२०८३ साउन ३१ , आइतबार

ग्यास अभावले सुर्खेतका साना होटल व्यवसाय बन्द



सुर्खेत । करिब एक महिनादेखि खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज हुन नसक्दा सुर्खेतका साना होटल तथा रेस्टुरेन्ट व्यवसाय संकटमा परेका छन् । नियमित रूपमा ग्यास नपाएपछि वीरेन्द्रनगरका केही व्यवसायीले होटल बन्द गर्न थालेका छन् भने कतिपयले दाउरा र विद्युतीय चुलो प्रयोग गरेर व्यवसाय धानिरहेका छन् । ठूला होटलहरूले नेपालगन्जबाट ग्यास ल्याएर सेवा सञ्चालन गरिरहेका भए पनि साना व्यवसायीले स्थानीय बजारमै पर्याप्त ग्यास नपाउँदा समस्या झेलिरहेका छन् ।

ग्यास अभावका कारण दैनिक आम्दानीमा असर परेको र व्यवसाय सञ्चालनको लागतसमेत बढेको व्यवसायीको भनाइ छ । वीरेन्द्रनगरमा रेस्टुरेन्ट सञ्चालन गर्दै आएका प्रकास तिमिल्सेनाले चार दिनसम्म ग्यास नपाएपछि होटल बन्द गर्नुपरेको बताए । लामो समयदेखि ग्यासको अभाव रहे पनि सहज रूपमा आपूर्ति हुन नसक्दा आफूजस्ता साना व्यवसायीलाई थप समस्या परेको उनले गुनासो गरे । ग्यास नहुँदा खाना पकाउन वैकल्पिक माध्यम प्रयोग गर्नुपर्ने भएकाले खर्च बढेको उनकाे भनाइ छ ।

ग्यास व्यवसायी जगत पन्तका अनुसार बजारमा मागअनुसार सिलिन्डर नआउँदा अभाव भएको हो । थोरै मात्रामा ग्यास आउने र उपभोक्ताको संख्या धेरै हुँदा वितरणमा समस्या भइरहेको उनले बताए । जिल्ला प्रशासन कार्यालय र नेपाल आयल निगमको निर्देशन अनुसार ग्यास वितरण गरिए पनि उपभोक्ताको माग धान्न नसकिएको उनकाे भनाइ छ । सुर्खेतमा अहिले ३० हजारभन्दा बढी खाली सिलिन्डर ग्यास भर्ने प्रतीक्षामा रहेको व्यवसायीले बताएका छन् ।

नेपाल आयल निगम सुर्खेतका अनुसार साउन एक देखि २७ गतेसम्म ४४ हजार पाँच सय एक सिलिन्डर वितरण भइसकेका छन् । तर ठूलो संख्यामा खाली सिलिन्डर थन्किएपछि बजारमा ग्यासको अभाव कायमै रहेको छ । ग्यास अभावका कारण साना होटल तथा रेस्टुरेन्टको दैनिक कारोबार प्रभावित भएको व्यवसायीहरू बताउँछन् । नियमित ग्राहक गुम्ने, वैकल्पिक इन्धनमा खर्च बढ्ने र व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आउन सक्ने उनीहरूको चिन्ता छ ।

लामो समयसम्म समस्या समाधान नभए साना व्यवसायीको लगानी र रोजगारीसमेत प्रभावित हुन सक्ने देखिएको छ । व्यवसायीहरूले मागअनुसार ग्यासको आपूर्ति बढाउन र वितरण प्रणालीलाई सहज बनाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन् । उनीहरूले ठूला व्यवसाय र साना व्यवसायबीच ग्यास वितरणमा समान पहुँच सुनिश्चित गर्नसमेत माग गरेका छन्। समयमै आपूर्ति व्यवस्था सुधार गरी बजारमा पर्याप्त ग्यास उपलब्ध गराउनुपर्ने व्यवसायीहरूको जोड छ ।

प्रकाशित मिति : २०८३ साउन ३१ गते आइतबार