सुर्खेत । जाजरकोटको बारेकोट गाउँपालिकाकी १७ वर्षिया सम्झना विकले दुई वर्षअघि जुम्लाका सुरज नेपालीसँग भागेर बिहे गरिन् । सामाजिक सञ्जालबाट जोडिएका उनीहरुले छोटो समयको चिनजानमै बिहे गरे । सम्झना बिहे गरेको केही महिनामै गर्भवती भइन् । गत वर्ष साउन ६ गते उनलाई सुत्केरी व्यथाले च्याप्यो । सुरुमा सामान्य मानिएको उनको अवस्था विस्तारै जटिल बन्दै गएपछि परिवारले उनलाई रातारात नेपालगञ्ज पु¥यायो । तर उनको भेरी अस्पताल पु¥याउनासाथ मृत्यु भयो । ‘हामी धेरै आत्तियौँ, सुर्खेतभन्दा राम्रो नेपालगञ्ज होला कि भन्ने भयो,’ सम्झनाका जेठाजु नाराणले भने, ‘मान्छे धेरै सानी थिन्, उमेरले पनि शारीरिक रुपमा पनि धेरै सानी लाग्थ्यो, कलिलैमा बिहे गर्नुको परिणाम हो भन्ने लाग्छ मलाई । अहिलेको युगका किशोर किशोरीहरु आफ्नो करियरमा धेरै ध्यान दिने गर्छन् भन्ने लाग्थ्यो तर हाम्रो कर्णालीमा अँझै पनि अवस्था उस्तै छ ।’

बालविवाहसम्बन्धी विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले धेरै काम गरेपनि उपलब्धी खासै नदेखिएको नारायणको भनाइ छ । बालविवाह रोकथामको क्षेत्रमा लामो समय काम गरेकी सीता नेपालीलाई सरकारले बालविवाह न्युनिकरणका लागि ल्याएका योजना र बनाएका नीति कार्यान्वयनमा अलमल गरेको बताइन् । ‘कर्णालीमा बालविवाह न्युनिकरणका लागि तीनै तहका सरकार लाग्नुपर्छ,’ उनले भनिन्, ‘अहिले त सरकार धेरै नजिक भएको अवस्थामा विभिन्न संघसंस्थाहरुसँग मिलेर यसका लागि ठोस योजना बनाएर लाग्न आवश्यक छ नत्र बालविवाहले थप भयानक रुप लिन्छ ।’
जुम्लाको गुठीचौर गाउँपालिकाकी १९ वर्षिया निर्मला विष्टको काखमा तीन वर्षकी एक छोरी छिन् । उनको गर्भमा अर्को बच्चा पनि हुर्किरहेको छ । एक वर्षअघि उनकी छोरी कडा कुपोषणको शिकार भइन् । उनी करिब दुई महिना वीरेन्द्रनगरमा रहेको पोषण पुनःस्थापना केन्द्रमा बसेर छोरीको अवस्था सुधारेर घर फर्किएकी हुन् । कामको चाप, पौष्टिक खानाको अभाव र कलिलै उमेर । निर्मलाले बालखैमा आमाको बोझ धानेर छोरा छोरी हुर्काउँदै छिन् । तर उनलाई लाग्दैन कि सानैमा बिहे गरेकाले यस्तो भएको हो । ‘खै त्यस्तो त होइन होला,’ उनले भनिन्, ‘मेरा साथीहरुको पनि त मेरै उमेरमा बिहे भाछ कसैलाई केही भएको छैन, १७–१८ वर्ष पुगेपछि घरमा बिहेको कुरा चल्न थालिहाल्छ
अनि बिहे नगरी के गर्नु ?’
