दैलेख । महाबु गाउँपालिकाले ताराघाट–खरिगैरा–रानीवन–काशीकाँध सडक निर्माणमा ढिलाइ गर्ने निर्माण कम्पनीमाथि कारबाही गर्न पूर्वाधार विकास कार्यालय दैलेखलाई आग्रह गरेको छ । गाउँपालिका अध्यक्ष जङ्गबहादुर शाहीले पन्त–आकृति जेभीले सम्झौता अनुसार निर्धारित समयभित्र सडक निर्माण सम्पन्न नगरेको भन्दै कानुनबमोजिम प्रक्रिया अघि बढाउन कार्यालयलाई पत्राचार गरेका छन् ।
गाउँपालिकाले निर्माण कम्पनीको म्याद थप नगर्न, हर्जाना असुल गर्न, कार्यसम्पादन जमानत जफत गर्न तथा आवश्यक परे कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाउन माग गरेको छ । महाबु गाउँपालिकाको केन्द्रलाई जिल्ला सदरमुकामसँग जोड्ने मुख्य सडक निर्माणमा ढिलाइ हुँदा स्थानीयवासी, कर्मचारी र बिरामीसमेत प्रभावित भएको गाउँपालिकाको भनाइ छ । निर्माण कम्पनीलाई पटकपटक मौखिक तथा लिखित रूपमा काम अघि बढाउन आग्रह गरिए पनि अपेक्षित प्रगति हुन नसकेको गाउँपालिकाले जनाएको छ ।
सम्झौताका सर्त उल्लङ्घन भएको भन्दै सार्वजनिक खरिदसम्बन्धी कानुन अनुसार आवश्यक छानबिन र कारबाही गर्न माग गरिएको छ ।पूर्वाधार विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख नवीन आचार्यले गाउँपालिकाको पत्र प्राप्त भएको बताए । कार्यालय प्रमुख जिल्ला बाहिर रहेकाले उनी फर्किएपछि निर्माण व्यवसायीलाई छलफलमा बोलाएर आवश्यक निर्णय गरिने उनले जानकारी दिए । आचार्यका अनुसार निर्माण व्यवसायीलाई पटकपटक कार्यालयमा बोलाएर काम तीव्र बनाउन ताकेता गरिए पनि सडक निर्माणले अपेक्षित गति लिन सकेको छैन ।
२०७९ साउन नाै गते पन्त–आकृति जेभी, गुल्मीसँग पहिलो चरणमा छ किलोमिटर सडक कालोपत्रे गर्ने गरी १६ करोड १४ लाख ८८ हजार नाै सय ८४ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार २०८२ भदौ आठ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म आयोजनाको भौतिक प्रगति करिब ४५ प्रतिशत मात्र रहेको छ । गाउँपालिकाले कारबाहीका लागि पठाएको पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालय दैलेखलाई समेत दिएको छ ।









