सुर्खेत । कर्णालीका विभिन्न स्थानमा चिस्यान केन्द्र (कोल्डस्टोर) सञ्चालनमा आएपछि किसानलाई आफ्नो उत्पादन सुरक्षित राख्न सहज भएको छ । विगतमा बिक्री नभएका तरकारी तथा फलफूल कुहिएर खेर जाने समस्या भोग्दै आएका किसानले अहिले उत्पादन भण्डारण गरेर उचित समयमा बिक्री गर्न पाएका छन् । वीरेन्द्रनगर नाै लाटीकोइलीस्थित साना किसान कृषि सहकारीले सञ्चालन गरेको चिस्यान केन्द्रले किसानलाई विशेष राहत दिएको छ ।
किसान रविन थापाका अनुसार बिक्री नभएका तरकारी तथा फलफूल केही दिनका लागि भण्डारण गरेर पछि बजारमा लैजान सकिने भएकाले ठूलो सहयोग पुगेको छ । आलु उत्पादक किसान निर्मला शर्माले पनि कम लागतमा आलु भण्डारण गर्न पाउँदा उत्पादन बिक्री गर्न सहज भएको बताइन् । वीरेन्द्रनगरको चिस्यान केन्द्रमा दैलेख, सल्यान र जाजरकोटलगायत पहाडी जिल्लाबाट कृषि उपज बिक्री गर्न आउने किसानले समेत सेवा लिइरहेका छन् ।
दुई सय मेट्रिक टन क्षमताको उक्त केन्द्रलाई विस्तार गरी पाँच सय मेट्रिक टन क्षमताको प्रदेशस्तरीय चिस्यान केन्द्र बनाउने लक्ष्य राखिएको छ। पहिलो चरणमा आलु र त्यसपछि स्याउ भण्डारण गरिएकोमा अहिले सुन्तला राख्ने तयारी भइरहेको छ । भेरीगंगा नगरपालिका–१२ मा पनि चिस्यान केन्द्र पुनःसञ्चालनमा आएपछि किसानलाई राहत मिलेको छ । किसानले आलुलगायतका उत्पादन भण्डारण गरी राम्रो मूल्य पाएपछि मात्र बिक्री गर्न थालेका छन् ।
विद्युत अभावका कारण लामो समय सञ्चालन हुन नसकेको केन्द्र एक सय ३२ केभीए प्रसारण लाइन सञ्चालनमा आएपछि गत वर्षदेखि पुनःसञ्चालनमा आएको हो । पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका नाै बोटेचौरमा ८५ मेट्रिक टन क्षमताको चिस्यान केन्द्र पनि सञ्चालनमा आएको छ । यस्ता केन्द्र सञ्चालनमा आएपछि कृषि उत्पादनको बजारीकरण र किसानको आम्दानीमा सुधार हुने अपेक्षा गरिएको छ । कर्णाली प्रदेश सरकारले फलफूल तथा तरकारी उत्पादनका पकेट क्षेत्रमा निर्माण भएका चिस्यान केन्द्रलाई मर्मत गरी सञ्चालन गर्ने नीति लिएको छ ।
प्रदेश सरकारको ७० प्रतिशत र सहकारी संस्थाको ३० प्रतिशत लगानीमा सुर्खेतका तीन पालिका र दैलेखमा गरी चार वटा चिस्यान केन्द्र निर्माण गरिएको छ । दैलेखको नारायण नगरपालिकामा करिब दुई करोड रुपैयाँ लगानीमा निर्माण भएको चिस्यान केन्द्र गत वर्षदेखि सञ्चालनमा आएको छ । किसानले उत्पादन सुरक्षित राख्न पाउने वातावरण बनेसँगै कर्णालीमा कृषि उत्पादन बढाउन र बजार व्यवस्थापन गर्न चिस्यान केन्द्र प्रभावकारी माध्यम बन्न थालेका छन् ।









