२०८३ साउन २७ , बुधबार

कुमाखमा विपद् व्यवस्थापन स्वयंसेवकलाई चारदिने तालिम



सल्यान । कुमाख गाउँपालिकामा पालिकास्तरीय विपद् व्यवस्थापन स्वयंसेवकको क्षमता अभिवृद्धिका लागि चारदिने तालिम सम्पन्न भएको छ । कुमाख गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीको साझेदारीमा सञ्चालित सुधार (SUDHAR) परियोजनाअन्तर्गत साउन २३ देखि २६ गतेसम्म तालिम सञ्चालन गरिएको हो । तालिममा गाउँपालिकाका सबै वडाबाट २६ जना स्वयंसेवक सहभागी भएका थिए ।

विपद्का समयमा स्थानीयस्तरमै तत्काल उद्धार तथा प्राथमिक उपचार गर्न सक्ने दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले तालिम आयोजना गरिएको आयोजकले जनाएको छ । तालिममा बाढीमा फसेका व्यक्तिको उद्धार, आगलागी नियन्त्रण, भूकम्पपछि घाइतेको उद्धार तथा प्राथमिक उपचारका विषयमा सैद्धान्तिक र व्यावहारिक अभ्यास गराइएको थियो । सहभागीलाई पानीबाट निभाउन नसकिने आगो नियन्त्रण तथा दुर्घटनाका क्रममा अपनाउनुपर्ने सुरक्षा उपायबारे समेत अभ्यास गराइएको थियो । त्यस्तै, जीवनरक्षाका लागि महत्वपूर्ण मानिने सीपीआर (CPR) सम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण दिइएको थियो ।

घटनास्थलमा पुगेर घाइतेको अवस्था पहिचान गर्ने, सुरक्षित रूपमा उद्धार गर्ने र स्वास्थ्य संस्था वा उद्धार टोली नपुग्दासम्म प्राथमिक उपचार गर्ने तरिकाबारे स्वयंसेवकलाई अभ्यास गराइएको आयोजकले जनाएको छ । तालिममा भोजराज ओझा, शिवराम खत्री, केशरकुमार गौतम र यदु आचार्यले प्रशिक्षकका रूपमा सहजीकरण गरेका थिए । नेपाल रेडक्रस सोसाइटी कुमाख पालिका शाखा, जिल्ला शाखा तथा कर्णाली प्रदेशका प्रतिनिधिले पनि प्रशिक्षणमा सहजीकरण गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश कार्यालय प्रमुख राजकुमार क्षेत्रीले विपद्का बेला तत्काल परिचालन गर्न सकिने दक्ष जनशक्ति स्थानीयस्तरमै तयार गर्नु तालिमको मुख्य उद्देश्य रहेको बताए । उनले उद्धार, प्राथमिक उपचार र विपद् प्रतिकार्यसम्बन्धी सीप भएका स्वयंसेवक परिचालन गर्न सके समुदायको विपद् सामना गर्ने क्षमता बढ्ने बताए ।

कुमाख गाउँपालिकाका वन, वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख जीवन शर्माले बाह्य उद्धार टोली घटनास्थलमा पुग्नुअघि स्थानीयस्तरमै प्रारम्भिक उद्धार र प्राथमिक उपचार गर्न सक्ने जनशक्ति आवश्यक रहेको बताए । सबै वडाबाट स्वयंसेवक सहभागी गराइएकाले गाउँपालिकाको स्थानीय विपद् प्रतिकार्य प्रणालीलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने उनकाे भनाइ छ ।

तालिमबाट कुमाख गाउँपालिकाका सबै वडामा बाढी, आगलागी, भूकम्पलगायत विपद्का घटनामा तत्काल परिचालन हुन सक्ने स्वयंसेवक तयार भएको आयोजकले जनाएको छ । स्थानीय जनशक्तिको क्षमता अभिवृद्धिले विपद्का समयमा हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८३ साउन २७ गते बुधबार