२०८३ असोज ७ , बुधबार
फ्रन्ट पेज

दसौँ राष्ट्रिय खेलकुद : कर्णालीमा तयारी सुरु, थप बजेट माग



सुर्खेत । पटकपटक मिति सर्दै आएको दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको अन्ततः कर्णालीमा तयारी सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आगामी मंसिर १६ देखि २९ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने मिति तय गरेपछि कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले जिल्ला तथा प्रदेशस्तरीय खेलाडी छनोटको तालिका सार्वजनिक गरेको हो ।

नवौँ राष्ट्रिय खेलकुद २०७९ असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा भएको थियो । त्यसको समापनका क्रममा कर्णालीलाई दसौँ राष्ट्रिय खेलकुद आयोजनाको जिम्मेवारीसहित झन्डा हस्तान्तरण गरिएको थियो । नवौँ राष्ट्रिय खेलकुदपछि करिब चार वर्ष बितिसक्दा पनि दसौँ आयोजना हुन सकेको छैन । यसअघि २०८१ मंसिर २ देखि ९ गतेसम्म कर्णालीमा प्रतियोगिता गर्ने निर्णय भए पनि पूर्वाधार निर्माणलगायत तयारी पूरा नभएपछि मिति कार्यान्वयन हुन सकेन ।

त्यसपछि पनि विभिन्न मिति तोकिएर परिवर्तन हुँदै आएका थिए । अहिले राखेपको १२५औँ बोर्ड बैठकले चौथोपटक मिति परिवर्तन गर्दै मंसिर १६ देखि २९ गतेसम्म प्रतियोगिता गर्ने निर्णय गरेको हो । मिति पटकपटक सर्नुमा पूर्वाधार, बजेट, खेलस्थलको तयारी र व्यवस्थापनलगायतका चुनौती देखिएका थिए । यसपटक भने प्रतियोगिता आयोजना गर्ने तयारीसँगै खेलाडी छनोटको कामसमेत अघि बढाइएको छ ।

जिल्ला तथा प्रदेशस्तरीय खेलाडी छनोट गरिँदै

कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले दसौँ राष्ट्रिय खेलकुदका लागि जिल्ला र प्रदेशस्तरीय छनोट प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ । परिषद्का सदस्य सचिव रवीन्द्र चन्दका अनुसार प्रतियोगितामा ३२ खेल विधा समावेश छन् । विभिन्न खेलको छनोट असोज पहिलो सातादेखि सुरु हुनेछ भने जिल्लास्तरीय छनोट असोज १२ देखि २२ गतेसम्म सञ्चालन हुनेछ ।

जिल्लास्तरीय छनोटपछि असोज २६ देखि ३१ गतेसम्म प्रदेशस्तरीय छनोट हुनेछ । छनोट व्यवस्थित गर्न परिषद्का सदस्यलाई दुई–दुई जिल्लाको संयोजनको जिम्मेवारी दिइएको छ । गोर्खबहादुर शाहीलाई हुम्ला र मुगु, पञ्चबहादुर मल्ललाई कालिकोट र जुम्ला, पवनकुमार थापालाई दैलेख र जाजरकोट, भीमकुमारी भुसाललाई सल्यान र रुकुम पश्चिम तथा किरणकिशोर सापकोटालाई सुर्खेत र डोल्पाको जिम्मेवारी दिइएको छ ।

खेलको प्रकृति र उपलब्ध पूर्वाधारका आधारमा प्रदेशस्तरीय छनोटका खेलस्थलसमेत तोकिएका छन् । दैलेखमा कराँते, एफसी कराँते र ह्यान्डबल, जाजरकोटमा खोखो, सल्यानमा टेबलटेनिस, रुकुम पश्चिममा महिला कबड्डी र जुम्लामा डब्लुटीएफ तेक्वान्दोको छनोट हुनेछ । हुम्लामा महिला भलिबल र हक्की, मुगुमा पुरुष कबड्डी, कालिकोटमा पुरुष भलिबल तथा डोल्पामा चेसको छनोट हुनेछ । बाँकी खेलको प्रदेशस्तरीय छनोट सुर्खेतमा गरिने परिषद्ले जनाएको छ ।

