२०८३ असोज ९ , शुक्रबार
फ्रन्ट पेज

दुई दशक बित्यो, वीरेन्द्रनगरको चक्रपथ सम्पन्न भएन, खण्ड–खण्डमा काम भने चल्दै



सुर्खेत । वीरेन्द्रनगरको चक्रपथ निर्माण कार्य सुरु भएको दुई दशक पुरा भयो । तर निर्माण कार्य भने अहिलेसम्म सम्पन्न हुन सकेको छैन । वीरेन्द्रनगरलाई विकासको मुख्य कडीका रुपमा विकास गर्ने उद्देश्यले तत्कालीन जिल्ला विकास समितिले आर्थिक वर्ष ०६२/६३ बाट चक्रपथ निर्माण थालेको थियो । तर स्थानीयको अवरोध, अदालतको आदेश, संरक्षित वन क्षेत्रलगायत कारणले चक्रपथ निर्माण कार्य सुस्ताएको हो ।

३१ किलोमिटर लामो चक्रपथ निर्माण थालिएको १६ वर्ष पुग्दा २०७८ सालसम्म २१ किलोमिटर ट्रयाक खोलिएको थियो । त्यतिबेला सुब्बाकुनादेखि अमृतडाँडासम्म करिब एक किलोमिटर सडक मात्रै कालोपत्र भएको थियो । बाँकी खण्डमा स्थानीयको जग्गा तथा घर सडकमा पर्ने विवाद, अदालतको आदेश र वन क्षेत्रका कारण निर्माण अघि बढ्न सकेको थिएन ।

चक्रपथ निर्माणका क्रममा स्थानीयले सडकमा आफ्नो जग्गा तथा घर पर्ने भन्दै क्षतिपूर्तिको माग गर्दै आएका थिए । केही स्थानीयले जिल्ला अदालतमा मुद्दा दायर गरेपछि अदालतले समेत केही क्षेत्रमा काम रोक्न आदेश दिएको थियो । विवाद नभएका क्षेत्रमा भने निर्माण अघि बढाइएको थियो । वीरेन्द्रनगरका विभिन्न वडामा ट्रयाक खोल्नसमेत नसकिएको अवस्था थियो ।

लामो समयदेखि विभिन्न अवरोधका कारण सुस्त बनेको चक्रपथको पुरानो ठेक्काको अवधि पनि पटक–पटक थपिएको थियो । आव २०७९/८० को असारमा सम्झौताको अवधि सकिएपछि पुरानो ठेक्काबाट बाँकी काम अघि बढ्न सकेन । त्यसपछि चक्रपथको बाँकी काम नयाँ प्रक्रियाबाट अघि बढाउने तयारी गरिएको हो ।

अहिले भने चक्रपथअन्तर्गत नेवारे खोला–धुलियाबिट खण्डमा नयाँ ठेक्कामार्फत निर्माण भइरहेको छ । पुर्वाधार विकास निर्देशनालय सुर्खेतका अनुसार करिब ४ दशमलव ३ किलोमिटर सडक कालोपत्र गर्ने गरी न्यू दीपक–लक्ष्मण जेभीसँग १७ करोड ४७ लाख ३४ हजार ३ सय ८७ रुपैयाँ (भ्याटसहित) ठेक्का सम्झौता भएको कार्यालयका ईन्जिनियर अजितकुमार थापाले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा ठेक्का प्रक्रिया अघि बढाएर पुसमा सम्झौता भएको उक्त खण्डको ठेक्का अवधि तीन वर्ष रहेको छ । सम्झौताअनुसार आगामी वर्ष पुस ३० गते यसको म्याद सकिनेछ ।

पूर्वाधार विकास निर्देशनालयका इन्जिनियर थापाका अनुसार अहिले उक्त खण्डमा करिब २० देखि २१ प्रतिशत भौतिक प्रगति भएको छ । सडक निर्माणसँगै पाँचवटासम्म बक्स कल्भर्ट, दुईदेखि तीनवटा स्ल्याब कल्भर्ट, नाली, ग्याबिन तथा रिटेनिङ वाललगायत संरचना निर्माण गर्नुपर्नेछ । ‘करिब ४ दशमलव ३ किलोमिटर सडक कालोपत्र गर्ने काम हो,’ उनले भने, ‘अहिले दुईवटा बक्स कल्भर्ट निर्माणाधीन छन् भने एउटा स्ल्याब कल्भर्टको काम सकिएको छ । नाली निर्माणको काम पनि भइरहेको छ ।’

उनका अनुसार भौगोलिक अवस्था र वर्षायामका कारण केही स्थानमा काम गर्न कठिनाइ भए पनि सम्भव भएका ठाउँमा निर्माण जारी छ । असारदेखि भदौसम्म वर्षाका कारण काम गर्न कठिन हुने भएकाले बाँकी काम मौसम अनुकूल भएपछि अघि बढाइनेछ । ‘भौगोलिक अवस्थाका कारण केही ठाउँमा काम गर्न समस्या छ,’ थापाले भने, ‘वर्षाको समयमा पनि काम गर्न मिल्ने ठाउँमा काम भइरहेको छ । बाँकी काम हिउँद तथा सुख्खा मौसममा अघि बढाउँछौँ ।’

