२०८३ साउन ३१ , आइतबार

जाजरकाेटका पहिरोपीडितलाई प्रदेश सरकारको राहत



जाजरकोट । जिल्लाकाे भेरी नगरपालिका  रिसाङमा पहिरोका कारण विस्थापित परिवारका लागि कर्णाली प्रदेश सरकारले आपत्कालीन राहत सामग्री पठाएको छ । पहिरोको जोखिम बढेपछि सुरक्षित स्थानमा सारिएका नागरिकको तत्कालीन आवश्यकता पूरा गर्न प्रदेश सरकारले खाद्यान्न तथा गैरखाद्य सामग्री उपलब्ध गराएको हो । मुख्यमन्त्री मंगलबहादुर शाहीको निर्देशनमा प्रभावित परिवारलाई लक्षित गरी राहत सामग्री पठाइएको प्रदेश सरकारले जनाएको छ ।

पहिरोका कारण घर तथा बस्ती जोखिममा परेपछि विस्थापित भएका परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउन प्रदेश सरकार, स्थानीय तह र अन्य निकायबीच समन्वय भइरहेको छ । प्रदेश सरकारका अनुसार राहत सामग्रीमा चार क्विन्टल चामल, ५० किलो चिउरा, एक सय ५० थान त्रिपाल, दुई रोल प्लास्टिक, २० थान पिफर्म टेन्ट र एक सय ८५ थान ब्ल्याङ्केट रहेका छन् । प्रभावित परिवारको अवस्था र आवश्यकतालाई आधार बनाएर सामग्री वितरण गरिने जनाइएको छ ।

प्रदेश सचिव लक्ष्मीकुमार विकले विपत्बाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनु सरकारको प्राथमिकता रहेको बताए । प्रभावित क्षेत्रमा आवश्यकताअनुसार थप राहत सामग्री पठाउने र सम्बन्धित निकायसँग समन्वय गरिने उनले जानकारी दिए । भेरी नगरपालिका–दुई रिसाङमा गएको पहिरोका कारण ठूलो संख्यामा नागरिक प्रभावित भएका छन् । जोखिमयुक्त क्षेत्रमा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएपछि उनीहरूको खाद्यान्न, आवास तथा स्वास्थ्य अवस्थालाई प्राथमिकतामा राखेर राहत तथा उद्धारका काम भइरहेको छ ।

स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायले प्रभावित क्षेत्रको अवस्था अनुगमन गर्दै उद्धार तथा राहत व्यवस्थापनलाई निरन्तरता दिएका छन् । पहिरोबाट थप क्षति हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै जोखिमयुक्त परिवारलाई सुरक्षित स्थानमा राखिएको छ । प्रदेश सरकारले प्रभावित क्षेत्रको अवस्थाको निरन्तर मूल्यांकन गरी आवश्यकता अनुसार थप राहत र सहयोग उपलब्ध गराउने जनाएको छ । विपत्का कारण विस्थापित परिवारलाई तत्कालीन राहतसँगै सुरक्षित आवास तथा पुनःस्थापनाका लागि समेत आवश्यक समन्वय गरिने प्रदेश सरकारको भनाइ छ ।

प्रकाशित मिति : २०८३ साउन ३१ गते आइतबार