२०८३ साउन २७ , बुधबार
फ्रन्ट पेज

कर्णालीको पर्यटनमा निजी क्षेत्रको आकर्षण बढ्दै, पूर्वाधार अझै मुख्य चुनौती

पर्यटनलाई होटल र ट्राभल व्यवसायमा मात्र सीमित नगरी स्थानीय उत्पादन, कृषि, हस्तकला, यातायात र रोजगारीसँग जोड्न सके कर्णालीको अर्थतन्त्रमा यसको योगदान बढाउन सकिन्छ ।


सुर्खेत । कर्णाली प्रदेशमा पर्यटनसँग जोडिएका व्यवसाय तथा सेवामा निजी क्षेत्रको आकर्षण विस्तारै बढ्दै गएको छ । प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा साहसिक पर्यटनको पर्याप्त सम्भावना रहेको कर्णालीमा पर्यटकीय गतिविधिसँग प्रत्यक्ष जोडिएका फनपार्क, रिभर गाइड र ट्राभल एजेन्सीजस्ता व्यवसाय सञ्चालनका लागि अनुमति लिने क्रम बढेको प्रदेश सरकारको तथ्यांकले देखाएको छ ।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा पर्यटन क्षेत्रतर्फ नयाँ व्यवसाय तथा सेवाप्रदायक थपिएका छन् । चालु आर्थिक वर्षमा एक फनपार्कले सञ्चालनका लागि अनुमति लिएको छ । अघिल्लो आर्थिक वर्षमा पनि एउटा फनपार्कले अनुमति लिएको थियो ।

त्यस्तै चालु आर्थिक वर्षमा दुई जनाले रिभर गाइडको अनुमति लिएका छन् । गत आर्थिक वर्षमा भने १३ जनाले रिभर गाइडका रूपमा अनुमति लिएका थिए । यससँगै कर्णालीमा रिभर गाइडको अनुमति लिनेको संख्या १५ पुगेको मन्त्रालयले जनाएको छ । पर्यटनसँग सम्बन्धित अर्को महत्वपूर्ण व्यवसाय ट्राभल एजेन्सीमा पनि निजी क्षेत्रको प्रवेश बढिरहेको छ । चालु आर्थिक वर्षमा पाँच वटा ट्राभल एजेन्सीले अनुमति लिएका छन् ।

गत आर्थिक वर्षसम्म पनि पाँच वटा ट्राभल एजेन्सीले अनुमति लिएका थिए । कर्णालीको पर्यटन सम्भावना भने यी व्यवसायको संख्याभन्दा निकै ठूलो छ । रारा ताल, शे–फोक्सुन्डो, काँक्रेविहार, कर्णाली नदी, सिंजा, पचाल झरना, बुलबुले ताल, मानसरोवर यात्रा तथा विभिन्न धार्मिक, ऐतिहासिक र सांस्कृतिक स्थलले प्रदेशलाई पर्यटनका दृष्टिले विशिष्ट बनाएका छन् ।

हिमाली तथा पहाडी भूगोलका कारण कर्णालीमा पदयात्रा, ¥याफ्टिङ, साहसिक पर्यटन, धार्मिक यात्रा, प्रकृति अवलोकन तथा सांस्कृतिक पर्यटनको सम्भावना उच्च रहेको पर्यटन क्षेत्रका जानकारहरू बताउँछन् ।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी महेश नेपालीका अनुसार पर्यटकीय गतिविधि विस्तार हुँदै गएसँगै यस क्षेत्रमा आवश्यक पर्ने सेवा तथा व्यवसाय पनि विस्तार हुन थालेका छन् । कर्णाली पर्यटनका लागि अत्यन्तै सम्भावनायुक्त प्रदेश हो । यहाँ प्राकृतिक, धार्मिक, सांस्कृतिक र साहसिक पर्यटनका धेरै सम्भावना छन्, उनले भने, पर्यटकीय गतिविधि विस्तार हुँदै जाँदा त्यससँग सम्बन्धित सेवाप्रदायक र निजी व्यवसाय पनि विस्तार हुँदै गएको देखिन्छ ।

उनका अनुसार कर्णालीका नदीमा ¥याफ्टिङ, हिमाली क्षेत्रमा पदयात्रा तथा प्राकृतिक र सांस्कृतिक गन्तव्यमा पर्यटकको आवागमन बढाउन सके त्यसको प्रत्यक्ष प्रभाव प्रदेशको अर्थतन्त्रमा पर्न सक्छ ।