कर्णाली खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमालले पनि जिल्ला र प्रदेश छनोटको प्रक्रिया अघि बढिसकेको बताए । उनका अनुसार कर्णाली आयोजक भएकाले आफ्नोतर्फको तयारीलाई तीव्र बनाएको छ । ‘हामी आयोजक भएकाले तयार छौँ,’ हमालले भने, ‘अन्य प्रदेशको हकमा भने पटक–पटक मिति सरेकाले यसपटक बजेट विनियोजन नगरेको भन्ने कुरा आएको छ, गण्डकीले पनि तयारी सुरु गरेको छ ।’ कर्णालीले खेलाडी छनोट, जिल्ला छनोट, प्रदेश छनोट र बन्द प्रशिक्षणका लागि पाँच करोड रुपैयाँ बजेट छुट्याएको उनले बताए । थप करिब तीन करोड रुपैयाँ आवश्यक पर्ने अवस्था आए अर्थ मन्त्रालयसँग माग गर्ने विषयमा छलफल भइरहेको हमालले बताए ।

केही पूर्वाधार अँझै अपुग

खेलाडी छनोटको तयारी अघि बढे पनि प्रतियोगिता सञ्चालनका लागि आवश्यक सबै पूर्वाधार भने अँझै तयार भइसकेका छैनन् । कर्णाली रंगशाला हस्तान्तरणको तयारीमा रहेको र अन्य जिल्लामा विगतमा निर्माण गरिएका केही पूर्वाधार तयार रहेको हमालले बताए । तर कर्णालीले राष्ट्रिय खेलकुद परिषद्सँग माग गरेका केही महत्वपूर्ण पूर्वाधार तथा खेल सामग्री अझै निर्माण वा व्यवस्थापन भएका छैनन् ।

सल्यानमा टेबलटेनिसका लागि स्तरीय कभर्ड हल, चौरजहारीमा खेलमैदान, रुकुममा कभर्ड हल र हुम्लामा हक्की मैदान आवश्यक रहेको उनले बताए । खेलकुदका आवश्यक उपकरणसमेत उपलब्ध गराउनुपर्ने कर्णालीको माग छ । यी विषयमा राष्ट्रिय खेलकुद परिषद्ले अहिलेसम्म स्पष्ट रुपमा हुन्छ वा हुँदैन भनेर जवाफ नदिएको उनले बताए ।

उनका अनुसार दीर्घकालीन रुपमा खेल पूर्वाधार विकास गर्नु प्रदेशको जिम्मेवारी भए पनि तीन महिनापछि राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्ने अवस्थामा संघीय सरकारको समेत जिम्मेवारी हुन्छ । ‘अहिले संघ सरकारले लगानी गरेर तीन महिनापछि खेल चलाउने हो भने सघ सरकारको पनि केही जिम्मेवारी हुनुपर्छ,’ उनले भने ।
हमालले विगतका छैटौँ, आठौँ र नवौँ राष्ट्रिय खेलकुदमा राष्ट्रिय खेलकुद परिषद्ले खेलमैदान, कभर्ड हल, रंगशालाका ग्राउन्ड तथा फुटबल मैदान निर्माणमा लगानी गरेको उल्लेख गर्दै कर्णालीमा भने परिषद्बाट अहिलेसम्म पूर्वाधारमा लगानी नभएको बताए । ‘विगतमा छैटौँ, आठौँ र नवौँ राष्ट्रियमा राष्ट्रिय खेलकुद परिषद्ले खेलमैदान, कभर्ड हल, रंगशालाका ग्राउन्ड, फुटबल मैदान बनाउन धेरै लगानी गरेको छ,’ उनले भने, ‘तर कर्णालीको हकमा एक रुपैयाँ पनि लगानी नगरेकाले हामीले यो गरिदिनुपर्छ भनेर माग गरेका हौँ,’ उनले भने ।

यसअघि पनि कर्णालीका खेल पदाधिकारीले प्रतियोगिताका लागि संघीय सरकारबाट खेल पूर्वाधार निर्माणमा लगानी सुनिश्चित गर्नुपर्ने बताउँदै आएका थिए । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले प्रतियोगिताका लागि संघीय सरकारसँग ठूलो रकम आवश्यक रहेको उल्लेख गर्दै पूर्वाधारमा लगानी माग गरेको थियो ।

