिक वर्षमा प्राविधिक छोरीबुहारी, दलित उच्चशिक्षा र अपांगता उच्चशिक्षा छात्रवृत्तिमार्फत एक सय १२ जना विद्यार्थीलाई सहयोग गरेको छ । हिमा गाउँपालिका तिन मोफ्लाका २९ वर्षीय परिलाल विक छात्रवृत्तिबाट लाभान्वित विद्यार्थीमध्ये एक हुन् । जुम्ला बहुमुखी क्याम्पसमा जनसंख्या विषय लिएर स्नातकोत्तर तहको अध्ययन गरिरहेका विकको परिवारको मुख्य आम्दानीको स्रोत कृषि हो ।
उनले दलित उच्चशिक्षा छात्रवृत्तिअन्तर्गत पहिलो वर्ष २४ हजार रुपैयाँ प्राप्त गरेका थिए । क्याम्पसमा वार्षिक करिब ३० हजार रुपैयाँ भर्ना शुल्क लाग्ने भएकाले छात्रवृत्तिले आर्थिक भार केही कम भएको उनले बताए । “चार वर्षको अध्ययन पूरा गर्न भर्ना शुल्क मात्रै करिब एक लाख २० हजार रुपैयाँ लाग्छ । सबै वर्ष छात्रवृत्ति पाउन सके हामीजस्ता विपन्न विद्यार्थीलाई निकै सहज हुन्थ्यो,” विकले भने । तिला गाउँपालिका तिन कुडारीकी विष्णु शाही पनि छात्रवृत्तिबाट लाभान्वित भएकी छन् ।
शारीरिक अपांगता भएकी शाही जुम्ला बहुमुखी क्याम्पसमा नेपाली विषय लिएर स्नातकोत्तर तहको चौथो वर्षमा अध्ययनरत छिन् । उनले अपांगता उच्चशिक्षा छात्रवृत्तिअन्तर्गत २४ हजार रुपैयाँ प्राप्त गरेकी थिइन् । उनका अनुसार छात्रवृत्तिले क्याम्पसमा भर्ना गर्न केही सहज भएको छ । चार वर्षमा भर्ना शुल्क मात्रै करिब एक लाख २० हजार रुपैयाँ खर्च हुने भएकाले छात्रवृत्तिको रकम उपयोगी भएको उनले बताइन् ।
सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख टोपबहादुर बुढाका अनुसार आर्थिक वर्ष २०८०/०८१ देखि २०८२/०८३ सम्म प्राविधिक छोरीबुहारी छात्रवृत्तिमा ७२ जना विद्यार्थीले ५० हजार रुपैयाँका दरले कुल ३६ लाख रुपैयाँ प्राप्त गरेका छन् । यस्तै, दलित उच्चशिक्षा छात्रवृत्ति अन्तर्गत २३ जनालाई प्रतिव्यक्ति २४ हजारका दरले पाँच लाख ५२ हजार रुपैयाँ र अपांगता उच्चशिक्षा छात्रवृत्तिअन्तर्गत १७ जनालाई प्रतिव्यक्ति २४ हजारका दरले चार लाख आठ हजार रुपैयाँ वितरण गरिएको छ ।
तीन वर्षको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/०८१ मा छोरीबुहारी २२, दलित १० र अपांगता चार जना, २०८१/०८२ मा छोरीबुहारी ३०, दलित आठ र अपांगता आठ जना तथा २०८२/०८३ मा छोरीबुहारी २०, दलित पाँच र अपांगता पाँच जना छात्रवृत्तिबाट लाभान्वित भएका छन् । चालु आर्थिक वर्ष २०८३/०८४ का लागि प्राविधिक छोरीबुहारीतर्फ १०, दलित उच्चशिक्षातर्फ पाँच र अपांगता उच्चशिक्षातर्फ पाँच जनाको कोटा निर्धारण भएको कार्यालयले जनाएको छ । छात्रवृत्तिका लागि छिट्टै सूचना प्रकाशन गरिने सामाजिक विकास कार्यालय जुम्लाले जनाएको छ । कार्यालयका अनुसार छात्रवृत्ति वितरण तथा व्यवस्थापन सम्बन्धी कार्यविधिअनुसार लक्षित विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ ।









