दिलिप कंडेल सुर्खेत । चाेकुने गाउँपालिका–५ रेक्चामा भएको दर्दनाक घटनामा एक महिलाको मृत्यु भएको छ भने उनकी नाबालक छोरी गम्भीर घाइते भएकी छन्। टाउकोमा रगत जमेको र तत्काल शल्यक्रिया गर्नुपर्ने चिकित्सकको सल्लाह भए पनि उपचारका लागि रकम अभाव भएपछि बालिकालाई अस्पतालबाट घर फर्काउनुपरेको परिवारले जनाएको छ।

प्राप्त विवरणअनुसार रेक्चा निवासी गोपीराम जोशीले आफ्नी श्रीमती चन्द्रा देवकोटामाथि फरुवा प्रहार गरेको घटनामा चन्द्राको मृत्यु भएको र सोही घटनामा उनकी नाबालक छोरीसमेत गम्भीर घाइते भएकी हुन्।
घाइते बालिकालाई उपचारका लागि नेपालगन्जस्थित सञ्जीवनी अस्पताल (नर्सिङ होम) लगिएको थियो। अस्पतालमा सिटी स्क्यान गर्दा बालिकाको टाउकोमा रगत जमेको देखिएपछि न्युरो सर्जनले तत्काल शल्यक्रिया गर्नुपर्ने सल्लाह दिएको परिवारको भनाइ छ।
तर आर्थिक अवस्था अत्यन्त कमजोर रहेको परिवारले उपचार खर्च जुटाउन नसकेपछि बालिकालाई अस्पतालबाट घर फर्काउनुपरेको जनाएको छ। चिकित्सकले तत्काल अप्रेसन गर्नुपर्ने बताए पनि रकम अभावका कारण उपचार अघि बढाउन नसकिएको परिवारको गुनासो छ।
एकातर्फ आमाको मृत्यु भइसकेको छ भने अर्कोतर्फ आमाको काख गुमाएकी अबोध छोरी गम्भीर अवस्थामा उपचारको अभावमा घर फर्किनुपर्ने अवस्था आएको परिवारले जनाएको छ। घटनापछि बालिकाको उपचारका लागि तत्काल सहयोग आवश्यक देखिएको छ। परिवारले आर्थिक अभावकै कारण बालिकाको उपचार रोकिएको भन्दै सम्बन्धित निकाय र सहयोगी मनहरूसँग उपचारका लागि पहल गरिदिन आग्रह गरेको छ ।







