डोल्पा । जिल्लाकाे प्रमुख धार्मिक तथा पर्यटकीयस्थल बाला त्रिपुरासुन्दरी भगवती मन्दिरमा आयोजना हुने श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञलाई व्यवस्थित बनाउन १२ वटा विषयगत उपसमिति गठन गरिएको छ । त्रिपुरासुन्दरी नगरपालिका एक त्रिपुराकोटस्थित मन्दिर परिसरमा भाद्र १५ देखि २२ गतेसम्म सञ्चालन हुने महायज्ञको तयारीस्वरूप आइतबार बसेको बैठकले उपसमिति गठन गरेको हो ।
महायज्ञ व्यवस्थापनका लागि छुट्टै सचिवालयसमेत स्थापना गरिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार महायज्ञलाई धार्मिक अनुष्ठानमा मात्र सीमित नराखी मन्दिरको भौतिक पूर्वाधार विकास, धार्मिक पर्यटन प्रवर्द्धन तथा क्षेत्रको समग्र विकाससँग जोड्ने लक्ष्य राखिएको छ । महायज्ञको आर्थिक व्यवस्थापन, प्रचारप्रसार, सांस्कृतिक कार्यक्रम, अनुगमन, अतिथि सत्कार, पूजाआजा, स्वास्थ्य, शान्ति कलश, दुना–टपरी तथा फूलमाला, खानेपानी–सरसफाइ र बाजागाजाका लागि छुट्टाछुट्टै उपसमिति बनाइएको मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष विष्णुप्रसाद न्यौपानेले जानकारी दिए ।
आर्थिक व्यवस्थापन उपसमितिको संयोजकमा टीकादत्त न्यौपाने तथा प्रचारप्रसारमा पत्रकार विष्णुप्रसाद देवकोटालाई जिम्मेवारी दिइएको छ । सांस्कृतिक तथा नाचगानमा रविप्रसाद न्यौपाने र अनुगमन तथा मूल्यांकनमा तुलबहादुर बिष्ट संयोजक रहेका छन् । अतिथि सत्कारमा गीता खत्री, पूजाआजा तथा स्टल व्यवस्थापनमा मोतीप्रसाद उपाध्याय, स्वास्थ्यमा तुलबहादुर नेवार, फूलमालामा गोमादेवी उपाध्याय, खानेपानी तथा सरसफाइमा भक्तसिंह कठायत र बाजागाजामा रनवीर नेपालीलाई जिम्मेवारी दिइएको छ ।
महायज्ञमा युवा पण्डित ईश्वर रेग्मीले श्रीमद् भागवत कथा प्रवचन गर्नेछन् । राष्ट्रिय कलाकारहरूको सहभागितामा भजन–कीर्तन, झाँकी तथा नृत्यसमेत प्रस्तुत गरिनेछ । विश्वशान्ति, पितृमोक्ष तथा धार्मिक कल्याणको कामनासहित विभिन्न पूजाआजा गरिने आयोजकले जनाएको छ । भाद्र १५ गते बिहान ११ बजे शान्ति कलश यात्रा निकालेर महायज्ञ उद्घाटन गरिनेछ । भाद्र १६ देखि २१ गतेसम्म नित्य पूजापाठ, भागवत पाठ, शालिग्राम पूजन तथा संगीतमय कथा प्रवचन सञ्चालन हुनेछ । भाद्र २२ गते पूर्णाहुति तथा यज्ञ विसर्जन गरिनेछ ।
महायज्ञमा तुलादान, भूमिदान, पितृका नाममा दान, व्रतबन्ध, चौरासी पूजा, ब्राह्मण भोजन, विवाह, ग्रहशान्ति तथा सत्यनारायण पूजालगायत धार्मिक सेवा उपलब्ध हुनेछ । दानदातालाई सहयोग रकमअनुसार प्रमाणपत्र, फ्रेम तथा शिलालेखमा नाम समावेश गरी सम्मान गर्ने व्यवस्था गरिएको छ। रु. एक लाख वा सोभन्दा बढी सहयोग गर्ने दानदाताको परिवारको नाम शिलालेखमा राखिने आयोजकले जनाएको छ । श्रद्धालु, दानदाता तथा सर्वसाधारणलाई महायज्ञमा सहभागी हुन आयोजकले आह्वान गरेको छ ।









