जाजरकोट । जिल्लाकाे भेरी नगरपालिका दुई रिसाङमा पहिरोपछि विस्थापित परिवारको अवस्था दयनीय बनेको छ । लगातारको वर्षासँगै आएको पहिरोले घरहरू पुरिएपछि सयौँ स्थानीय त्रिपालको अस्थायी आश्रयमा बस्न बाध्य छन् । प्रदेश सरकारले पठाएको राहत सामग्री भने समयमै पीडितसम्म नपुग्दा जिल्ला प्रहरी कार्यालयमै थन्किएको छ ।
पहिरोमा १० घर पूर्ण रूपमा पुरिएका छन् भने गाउँका करिब ६० घर अझै जोखिममा छन् । घटनापछि ७० परिवारका दुई सय ३० जना विस्थापित भएका छन् । उनीहरूलाई त्रिभुवन आधारभूत विद्यालय, विष्णु प्राथमिक विद्यालय र रार्नेटामा रहेको अस्थायी शिविरमा राखिएको छ। भेरी–दुई सुनारगाउँका थप ३० जनालाई सुनखाँडास्थित खुला चौरमा राखिएको छ ।
शनिबार आएको पहिरोमा परी चार जनाको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए । त्यसपछि विस्थापित परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिमा मौज्दात रहेका त्रिपाल, टेन्ट, पिफर्मलगायत सामग्री उपलब्ध गराइएको थियो । भेरी नगरपालिकाले तत्कालका लागि चाउचाउ, बिस्कुट र फ्रुटीलगायत खानेकुरा वितरण गरेको थियो ।
सोमबार बिहान चामल र दाल वितरण भएपछि मात्रै तीन दिनपछि पेटभरि खाना पाउन सकेको विस्थापित दलबहादुर कामीले बताए । तर, राहत वितरणमा देखिएको ढिलाइले पीडितको समस्या थप जटिल बनेको छ । वर्षा निरन्तर भइरहेकाले जोखिममा रहेका परिवारको सुरक्षित स्थानान्तरण र तत्काल राहत वितरणलाई प्राथमिकता दिनुपर्ने स्थानीयको माग छ ।









