२०८३ साउन ३१ , आइतबार

वीरेन्द्रनगरमा डेङ्गु संक्रमण बढ्दो



सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले नगर अस्पताल र लाटीकोइली स्वास्थ्य संस्थामा डेङ्गुको निःशुल्क परीक्षण सुरु गरेको छ । नगर क्षेत्रमा डेङ्गुका बिरामी बढ्दै गएपछि नगरपालिकाले दुई स्वास्थ्य संस्थामार्फत निःशुल्क परीक्षणको व्यवस्था गरेको हो । नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख मोहनमाया ढकालले पछिल्लो समय डेङ्गुको संक्रमण बढ्दै गएकाले निःशुल्क परीक्षणको व्यवस्था गरिएको बताए । उनले नगरवासीलाई नगर अस्पताल र लाटीकोइली स्वास्थ्य संस्थामा पुगेर निःशुल्क परीक्षण गराउन आग्रह षरे ।

नगरपालिकाले डेङ्गु नियन्त्रणका लागि प्रत्येक वडामा जनचेतनामूलक कार्यक्रमसँगै ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्ने जनाएको छ। वडा नं । तिन, चार, छ, सात र ११ लाई बढी जोखिममा राख्दै ती क्षेत्रमा सचेतना अभियानलाई थप प्रभावकारी बनाइने भएको छ । सुर्खेतका नौ स्थानीय तहमध्ये वीरेन्द्रनगरमा डेङ्गु संक्रमण सबैभन्दा बढी देखिएको छ । यस वर्ष सुर्खेतमा दुई हजार दुई सय सात जनामा डेङ्गु संक्रमण पुष्टि भएकामा वीरेन्द्रनगरमा मात्रै एक हजार नाै सय २३ जना रहेका छन् ।

नगर स्वास्थ्य प्रमुख भूपेन्द्रदेव गिरीका अनुसार वीरेन्द्रनगरमा स्क्रब टाइफसका दुई सय २५ र औलोका २२ जना बिरामीसमेत भेटिएका छन् । नगरपालिकाले सबै वडामा सचेतनामूलक ब्यानर राख्नुका साथै लामखुट्टेको सम्भावित प्रजननस्थल पहिचान गरी नष्ट गर्ने अभियान सञ्चालन गरिरहेको जनाएको छ । स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण किट वितरण गर्नुका साथै आमा समूह, युवा क्लब, टोल विकास समिति र विद्यालयमार्फत डेङ्गुका लक्षण, रोकथाम तथा बच्ने उपायबारे जानकारी दिइँदै आएको छ ।

प्रदेश अस्पतालका डा। केएन पौडेलले डेङ्गुबाट बच्न पर्याप्त झोलिलो पदार्थ सेवन गर्न सुझाव दिए । जनस्वास्थ्य कार्यालय सुर्खेतका उदय बिसीले लामखुट्टेको प्रजननस्थल खोजी गरी नष्ट गर्ने अभियानलाई नियमित बनाउनुपर्ने बताए । उनका अनुसार सबैको सहभागितामा सञ्चालन गर्न सकिने यस्तो अभियान डेङ्गु नियन्त्रणको प्रभावकारी उपाय बन्न सक्छ ।

प्रकाशित मिति : २०८३ साउन ३१ गते आइतबार