सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिकामा प्रारम्भिक बाल विकास सहजकर्ताहरूका लागि १० दिने प्रारम्भिक सिकाइ तथा विकास मापदण्ड ९भ्ीम्क्० आधारित क्षमता अभिवृद्धि तालिम सुरु भएको छ।

चौकुने गाउँपालिकाको सभाहलमा सुरु भएको तालिम असोज ८ गतेदेखि १७ गतेसम्म सञ्चालन हुनेछ। तालिमको अध्यक्षता चौकुने गाउँपालिकाका सामाजिक विकास संयोजक तथा वडा न ८ का वडा अध्यक्ष कमल जिसीले गरेका थिए ।
तालिममा चौकुने गाउँपालिका शिक्षा शाखा प्रमुख टेकेन्द्र बुढाले कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनुभएको छ। उनका अनुसार प्रारम्भिक बाल विकास केन्द्रमा कार्यरत सहजकर्ताहरूको क्षमता अभिवृद्धि गर्दै बालबालिकाको प्रारम्भिक सिकाइ, विकास र व्यवहारलाई प्रभावकारी रूपमा सम्बोधन गर्न तालिम आयोजना गरिएको हो। कार्यक्रमलाई उद्घाटन गर्दै सामाजिक विकास संयोजक कमल जिसीले प्रारम्भिक बाल विकास बालबालिकाको भविष्य निर्माणको महत्वपूर्ण आधार भएको बताए।
उनले बालबालिकाको प्रारम्भिक उमेरमा उनीहरूले पाउने शिक्षा, सिकाइको वातावरण र व्यवहारले उनीहरूको आगामी शैक्षिक तथा सामाजिक जीवनमा महत्वपूर्ण प्रभाव पार्ने भएकाले सहजकर्ताहरू थप दक्ष र सक्षम हुन आवश्यक रहेको बताए । प्रारम्भिक बाल विकासका क्षेत्रमा बालमैत्री सिकाइ वातावरण निर्माण, बालबालिकाको सर्वाङ्गीण विकासमा सहयोग तथा सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउने विषयमा तालिम केन्द्रित रहने बताइएको छ।तालिमकी सहजकर्ता ललि बाह्रघरे रहेका छन्।
प्रारम्भिक तालिमको आयोजक चौकुने गाउँपालिका रहेको छ भने स्याक नेपालसँगको समन्वय तथा सहकार्यमा कार्यक्रम सञ्चालन भइरहेको छ। प्रारम्भिक बाल विकास बालबालिकाको भविष्यको आधार भएकाले सहजकर्ताहरूको ज्ञान, सीप र क्षमता अभिवृद्धिले बालबालिकाको सिकाइ उपलब्धि तथा समग्र विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ।