तर पर्यटन व्यवसायको संख्या बढ्दैमा मात्र कर्णालीको पर्यटन क्षेत्रले अपेक्षित गति लिन नसक्ने मन्त्रालयको बुझाइ छ । पर्यटकीय गन्तव्यसम्म पुग्ने सडक तथा हवाई पहुँच, सञ्चार सुविधा, खानेपानी, सरसफाइ, सुरक्षित आवास, दक्ष जनशक्ति र प्रभावकारी प्रचारप्रसारमा लगानी आवश्यक रहेको मन्त्रालयका सूचना अधिकारी नेपाली बताउँछन् ।

कर्णालीमा पर्यटन व्यवसाय र सेवाप्रदायकको संख्या बढे पनि प्रदेशको कुल राजस्वमा पर्यटन क्षेत्रको योगदान भने अझै न्यून छ । आर्थिक वर्ष २०८२÷८३ मा प्रदेशले पर्यटन शुल्कबाट पाँच लाख १ सय ९५ रुपैयाँ मात्र राजस्व संकलन गरेको छ । यसले पर्यटनमा रहेको सम्भावना र त्यसबाट प्राप्त भइरहेको आर्थिक लाभबीच ठूलो अन्तर रहेको देखाउँछ।

पर्यटक आएर मात्रै हुँदैन, बसाइ लम्ब्याउन चुनौती

कर्णालीको पर्यटन विकासमा पर्यटकको संख्या बढाउनुका साथै उनीहरूको बसाइ अवधि लम्ब्याउनु अर्को महत्वपूर्ण चुनौती बनेको छ । मन्त्रालयका सूचना अधिकारी नेपालीका अनुसार पर्यटकलाई कर्णालीमा ल्याउने वातावरण बनाउनु मात्रै पर्याप्त हुँदैन ।

उनीहरूलाई लामो समयसम्म प्रदेशमै बस्ने वातावरण निर्माण गर्न सके मात्रै होटल, यातायात, गाइड, स्थानीय उत्पादन तथा रोजगारी क्षेत्रमा प्रत्यक्ष आर्थिक लाभ पुग्नेछ । प्रदेश सरकारले ‘कर्णाली समृद्धिको आधार, पर्यटनको विकास र पूर्वाधार’ भन्ने अवधारणालाई अघि सारेको जनाएको छ । तर यो अवधारणालाई व्यवहारमा उतार्न पर्यटन गन्तव्यलाई बजारसँग जोड्ने पूर्वाधार निर्माणमा पर्याप्त ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ ।

पर्यटन व्यवसायी केशव कठायतका अनुसार कर्णालीमा पर्यटकीय गन्तव्यको कमी छैन, समस्या ती गन्तव्यसम्म पुग्ने सहज पहुँच र आवश्यक सेवा सुविधाको हो । कर्णालीमा गन्तव्य धेरै छन् । अब ती गन्तव्यलाई पर्यटन बजारसँग जोड्ने र पर्यटकलाई आवश्यक सेवा दिने पूर्वाधार निर्माणमा ध्यान दिनुपर्छ, उनले भने, गन्तव्यसम्म पुग्ने बाटो, आवास, खानेपानी, सरसफाइ, सञ्चार र सुरक्षाजस्ता आधारभूत पक्ष सुधार नभएसम्म पर्यटनको सम्भावनालाई अपेक्षित रूपमा आर्थिक गतिविधिमा बदल्न कठिन हुन्छ ।

पर्यटन व्यवसायी बलकर्ण शाही पर्यटनलाई होटल, ट्राभल एजेन्सी वा गाइडको संख्यामा मात्र सीमित गर्न नहुने बताउँछन् । पर्यटनलाई स्थानीय उत्पादन, कृषि, हस्तकला, यातायात र रोजगारीसँग जोड्न सके यसको आर्थिक प्रभाव धेरै फराकिलो हुने उनको भनाइ छ ।

कर्णालीका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदालाई व्यवस्थित रूपमा पर्यटन बजारसँग जोड्न सके प्रदेशको आन्तरिक आम्दानी बढ्नुका साथै स्थानीय तहमा रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न सकिन्छ । अहिले निजी क्षेत्र पर्यटन व्यवसायमा प्रवेश गर्ने क्रम बढ्नु सकारात्मक संकेत हो ।

तर यो आकर्षणलाई दिगो पर्यटन विकासमा रूपान्तरण गर्न सरकारको भूमिका अझ महत्वपूर्ण हुन्छ । पर्यटकलाई कर्णालीसम्म ल्याउने मात्र होइन, कर्णालीमा रोक्ने र उनीहरूले खर्च गर्ने प्रत्येक रुपैयाँ स्थानीय अर्थतन्त्रसम्म पु¥याउने प्रभावकारी नीति आवश्यक देखिन्छ ।

प्रकाशित मिति : २०८३ साउन २७ गते बुधबार