२०८३ साउन २७ , बुधबार

कर्णालीमा दशाैँ राष्ट्रिय खेलकुद लक्षित गतिविधी तिव्र



सुर्खेत । कर्णाली प्रदेशका विभिन्न खेल विधामा उत्कृष्ट प्रदर्शन गरेका ८० भन्दा बढी खेलाडी पुरस्कृत भएका छन् । कर्णालीको विद्यमान खेलकुद अवस्था र दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै कर्णाली खेलकुद विकास परिषद् सुर्खेतले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा खेलाडीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, पूर्वमुख्यमन्त्री राजकुमार शर्मा र वर्तमान मुख्यमन्त्री मंगलबहादुर शाहीले विभिन्न खेल विधाका खेलाडीलाई पुरस्कार तथा सम्मान प्रदान गरेका थिए ।

खेलाडीलाई सम्मान गर्दै वक्ताहरूले कर्णालीमा खेलकुदको सम्भावना प्रशस्त रहेकाले त्यसको सही पहिचान र उपयोग गर्न सके राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रदेशको नाम स्थापित गर्न सकिने बताएका थिए । खेलकुदलाई केवल पदक प्राप्त गर्ने माध्यमका रूपमा नभई युवाको भविष्य, रोजगारी, पर्यटन प्रवर्द्धन र प्रदेशको पहिचानसँग जोडेर विकास गर्नुपर्नेमा उनीहरूको जोड थियो । कार्यक्रममा कर्णालीको खेलकुदको वर्तमान अवस्था, समस्या, चुनौती र आगामी सम्भावनाबारे सरोकारवालाबीच छलफल भएको थियो ।

कर्णाली खेलकुद विकास परिषद्का सदस्य सचिव रविन्द्र चन्द ठकुरीले कर्णालीमा खेलाडी र खेल प्रतिभाको कमी नभएको बताए । अवसर, पूर्वाधार र नियमित प्रशिक्षणको व्यवस्था गर्न सके कर्णालीले राष्ट्रिय खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने उनको भनाइ थियो । ठकुरीले विद्यालय तहदेखि नै खेलाडीको प्रतिभा पहिचान गरी प्रशिक्षण र प्रतियोगिताको अवसर दिनुपर्ने बताए । “कर्णालीमा प्रतिभा धेरै छन्, उनीहरूलाई अवसर र उचित वातावरण दिन सक्नुपर्छ,” उनले भने, “खेलाडीलाई प्रतियोगिताको समयमा मात्र होइन, वर्षभरि प्रशिक्षण र आवश्यक सहयोग उपलब्ध गराउने वातावरण बनाउनुपर्छ ।

प्रतियोगितालाई लक्षित गर्दै खेलाडीको प्रशिक्षण, खेल पूर्वाधार, दक्ष प्रशिक्षक र आवश्यक खेल सामग्रीको व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने सहभागीहरूको भनाइ थियो । ग्रामीण तथा दुर्गम क्षेत्रका प्रतिभावान खेलाडी अवसरको अभावमा पछि पर्न नदिन स्थानीय तहदेखि प्रदेश तहसम्म प्रतिभा पहिचानको अभियान सञ्चालन गर्नुपर्नेमा समेत जोड दिइएको थियो । विद्यालय, खेलकुद संघसंस्था, स्थानीय तह, प्रदेश सरकार र निजी क्षेत्रबीच सहकार्य भए कर्णालीमा खेलकुदको बलियो आधार तयार गर्न सकिने सहभागीहरूले बताएका थिए ।

कर्णालीको भौगोलिक विविधता र युवाशक्तिलाई खेलकुद विकाससँग जोड्न सके प्रदेशले खेलकुदका माध्यमबाट नयाँ पहिचान बनाउन सक्ने देखिएको छ । त्यसका लागि पूर्वाधार निर्माणसँगै खेलाडीको भविष्य सुनिश्चित गर्ने नीति, नियमित प्रशिक्षण, प्रतियोगिता र प्रोत्साहनका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याइएको छ । दशौँ राष्ट्रिय खेलकुदलाई अवसरका रूपमा उपयोग गर्दै अहिलेको लगानी र तयारीलाई दीर्घकालीन खेलकुद विकाससँग जोड्न सके कर्णालीबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सकिने अपेक्षा गरिएको छ । कार्यक्रममा पुरस्कृत खेलाडीलाई आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिइएको थियो ।

प्रकाशित मिति : २०८३ साउन २७ गते बुधबार