कसैलाई घरको दबाब, कोही किशोरीहरु महिनावारी विभेद सहन नसकेर त कोही किशोर किशोरी सामाजिक सञ्जालमार्फत नजिकिएर सानैमा बिहे गर्ने प्रवृत्तिले कर्णालीमा कलिलैमा किशोरीहरु आमाको बोझ बोक्न बाध्य छन् । यति मात्र होईन आफ्नो ज्यान नै जोखिममा पारिरहेका छन् । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार प्रदेशमा २० वर्षमुनि आमा बन्नेको हिस्सा पछिल्ला वर्षमा करिब पाँचमध्ये एकको हाराहारीमा छ । आर्थिक वर्ष २०७९/८० मा २० वर्षमुनिका आमाबाट भएको संस्थागत सुत्केरी कुल सुत्केरीको २१ दशमलव ६४ प्रतिशत थियो । २०८०/८१ मा यो २० दशमलव ६४ प्रतिशत, २०८१/८२ मा २० दशमलव ८२ प्रतिशत र २०८२/८३ मा पुनः बढेर २१ दशमलव ३४ प्रतिशत पुगेको छ ।
संख्यामा हेर्दा पनि अवस्था सामान्य छैन । आर्थिक वर्ष २०७९/८० मा कर्णालीमा ६ हजार ३ सय ९६ जना २० वर्षमुनिका किशोरीले स्वास्थ्य संस्थामा सुत्केरी सेवा लिएका थिए । २०८०÷८१ मा यो संख्या ५ हजार ३ सय ९६ मा झ¥यो । २०८१/८२ मा ५ हजार ५ सय ४० पुगेकोमा २०८२/८३ मा ५ हजार ४ सय ४२ जना २० वर्षमुनिका किशोरी सुत्केरी भएका छन् । जसले सानैमा आमा हुने छर्लङ्ग चित्र देखाउँछ । तर गर्भावस्थाको सुरुवाती चरणमै स्वास्थ्य संस्थामा पुग्ने किशोरीको संख्या भने पछिल्लो वर्ष बढेको छ । २०८१/८२ मा २० वर्षमुनिका ८ हजार २ सय ७७ किशोरी पहिलोपटक गर्भजाँचका लागि स्वास्थ्य संस्थामा पुगेका थिए । २०८२÷८३ मा यस्तो संख्या बढेर १० हजार २ सय ९० पुगेको छ । अर्थात् संस्थागत सुत्केरीको संख्या केही घटे पनि किशोरी गर्भधारणको समस्या समाप्त भएको देखिँदैन ।
नेपाल बहुसूचक सर्वेक्षण २०२४–२५ ले पनि कर्णालीमा बालविवाह र किशोरी मातृत्वको अवस्था राष्ट्रिय औसतभन्दा माथि रहेको देखाएको छ । सर्वेक्षणअनुसार कर्णालीमा १८ वर्ष पुग्नुअघि विवाह गरेका २०–४९ वर्षका महिलाको हिस्सा ४३ दशमलव ४ प्रतिशत छ । राष्ट्रिय औसत ३३ दशमलव ८ प्रतिशत हुँदा कर्णालीमा यस्तो विवाहको दर उल्लेख्य रूपमा बढी हो । त्यस्तै १५ देखि १९ वर्ष उमेर समूहका किशोरीमध्ये २४ दशमलव ४ प्रतिशत विवाहित वा वैवाहिक सम्बन्धमा रहेको उक्त तथ्यांकमा देखिन्छ राष्ट्रिय औसत १३ दशमलव ७ प्रतिशत मात्रै छ । यही उमेर समूहको जन्मदर कर्णालीमा प्रति हजार ७७ छ भने राष्ट्रिय औसत ४८ छ । विवाहको उमेर नपुग्दै विवाह हुने, त्यसपछि छिट्टै गर्भधारण हुने र किशोरीले नै आमाको जिम्मेवारी सम्हाल्नुपर्ने अवस्थाले उनको शिक्षा, स्वास्थ्य र आर्थिक भविष्यमा असर पार्ने जोखिम हुने मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक युवराज शर्मा बताउँछन् ।
कर्णालीका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. ललितजंग शाही कम उमेरमै गर्भवती हुँदा आमाको ज्यानसमेत जोखिममा पर्ने बताउँछन् । उनका अनुसार किशोरी आमामा उच्च रक्तचाप, रक्तअल्पता, प्रसूतिको समयमा अत्यधिक रक्तस्राव र शल्यक्रिया गर्नुपर्ने जोखिम बढी देखिन्छ । ‘कम उमेरका गर्भवतीमा उच्च रक्तचापको जोखिम हुन्छ,’ उनले भने, ‘सुत्केरी व्यथा सुरु हुनासाथ अत्यधिक रक्तस्राव हुने, रक्तअल्पता हुने र शिशुको तौल निकै कम हुने समस्या देखिन्छ ।’ शाहीका अनुसार कम उमेरमै आमा बन्ने अवस्थाले आमाको स्वास्थ्यमा मात्रै होइन, जन्मिने बच्चाको स्वास्थ्यमा समेत असर पार्छ । ‘सानै उमेरमा आमा बन्दा महिलाको स्वास्थ्य कमजोर हुन्छ नै, बच्चाको स्वास्थ्यमा पनि असर पर्छ । आमाको पोषण कमजोर हुँदा बच्चाले गर्भमै पर्याप्त पोषण नपाउन सक्छ,’ उनले भने ।
