रुकुमपश्चिम । २०८० कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावित रुकुमपश्चिमका सात सय ६६ परिवारका लागि निजी आवास पुनर्निर्माणको पहिलो किस्ता रकम माग गरिएको छ । मङ्गलबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले आवश्यक प्रक्रिया पूरा गरेका लाभग्राहीका लागि पहिलो किस्ताको अनुदान रकम निकासा गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग माग गर्ने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी निशानराज गौतमका अनुसार भूकम्प प्रभावित निजी आवास पुनर्निर्माणसम्बन्धी कार्यविधि अनुसार सम्झौता गरी आवश्यक कागजात पूरा गरेका लाभग्राहीको विवरण रुजु गरेर रकम माग गरिएको हो। प्रशासन कार्यालयका अनुसार प्रतिलाभग्राही ५० हजार रुपैयाँका दरले कुल तीन करोड ८३ लाख रुपैयाँ माग गरिएको छ । मुसीकोट नगरपालिकाका ६५, चौरजहारी नगरपालिकाका एक सय ६२, त्रिवेणी गाउँपालिकाका तिन सय दुई र सानीभेरी गाउँपालिकाका दुई सय ३७ जना लाभग्राही यसमा समेटिएका छन् ।
भूकम्पअघि आफ्नै नाममा जग्गाधनी पुर्जा भएका र अन्य आवश्यक प्रक्रिया पूरा गरेका प्रभावितलाई पहिलो किस्ताका लागि छनोट गरिएको प्रशासनले जनाएको छ । आठबिसकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाबाट भने हालसम्म पहिलो किस्ताका लागि रकम माग गर्न आवश्यक प्रक्रिया पूरा भएको विवरण प्राप्त भएको छैन । आठबिसकोट नगरपालिकाका उपप्रमुख धनकुमारी शाहीले प्राधिकरण र प्रशासनबाट प्राप्त विवरणलाई वडास्तरमा पुनः प्रमाणीकरण गरी अपलोड गर्ने काम भइरहेको बताए ।
उनका अनुसार एक साताभित्र केही लाभग्राहीका लागि पहिलो किस्ता माग गर्ने तयारी छ । भूकम्प गएको लामो समयपछि आवास निर्माणका लागि अनुदान प्रक्रिया अघि बढेपछि प्रभावित परिवारमा घर पुनर्निर्माण हुने आशा बढेको स्थानीय जनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिले बताएका छन् । बैठकमा वास्तविक लाभग्राही छुट्न नहुने विषयमा समेत छलफल भएको थियो ।
केही स्थानमा भूकम्पअघि नै पक्की घर निर्माण गरिसकेका व्यक्तिको नामसमेत लाभग्राही सूचीमा देखिएको गुनासो आएपछि तथ्याङ्क प्रमाणीकरणमा विशेष ध्यान दिनुपर्नेमा सहभागीले जोड दिएका छन् । प्रशासन कार्यालयका अनुसार भूकम्पबाट घरमा क्षति पुगेका ३० हजार आठ सय ५० जनाको विस्तृत विवरण प्राधिकरणले तयार गरेको छ । कार्यविधिअनुसार प्रक्रिया पूरा गर्दै जाने लाभग्राहीका लागि क्रमशः अनुदानको किस्ता माग गरिने जनाइएको छ ।









