२०८३ साउन २८ , बिहीबार

भेरी कोरिडोरमा एक महिनादेखि यातायात ठप्प



रुकुमपश्चिम । त्रिदेशीय व्यापारिक मार्गका रूपमा निर्माण भइरहेको भेरी कोरिडोरअन्तर्गत रुकुमपश्चिम–जाजरकोट–डोल्पा सडकखण्डमा एक महिनादेखि यात्रुले सास्ती खेपिरहेका छन् । वर्षासँगै विभिन्न स्थानमा बाढी र पहिरो आएपछि सडक पटक–पटक अवरुद्ध हुँदै आएको हो । प्रहरीका अनुसार गत साउन छ गतेदेखि रुकुमपश्चिम हुँदै डोल्पा जाने सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ ।

आठबिसकोट नगरपालिका स्थित रिजेगार्डखोलामा बाढी र पहिरोका कारण सडक बन्द भएको प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए । खोलामा पानीको बहाव घटेका बेला डोजरको सहयोगमा मालवाहक सवारीसाधन पास गराउने गरिए पनि यात्रुवाहक सवारी भने सञ्चालन हुन सकेका छैनन् । रिजेगार्डखोलामा गत साउन १४ गते एलपी ग्यास बोकेको ट्रक पल्टिँदा ठूलो क्षति भएको थियो । यस क्षेत्रमा पटक–पटक मोटरसाइकलसहित यात्रु जोखिममा परेपछि प्रहरीले उद्धारसमेत गर्दै आएको छ ।

रिजेगार्डखोलासँगै आठबिसकोट छ का उसुमखोला, मन्काखोला र साङ्लेखोला तथा आठबिसकोट ११ को चिसापानीखोला र जाजरकोटतर्फको चौखाखोलामा आउने खहरे भेलले पनि सडक अवरुद्ध गर्ने गरेको छ । ठाउँ–ठाउँमा पहिरो खस्ने गरेकाले यात्रु तथा सवारीसाधन जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । भारतदेखि नेपाल हुँदै चीन जोड्ने महत्वपूर्ण सडकका रूपमा रहेको भेरी कोरिडोरको विभिन्न खण्डमा पुल निर्माण, ग्राभेल तथा कालोपत्रेको काम पूरा हुन सकेको छैन ।

ट्र्याक मात्र खोलिएका कतिपय स्थानमा सडकको अवस्था झन् जोखिमपूर्ण रहेको आठबिसकोट छ का वडाध्यक्ष धनेश्वर शर्माले बताए । नेपालगन्जबाट डोल्पाका लागि सामान तथा यात्रु लिएर आएका सवारीसाधन बाटोमै अलपत्र पर्ने गरेका छन् । सडक अवरुद्ध भएपछि डोल्पाबाट प्रदेश राजधानी सुर्खेत र व्यापारिक केन्द्र नेपालगन्जतर्फको आवागमनसमेत प्रभावित भएको छ । वर्षायाममा सडक नियमित सञ्चालनका लागि जोखिमयुक्त स्थानमा तत्काल वैकल्पिक व्यवस्था तथा सडक मर्मत आवश्यक देखिएको छ ।

प्रकाशित मिति : २०८३ साउन २८ गते बिहीबार