४५ करोड बजेट, थप रकमको माग

पूर्वाधारसँगै दसौँ राष्ट्रिय खेलकुदको बजेट पनि अपुग देखिएको छ । राष्ट्रिय खेलकुद परिषद्ले प्रतियोगिताका लागि हाल ४५ करोड रुपैयाँ बजेट छुट्याएको छ । हमालका अनुसार यो रकम नवौँ राष्ट्रियको तुलनामा पनि पर्याप्त छैन । नवौँ राष्ट्रिय खेलकुद पोखरामा हुँदा ५५ करोड रुपैयाँ बजेट रहेको उल्लेख गर्दै उनले अहिले चार–पाँच वर्षपछि आयोजना हुन लागेको प्रतियोगितामा कम्तीमा २० प्रतिशत वृद्धि गर्दा पनि करिब ७० देखि ७७ करोड रुपैयाँ बजेट आवश्यक पर्ने बताए । ‘नवौँ राष्ट्रिय पोखरामा हुँदा ५५ करोड रुपैयाँ बजेट थियो ।

चार–पाँच वर्ष भइसक्यो । त्यसमा २० प्रतिशत बढाउँदा पनि करिब ७० देखि ७७ करोड रुपैयाँ हाराहारीमा बजेट आउनुपर्ने हो,’ उनले भने । थप बजेटका लागि राष्ट्रिय खेलकुद परिषद्ले अर्थ मन्त्रालयमा रकम सुनिश्चितताको पत्र पठाएको उनले जानकारी दिए । २० करोड र ३० करोड रुपैयाँ थप माग गरिएको र रकम सुनिश्चित भए कुल बजेट करिब ७० करोड रुपैयाँ पुग्ने सम्भावना रहेको उनको भनाइ छ ।

मूल समारोह समितिको वैठक बस्दै

दसौँ राष्ट्रिय खेलकुदको नयाँ मिति मंसिर १६ देखि २९ गतेसम्म तोकिए पनि कर्णालीले भने मूल समारोह समितिको बैठकपछि मात्र प्रतियोगिता आयोजनाबारे थप स्पष्टता आउने जनाएको छ । आगामी असोज ९ गते कर्णालीमा मूल समारोह समितिको बैठक गर्ने तयारी रहेको परिषद्का उपाध्यक्ष हमालले बताए । उनका अनुसार बैठक बसेपछि राष्ट्रिय खेलकुद परिषद्को आयोजक कमिटीको सचिवालयसमेत कर्णालीमै स्थापना हुनेछ । सचिवालयमा केन्द्रीय कमिटीका प्रतिनिधि र प्रदेश खेलकुदका कर्मचारी रहने तथा १० जिल्लाका पूर्वाधार हेर्ने प्राविधिक टोली परिचालन गरिनेछ । ‘मूल समारोह समितिको बैठक यहाँ बसिसकेपछि त्यसपछि चाहिँ मिति सर्दैन भन्ने लगभग कन्फर्म हुन्छ,’ हमालले भने ।

प्रतियोगिता नै रोकिने अवस्था भने नरहेको उनको भनाइ छ । तर प्रदेशले प्रतियोगितामा आफ्नो अपनत्व स्पष्ट हुनुपर्ने माग गरिरहेको छ । होटल व्यवस्थापन, स्वयंसेवक परिचालन र मूल समारोह समितिको संयोजकजस्ता विषयमा प्रदेशको भूमिका हुनुपर्ने उनको भनाइ छ । ‘हामीले सुविधा मात्रै होइन, अपनत्व मागेका हौँ । होटल व्यवस्थापन, स्वयंसेवक परिचालन र मूल समारोह समितिको संयोजकजस्ता कुरामा प्रदेशले अपनत्व लिनुपर्छ,’ उनले भने ।

प्रदेशको भूमिका स्पष्ट भए स्थानीय तह, वडा र प्रदेश सरकारबीच समन्वय गरेर प्रतियोगिता भव्य रुपमा सञ्चालन गर्न सकिने उनको भनाइ छ । ‘प्रदेशको अपनत्व झल्कियो भने स्थानीय सरकार, वडा सरकार र प्रदेश सरकारसँग समन्वय गरेर एउटा भव्य समारोह गर्न सक्छौँ भन्ने हाम्रो माग हो,’ हमालले भने ।