कम उमेरमा आमा बन्ने अवस्थाको अर्को असर बालबालिकाको पोषणमा देखिएको छ । सुर्खेतस्थित पोषण पुनःस्थापना केन्द्रकी प्रमुख प्रभा सिंह कलिला आमाबाट जन्मिएका धेरै बालबालिका कुपोषणको समस्यामा आउने गरेको बताउँछिन् । ‘केन्द्रमा धेरैजसो २० वर्षमुनिका धेरै आमाहरु कुपोषित बच्चा लिएर आउने गरेका छन्,’ उनले भनिन्, ‘कम उमेरमै गर्भधारण हुनु, धेरै पटक गर्भवती हुनु, घर र बाहिरको कामको अत्यधिक बोझका कारण आमाले बच्चालाई पर्याप्त समय दिन नसक्नु तथा बच्चालाई के खुवाउने भन्ने पोषणसम्बन्धी ज्ञानको अभावले पनि कुपोषण बढेको छ ।’ कर्णालीमा पाँच वर्षमुनिका बालबालिकाको पोषण अवस्था अझै कमजोर छ । स्वास्थ्यसम्बन्धी उपलब्ध तथ्यांकअनुसार पाँच वर्षमुनिका करिब ३६ प्रतिशत बालबालिका कम तौलका छन् भने ५५ प्रतिशतमा पुड्कोपनको समस्या छ ।
कर्णालीमा पछिल्लो १२ वर्षमा १०६ जना आमाको मृत्यु भएको स्वास्थ्य सेवा निर्देशनालयको तथ्यांक छ । तर यीमध्ये कति जना किशोरी थिए भन्ने तथ्यांक भने छैन । स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशकी वरिष्ठ नर्सिङ अधिकृत मानकुमारी गुरुङका अनुसार मातृमृत्युको अभिलेखमा उमेर छुट्टै राखिएको छैन । ‘हामीसँग जम्मा सुत्केरी तथा गर्भवतीको मृत्युको तथ्यांक हुन्छ,’ उनले भनिन्, ‘तर कुन उमेरका सुत्केरी तथा गर्भवती हुन् र कुन उमेरका आमाले जन्माएका शिशुहरुको मृत्यु भइरहेको छ भन्ने छुट्टै तथ्यांक छैन ।’
उद्धारमा पनि २० वर्ष मुनिका गर्भवती तथा किशोरी
नेपाल सरकारले आर्थिक वर्ष ०७५/७६ देखि दुर्गममा जोखिममा रहेका सुत्केरी तथा गर्भवतीको राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत निःशुल्क उद्धार गर्दै आएको छ । जसअन्तर्गत उपलब्ध तथ्यांकअनुसार कर्णालीबाट आर्थिक वर्ष २०७५/७६ मा उद्धार गरिएका १० जनामध्ये ३ जना २० वर्षमुनिका थिए । २०७६/७७ मा ३४ जनामध्ये ९ जना, २०७७/७८ मा २८ जनामध्ये ५ जना, २०७८/७९ मा ५१ जनामध्ये ७ जना, २०७९/८० मा ४४ जनामध्ये ७ जना, २०८०/८१ मा ३९ जनामध्ये ८ जना, २०८१/८२ मा ५३ जनामध्ये ११ जना र २०८२/८३ मा उद्धार गरिएका ४३ जनामध्ये ९ जना २० वर्षमुनिका छन् । कर्णाली सरकारले बालविवाह न्यूनीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । बालविवाह अन्त्यसम्बन्धी रणनीति २०८२ लाई समुदाय र विद्यालय तहसम्म पु¥याउने, बालक्लबमार्फत सचेतना बढाउने तथा स्थानीय तहसँग समन्वय गर्ने काम अघि बढाइएको छ ।
यसैगरी २०७६ सालदेखि सुरु गरिएको ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रमको उद्देश्य पनि छोरीमाथिको विभेद घटाउने, बालविवाह न्यूनीकरण गर्ने र उच्च शिक्षामा सहयोग गर्ने थियो । कार्यक्रममा पहिलोपटक एक हजार र त्यसपछि मासिक पाँच सय रुपैयाँ जम्मा गर्ने व्यवस्था थियो ।
तर पछिल्ला चार वर्षदेखि खातामा नियमित रकम जम्मा भएको छैन र आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा कार्यक्रम समेटिएको छैन । करिब ५१ हजार छोरी आबद्ध रहेको कार्यक्रमको खातामा ४२ करोड ६३ लाख रुपैयाँभन्दा बढी रकम रहेको र यसको भविष्य अन्योलमा परेको छ ।






