२०८३ साउन २७ , बुधबार

हुम्लामा राष्ट्रिय प्रसारण लाइन जोडिन फेरि एक वर्ष ढिलाइ



हुम्ला । हिमाली जिल्ला हुम्लालाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने योजना फेरि पछाडि धकेलिएको छ । निर्माण कम्पनीले काम सुस्त गतिमा अघि बढाएपछि निर्धारित समयमै आयोजना सम्पन्न हुन नसक्ने भएको हो । परियोजना प्रमुख धीरेन्द्र यादवका अनुसार यसअघि गत असार मसान्तसम्म हुम्लालाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य राखिएको थियो । तर, निर्माण कार्य पूरा नभएपछि अब सन् २०२६ मार्चसम्म काम सम्पन्न गर्ने गरी समय थप गरिएको छ । मुगुको गमगढीबाट हुम्लातर्फ प्रसारण लाइन विस्तारका लागि पोल गाड्ने काम भइरहेको भए पनि अपेक्षित गतिमा काम अघि बढ्न सकेको छैन ।

प्रसारण लाइन विस्तार हुने क्षेत्रमा आवश्यक भूभाग परीक्षण (बीईएस) को कामसमेत समयमा हुन नसक्दा आयोजना प्रभावित भएको यादवले बताए । हाल विभिन्न स्थानमा पोल छरिएर रहेका छन् । पोल गाड्ने काम सकिएपछि तार तान्ने कार्य अघि बढाउनुपर्नेछ । वर्षायाम सुरु भइसकेकाले निर्माण कार्यमा थप ढिलाइ हुन सक्ने परियोजनाले जनाएको छ । त्यसैगरी अदानचुली गाउँपालिका र जिल्ला सदरमुकाम सिमकोटमा निर्माण भइरहेका सबस्टेसनको काम पनि सुस्त गतिमा भइरहेको प्रतिनिधिसभा सदस्य जयपति रोकायाले बताए ।

राष्ट्रिय प्रसारण लाइन विस्तारमा भइरहेको ढिलाइबारे आफूले नेपाल विद्युत् प्राधिकरण र सम्बन्धित परियोजनासँग निरन्तर समन्वय गरिरहेको उनकाे भनाइ छ । रोकायाले हुम्लाको विद्युत् समस्याबारे संसद्को पूर्वाधार विकास समितिको बैठकमा समेत कुरा उठाउनुभएको छ । राष्ट्रिय प्रसारण लाइन नपुगेका कारण हुम्लाका नागरिकले अझै पनि नियमित विद्युत् सेवा पाउन सकेका छैनन् । हाल वर्षायाममा समेत हुम्लामा दैनिक पाँचदेखि छ घण्टासम्म विद्युत् कटौती हुने गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणले सन् २०२४ मार्चदेखि निर्माण सुरु गर्ने गरी सम्झौता गरेको थियो र सन् २०२५ मार्चसम्म काम सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । निर्धारित समयमा काम पूरा नभएपछि आयोजनाको म्याद एक वर्ष थप गरिएको थियो । निर्माण कम्पनी जेएनसीसी अफगानीले थपिएको अवधिमा समेत काम पूरा गर्न नसकेपछि हुम्लालाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने समय पुनः अनिश्चित बनेको छ । आयोजना समयमै सम्पन्न नहुँदा जिल्लावासीले नियमित र भरपर्दो विद्युत् सेवाका लागि अझै कुर्नुपर्ने अवस्था देखिएको छ ।

प्रकाशित मिति : २०८३ साउन २७ गते बुधबार