हाल निर्माण भइरहेको नेवारे खोला–धुलियाबिट खण्डमा विगतका विवादका कारण काम रोकिएको अवस्था नरहेको निर्देशनालयले जनाएको छ । स्थानीयबाट सडकले घर तथा संरचनामा पार्न सक्ने प्रभावबारे चासो व्यक्त हुने गरे पनि आवश्यक छलफल र समन्वयबाट समस्या समाधान गर्दै काम गरिने थापाले बताए । चक्रपथको यही खण्डमा नयाँ ठेक्कामार्फत काम अघि बढे पनि ३१ किलोमिटरको सम्पूर्ण चक्रपथ भने अझै पूरा हुन बाँकी छ । पुरानो आयोजनामा ट्रयाक खोलिएको

भागलाई सडक स्तरोन्नति र कालोपत्र गर्नुपर्ने तथा ट्रयाक नै खोल्न बाँकी रहेका स्थानमा नयाँ काम अघि बढाउनुपर्ने अवस्था छ । यसबीच चक्रपथका बाँकी खण्डका लागि आवश्यक प्राविधिक प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ । पूर्वाधार विकास निर्देशनालयका सूचना अधिकारी वीरेन्द्रजंग शाहीका अनुसार नेवारे खोला–धुलियाबिट खण्डमा ठेक्का सम्झौता भएर काम भइरहे पनि बाँकी खण्डमा एलाइनमेन्ट, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), वातावरणीय अध्ययनलगायतका प्रक्रिया पूरा गर्नुपर्नेछ । ‘बाँकी खण्डका लागि एलाइनमेन्ट, डीपीआर र वातावरणीय अध्ययनलगायतका प्राविधिक प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । त्यसपछि मात्रै निर्माणको काम अघि बढाउन सकिन्छ,’ शाहीले भने ।

बाँकी खण्डको डीपीआर तथा वातावरणीय अध्ययनको काम विश्व बैंकको सहयोगमा सञ्चालित प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम (पीएलआरआईपी) मार्फत अघि बढाउने तयारी छ । नेपालमा प्रादेशिक तथा स्थानीय सडकको सुधारका लागि विश्व बैंकको सहयोगमा सञ्चालित उक्त कार्यक्रममा कर्णालीसहित विभिन्न प्रदेशका सडक आयोजना समेटिएका छन् ।

चक्रपथको बाँकी खण्डका लागि बजेटको व्यवस्था भए पनि निर्माण सुरु हुने निश्चित मिति भने तय भइसकेको छैन । आयोजना कार्यालयबाट आवश्यक प्रक्रिया पूरा गरी सम्झौता भएपछि मात्र बाँकी खण्डको काम अघि बढ्नेछ । बाँकी खण्डको सुरुवात सुब्बाकुनाबाट गर्ने वा अन्य बिन्दुबाट गर्ने भन्ने विषय पनि प्राविधिक अध्ययनपछि टुंगो लाग्ने सूचना अधिकारी शाहीले जनाए ।

चक्रपथको निर्माणले वीरेन्द्रनगर उपत्यकाका विभिन्न बस्ती र वडालाई सडक सञ्जालमा जोड्ने उद्देश्य राखेको छ । यसको रुट सुब्बाकुनाबाट घुस्रा हुँदै उपत्यकाको दक्षिण भागबाट बाङ्गेसिमलसम्म जोडिने गरी अघि बढाइएको हो । यस क्रममा वीरेन्द्रनगर नगरपालिकाका वडा नं. १, २, ८, १० र १२ लगायतका क्षेत्रमा जग्गा तथा घरसम्बन्धी विवाद देखिँदै आएपनि नगरपालिका तथा अन्य निकायको पहलमा विवाद समाधान गर्दै काम अघि बढाइएको छ । केही क्षेत्रमा व्यक्तिगत जग्गा पर्ने र बाङ्गेसिमलदेखि जिरो ड्यामतर्फको उत्तरी क्षेत्रमा वन पर्ने भएकाले निर्माण प्रभावित भएको थियो ।

चक्रपथ निर्माणको जिम्मेवारी पनि समयसँगै परिवर्तन भएको छ । सुरुमा तत्कालीन जिल्ला विकास समितिले निर्माण थालेको यो आयोजना संघीय सरकारको बजेटबाट अघि बढाइएको थियो । पछिल्लो चरणमा आयोजना प्रदेश सरकार मातहत आएको हो । बजेट तथा ठेक्का व्यवस्थापन संघीय सरकारबाट हुँदै आए पनि निर्माणको काम प्रदेश सरकारमार्फत भइरहेको थियो ।

प्रदेश सरकारतर्फबाट पनि चक्रपथमा बजेट विनियोजन हुँदै आएको छ । आर्थिक वर्ष २०८२/८३ को प्रदेश बजेटमा ‘सुर्खेत उपत्यका चक्रपथ (नेवारे–धुलियाबिट र सालसाँडाँ–मनिकापुर खण्ड)’ शीर्षकमा ६ करोड ७० लाख रुपैयाँ विनियोजन गरिएको थियो । चालु आर्थिक वर्ष २०८३/८४ मा पनि प्रदेश सरकारले सडक पूर्वाधारका आयोजनामा चक्रपथलाई समेटेको छ । प्रदेशको चालु आवको बजेटमा चक्रपथसहित अन्य सडक पूर्वाधारअन्तर्गतका विभिन्न १४ वटा आयोजनाका लागि ६५ करोड रुपैयाँ छुट्याइएको उल्लेख छ । तर चक्रपथका लागि ठ्याक्कै बजेट छुट्याइएको छैन । आयोजना कार्यालयमार्फत बजेट आएपछि मात्रै यो आवको नयाँ ठेक्काको प्रक्रिया अगाडी बढ्ने पुर्वाधार निर्देशनालयका सूचना शाहीले बताए ।

 

 

प्रकाशित मिति : २०८३ असोज ९ गते शुक्रबार