२०८३ साउन २७ , बुधबार

भेरी नदीमा बोलेरो खस्दा गाडी सहित दुई बेपत्ता



सल्यान । पश्चिम सल्यानको वनगाड कुपिण्डे नगरपालिका एक अम्रास्थित छिन्चु–जाजरकोट सडकखण्डमा बोलेरो जिप भेरी नदीमा खस्दा दुई जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन् । बुधबार दिउँसो करिब दुई बजे बालुवासङ्ग्राहीबाट सल्लिबजारतर्फ जाँदै गरेको लु एक ज ३०२२ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल भेरी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । जिपमा चालकसहित चार जना सवार थिए ।

दुर्घटनामा वनगाड कुपिण्डे नगरपालिका एक आँपखोलीका २९ वर्षीय प्रेम विक र २१ वर्षीय खुमलाल बुढाथोकी घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि सल्ली सिटी अस्पताल सल्लिबजार लगिएको प्रहरीले जनाएको छ। विकको नाक तथा शरीरका विभिन्न भागमा चोट लागेको छ भने बुढाथोकीको देब्रे खुट्टामा चोट लागेको छ । दुवैको अवस्था मध्यम रहेको बताइएको छ । जिपमा सवार अन्य दुई जना भने जिपसहित भेरी नदीमा बेपत्ता भएका छन्। उनीहरूको पहिचान खुल्न सकेको छैन ।

घटनालगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खोजी तथा उद्धारमा परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक दीपक पातलीको कमान्डमा ३० जना प्रहरी तथा सशस्त्र प्रहरी नायब उपरीक्षक दीपकराज गुरुङको कमान्डमा ११ जना सशस्त्र प्रहरी घटनास्थलमा खटिएका छन् । प्रहरीका अनुसार बेपत्ताको खोजीका लागि सुर्खेतबाट थप सशस्त्र प्रहरी टोली ल्याउने तयारी भइरहेको छ । भेरी नदीमा जिपसहित बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ साउन २७ गते बुधबार