२०८३ साउन २७ , बुधबार

गमगढीमा नौ दिनदेखि खानेपानी संकट



मुगु । जिल्ला सदरमुकाम गमगढीमा नौ दिनदेखि खानेपानी आपूर्ति अवरुद्ध हुँदा स्थानीयवासी समस्यामा परेका छन् । नियमित पानी नआएपछि बजारवासी, विद्यार्थी, सरकारी कर्मचारी, व्यवसायी तथा सेवाग्राहीलाई दैनिक आवश्यकताका लागि पानी जुटाउन कठिन भएको छ । लगातार खानेपानी आपूर्ति बन्द हुँदा बालबालिकाको सरसफाइदेखि शौचालय प्रयोगसम्म प्रभावित भएको स्थानीयवासीले बताएका छन् । सदरमुकाममै लामो समयसम्म पानीको समस्या हुँदा सम्बन्धित निकायले तत्काल समाधानका लागि प्रभावकारी कदम चाल्नुपर्ने उनीहरूको माग छ ।

मुगुम कार्मारोङ गाउँपालिका नाैकी बिजकला बुढाले लामो समयदेखि पानी नआउँदा घरायसी कामकाज प्रभावित भएको बताइन् । पानीको अभावका कारण बालबालिकालाई सरसफाइ गराउन तथा दैनिक उपभोगका लागि आवश्यक पानीको व्यवस्थापन गर्न समस्या भएको उनकाे भनाइ छ । त्यस्तै, छायानाथ रारा नगरपालिका नाै की कक्षा छ मा अध्ययनरत छात्रा विजय रोकायाले टाढाबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता रहेको बताए उनले खानेपानी वितरण प्रणालीको नियमित मर्मत तथा व्यवस्थापनमा सम्बन्धित उपभोक्ता समितिले थप प्रभावकारी काम गर्नुपर्ने बताइन् ।

गमगढी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष गोर्खबहादुर मल्लका अनुसार ताल्चा क्षेत्रमा गएको सुख्खा पहिरोका कारण करिब ५० मिटर खानेपानीको पाइप बगाएपछि आपूर्ति बन्द भएको हो । क्षतिग्रस्त पाइप मर्मतको काम भइरहेको र मर्मत पूरा भएपछि पानीको आपूर्ति पुनः सञ्चालन गरिने उहाँले बताउनुभयो। खानेपानी अभावको प्रत्यक्ष असर बजारमा सञ्चालित होटल, चिया पसल तथा अन्य व्यवसायमा समेत परेको छ । बाहिरबाट सेवा लिन गमगढी आउने सेवाग्राहीलाई पनि पानीको अभावले समस्या भएको स्थानीय व्यवसायीको भनाइ छ । विद्यार्थी, बालबालिका र वृद्धवृद्धा झनै प्रभावित भएका छन् ।

जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीले खानेपानी समस्या तत्काल समाधान गर्न सम्बन्धित निकायसँग समन्वय भइरहेको बताए । उनका अनुसार क्षतिग्रस्त पाइपको मर्मत सकेर यथाशीघ्र खानेपानी आपूर्ति सुचारु गर्ने प्रयास भइरहेको छ । स्थानीयवासीले तत्काल खानेपानी आपूर्ति पुनः सञ्चालन गर्न माग गर्दै भविष्यमा प्राकृतिक विपद्का कारण लामो समयसम्म पानी अवरुद्ध नहुने गरी वैकल्पिक व्यवस्था र दीर्घकालीन योजना बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति : २०८३ साउन २७ गते बुधबार