दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना हुने निश्चिततासँगै प्रदेशको खेलकुद क्षेत्रले नयाँ आशा र उत्साह सञ्चार गरेको छ । लामो समयदेखि अन्योलमा रहेको राष्ट्रिय खेलकुदको मिति तोकिनु र त्यसअनुसार तयारी अघि बढ्न थाल्नु आफैंमा सकारात्मक सुरुवात हो । अबको आवश्यकता भनेको यो आशालाई परिणाममा बदल्नु हो । मंसिर १६ देखि २९ गतेसम्म दसौँ राष्ट्रिय खेलकुद सञ्चालन गर्ने तयारी अघि बढेको छ । प्रतियोगिताको मिति तय भएसँगै खेलाडी छनोट, प्रशिक्षण, खेलस्थल व्यवस्थापन र अन्य तयारीले गति लिन थालेका छन् । वर्षौंदेखि राष्ट्रियस्तरको प्रतियोगिताको प्रतीक्षामा रहेका खेलाडीका लागि यो खबर उत्साहजनक छ । उनीहरुले आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर पाउने वातावरण बन्न थालेको छ ।

कर्णालीका लागि दसौँ राष्ट्रिय खेलकुद एउटा प्रतियोगिता मात्र होइन, प्रदेशको खेलकुद सम्भावना उजागर गर्ने महत्वपूर्ण अवसर पनि हो । कर्णालीमा प्रतिभाको कमी छैन । उचित प्रशिक्षण, पूर्वाधार र अवसरको अभावले धेरै प्रतिभा राष्ट्रिय मञ्चसम्म पुग्न नसकेको अवस्था छ । राष्ट्रिय खेलकुदको आयोजनाले स्थानीय खेलाडीलाई आफ्नै भूमिमा देशभरका उत्कृष्ट खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नेछ । प्रतियोगितालाई सफल बनाउन अब तयारीलाई योजनाबद्ध र समयबद्ध बनाउन आवश्यक छ । निर्माणाधीन तथा अपुग खेल पूर्वाधारलाई प्राथमिकताका आधारमा समयमै सम्पन्न गर्नुपर्छ । खेलस्थलको गुणस्तरमा सम्झौता नगरी आवश्यक खेल सामग्री, प्राविधिक जनशक्ति र उपकरणको व्यवस्थापन गरिनुपर्छ । खेलाडीको आवास, खानपान, यातायात, स्वास्थ्य र सुरक्षालाई पनि तयारीको केन्द्रमा राख्नुपर्छ ।
त्यसैगरी संघीय सरकार, राष्ट्रिय खेलकुद परिषद्, कर्णाली प्रदेश सरकार, स्थानीय तह र सम्बन्धित खेल संघबीच प्रभावकारी समन्वय आवश्यक छ । कसको जिम्मेवारी के हो भन्ने स्पष्ट गरेर नियमित अनुगमन गर्न सके अन्तिम समयमा देखिने समस्या धेरै हदसम्म रोक्न सकिन्छ । बजेटको पर्याप्तता मात्र होइन, त्यसको पारदर्शी र प्रभावकारी उपयोगमा पनि ध्यान दिनुपर्छ । सबैभन्दा महत्वपूर्ण कुरा, प्रतियोगिता सकिएपछि यसको उपलब्धि पनि जोगिनुपर्छ। निर्माण भएका खेल पूर्वाधारलाई नियमित प्रशिक्षण, प्रतियोगिता र खेलाडी उत्पादनमा प्रयोग गर्ने दीर्घकालीन योजना अहिले नै बनाउनुपर्छ। यसो गर्न सके दसौँ राष्ट्रिय खेलकुद कर्णालीका लागि केही दिनको उत्सवमा सीमित नभई खेलकुद विकासको स्थायी आधार बन्न सक्छ। लामो प्रतीक्षापछि मिति तोकिएको छ, तयारी सुरु भएको छ र आशा पलाएको छ । अब यो आशालाई निराशामा बदलिन दिनु हुँदैन । समयमै तयारी पूरा गर्दै उत्कृष्ट व्यवस्थापनका साथ दसौँ राष्ट्रिय खेलकुद सम्पन्न गर्न सके कर्णालीले देशलाई आफ्नो आतिथ्य मात्र होइन, आफ्नो खेलकुद क्षमता पनि देखाउन सक्नेछ ।