संघ–प्रदेश सहकार्यमा जोड

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का अध्यक्ष एवं सामाजिक विकासमन्त्री जितबहादुर मल्लले प्रतियोगिता आयोजना गर्ने मुख्य जिम्मेवारी संघीय सरकारको भए पनि व्यवस्थापनको ठूलो हिस्सा प्रदेशले सम्हाल्नुपर्ने भएकाले संघ र प्रदेशबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताएका छन् ।

उनका अनुसार प्रतियोगिता सञ्चालनका लागि प्रदेशलाई स्पष्ट जिम्मेवारी दिन संघीय सरकारसँग आग्रह गरिएको छ । ‘आयोजक संघीय सरकार भए पनि व्यवस्थापकीय पाटो प्रदेशले सम्हाल्नुपर्ने भएकाले प्रदेशलाई जिम्मेवारी दिन आग्रह गरेका छौँ,’ उनले भने, ‘संघ र प्रदेशबीचको सहकार्यबाट यस प्रतियोगितालाई नमुना र उदाहरणीय बनाउन सकिन्छ । त्यसका लागि संघीय सरकारले आवश्यक जिम्मेवारी प्रदेशलाई हस्तान्तरण गर्नुपर्छ भन्नेमा हाम्रो अडान रहन्छ ।’

प्रतियोगिताका लागि आवश्यक व्यवस्थापनमा प्रदेशले तयारी थालेको पनि उनले बताए । उनका अनुसार खेलाडी, प्रशिक्षक तथा अन्य सहभागीको व्यवस्थापनका लागि होटल व्यवसायी, होमस्टे सञ्चालक तथा अन्य सरोकारवालासँग छलफल सुरु गरिएको छ । दसौँ राष्ट्रिय खेलकुदका प्रमुख खेलस्थलका रुपमा प्रयोग हुने वीरेन्द्रनगरस्थित प्रदेश रंगशालाको निर्माणसमेत अन्तिम चरणमा पुगेको छ । रंगशाला निर्माणका लागि एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार रुपैयाँ लागत रहेको छ । एमएसी–जीएसएल जेभीले निर्माणको जिम्मा पाएको रंगशालामा करिब १० हजार दर्शक क्षमताको प्यारापिट निर्माण गरिएको छ ।

रंगशाला परिसरमा विभिन्न खेलका लागि आवश्यक पूर्वाधार निर्माण गरिएको छ । यहाँ फुटबल मैदान, चार सय मिटरको एथलेटिक्स ट्रयाक, पौडी पोखरी, दुईवटा कभर्ड हल, भलिबल कोर्ट, बास्केटबल र ह्यान्डबल कोर्ट, क्रिकेट मैदान तथा इन्डोर क्रिकेट हल निर्माण गरिएको छ । कबड्डी र खोखोलगायत खेल सञ्चालनका लागि समेत संरचना तयार गरिएको छ । फुटबल मैदान फिफाको मापदण्डअनुसार एक सय पाँच मिटर लम्बाइ र ६८ मिटर चौडाइमा निर्माण गरिएको छ । वर्षाका बेला मैदानमा पानी जम्न नदिन र जमेको पानी २० देखि २५ मिनेटभित्र सुक्ने प्रविधि जडान गरिएको छ ।

रंगशालामा करिब एक हजार पाँच सय दर्शक अट्ने क्षमताको इन्डोर भलिबल कभर्ड हल पनि निर्माण गरिएको छ । खेलाडीका लागि चेन्जिङ रुम, प्रतीक्षालय, विश्राम कक्ष, फिजियो तथा मेडिकल कक्षको व्यवस्था गरिएको छ । एथलेटिक्सका लागि निर्माण गरिएको चार सय मिटर लामो ट्रयाक अन्तर्राष्ट्रिय मापदण्डअनुसारको रहेको छ । उक्त ट्रयाकमा हाइजम्प, लङजम्पलगायत एथलेटिक्सका विभिन्न विधाका प्रतियोगिता सञ्चालन गर्न सकिनेछ । त्यस्तै, रंगशाला परिसरमा २५ मिटर चौडाइ र २५ मिटर लम्बाइको पौडी पोखरी निर्माण गरिएको छ । यससँगै एकै रंगशाला परिसरबाट विभिन्न खेलका प्रतियोगिता सञ्चालन गर्न सकिने संरचना तयार भएको छ ।

प्रकाशित मिति : २०८३ असोज ७ गते बुधबार