सुर्खेत । खाना पकाउने एलपी ग्यासको चरम अभाव भएपछि सुर्खेतको वीरेन्द्रनगर- ८ स्थित विद्याज्योति निकेतन विद्यालयको क्यान्टिन प्रभावित भएको छ। ग्यास नहुँदा विद्यालयले विद्यार्थीहरूलाई घरबाटै दिवा खाजा लिएर आउन अनुरोध गरेको छ ।

विद्यालय प्रशासनका अनुसार हिजो क्यान्टिनमा दिवा खाजा पकाउने क्रममा ग्यास सकिएको थियो । वैकल्पिक ग्यासको व्यवस्था गर्न अनेक प्रयास गर्दा पनि हालसम्म सम्भव नभएकाले ग्यासको सहजीकरण नभएसम्म क्यान्टिनबाट खाजा उपलब्ध गराउन नसकिने विद्यालयले जनाएको छ ।
विद्यालयका प्रिन्सिपल ध्रुव बहादुर सिंहद्वारा जारी सूचनामा भनिएको छ, देशभर र विशेष गरी सुर्खेतमा देखिएको ग्यास अभावको प्रत्यक्ष असर विद्यालयमा परेको छ । ग्यास व्यवस्थापन नहुँदासम्म सबै विद्यार्थीहरूलाई घरबाटै खाजा ल्याउन अनुरोध गर्दछौँ ।
ग्यास अभावका कारण विद्यार्थी तथा अभिभावकहरूमा पर्न गएको असुविधाप्रति विद्यालयले क्षमा याचना गरेको छ । साथै यस असहज स्थितिमा कुनै अभिभावक, ग्यास विक्रेता, डिलर वा सम्बन्धित निकायमार्फत ग्यासको व्यवस्था गर्न सकिने भए विद्यालयलाई जानकारी गराएर सहयोग गरिदिन पनि प्रिन्सिपल सिंहले अपिल गरेका छन् ।








