२०८३ भदौ २ , मंगलबार

छ लाख ८८ हजारको सहुलियत खाद्यान्न बिक्री



हुम्ला । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको हुम्ला शाखाले सातौँ वार्षिकोत्सव तथा चाडपर्वलाई लक्षित गर्दै सहुलियत मूल्यमा खाद्यान्न बिक्री सुरु गरेको छ । बिक्री सुरु भएको पहिलो दिनमै शाखाले करिब सात लाख रुपैयाँ बराबरको खाद्यान्न बिक्री गरेको जनाएको छ । लिमिटेडका हुम्ला शाखा प्रमुख कृष्णबहादुर थापामगरका अनुसार पहिलो दिन छ लाख ८८ हजार सात सय ५० रुपैयाँ बराबरको खाद्यान्न बिक्री भएको हो । उनका अनुसार उक्त दिन ७० क्विन्टल चामल, तिन सय २२ किलो चिनी र तिन सय ४५ लिटर सूर्यमुखी तेल बिक्री गरिएको छ ।

बिक्री भएको चामलमध्ये करिब ६४ दशमलव ५० क्विन्टल सामान्य र पाँच दशमलव ५० क्विन्टल पौष्टिक तत्व मिसाइएको चामल रहेको शाखाले जनाएको छ । कम्पनीले वार्षिकोत्सव तथा चाडपर्वलाई लक्षित गर्दै भदौ एक गतेदेखि सहुलियत मूल्यमा खाद्यान्न बिक्री सुरु गरेको हो । शाखा प्रमुख थापामगरका अनुसार सहुलियतमा बिक्री हुने खाद्यान्नमा चामल, चिनी र सूर्यमुखी तेल रहेका छन् । सबै प्रकारका चामलमा प्रतिक्विन्टल पाँच रुपैयाँ छुटको व्यवस्था गरिएको छ । त्यस्तै, चिनीमा प्रतिकिलो पाँच रुपैयाँ छुट दिई एक सय रुपैयाँमा बिक्री भइरहेको छ भने सूर्यमुखी तेलमा प्रतिलिटर तीन रुपैयाँ छुट गरी दुई सय ९५ रुपैयाँमा बिक्री गरिएको छ ।

पौष्टिक तत्व मिसाइएको चामल प्रतिव्यक्ति एक क्विन्टलसम्म खरिद गर्न सकिने व्यवस्था गरिएको छ भने अन्य खाद्यान्न आवश्यकता अनुसार खरिद गर्न सकिनेछ । हाल कम्पनीको हुम्ला शाखाको गोदाममा छ हजार क्विन्टलभन्दा बढी खाद्यान्न मौज्दात रहेको छ । सहुलियत मूल्यको खाद्यान्न शाखा कार्यालयसँगै सर्केगार्ड र श्रीनगर डिपो तथा जिल्लाका अन्य १० बिक्री केन्द्रबाट समेत बिक्री गरिनेछ । यस वर्ष सहुलियत कोटाको खाद्यान्नका लागि जिल्लाबाट छुट्टै कोटा निर्धारण गर्नुको सट्टा प्रधान कार्यालयले हुम्लासहित शाखा, डिपो र बिक्री केन्द्रका लागि २३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । उक्त बजेटबाट तोकिएको रकमको खाद्यान्न सकिनेसम्म सहुलियत मूल्यमा बिक्री वितरण गरिने शाखाले जनाएको छ ।

प्रकाशित मिति : २०८३ भदौ २ गते मंगलबार