रुकुम पश्चिम । जिल्ला अस्पताल रुकुम पश्चिममा स्तनपान कक्ष नहुँदा शिशुसहित उपचारका लागि पुग्ने आमाहरूलाई बच्चालाई दूध खुवाउन समस्या भएको छ । अस्पतालमा सुरक्षित र सहज स्थान नहुँदा आमाहरूले उपयुक्त ठाउँ खोज्दै हिँड्नुपर्ने बाध्यता रहेको सेवाग्राहीले गुनासो गरेका छन् । अस्पतालमा उपचारका लागि चार महिनाको शिशुसहित पुगेकी अम्बिका खड्काले पालो कुर्ने क्रममा बच्चाले दूध मागेपछि कहाँ बसेर स्तनपान गराउने भन्ने समस्या भएको बताइन् ।
उनका अनुसार अस्पतालजस्तो संवेदनशील स्थानमा समेत स्तनपानका लागि छुट्टै व्यवस्था नहुँदा आमाहरू असहज अवस्थामा पर्ने गरेका छन् । १५ शय्या स्वीकृत अस्पतालमा बिरामीको चाप बढेपछि हाल करिब ४० शय्यासम्म सञ्चालन भइरहेको छ । अस्पतालका मेडिकल अधिकृत डा. ओसन पुनका अनुसार करिब एक वर्षअघि स्तनपान कक्ष निर्माण गरिएको थियो । तर, पर्याप्त ठाउँ नहुँदा उक्त कक्षलाई पछि मेडिकल रेकर्ड रुमका रूपमा प्रयोग गर्नुपरेको हो ।
डा. पुनले अस्पतालमा स्तनपान कक्ष आवश्यक भए पनि ठाउँ अभावका कारण तत्काल व्यवस्था गर्न नसकिएको बताए । उनका अनुसार शिशुसहित आउने आमाहरूलाई सुरक्षित रूपमा स्तनपान गराउने वातावरण बनाउन अस्पताल गम्भीर छ । पछिल्लो पाँच वर्षदेखि निर्माण भइरहेको ५० शय्या क्षमताको नयाँ भवन सञ्चालनमा आएपछि स्तनपान कक्षको समस्या समाधान हुने अस्पतालले जनाएको छ । सार्वजनिक तथा सरकारी संस्थामा लैंगिकमैत्री संरचना आवश्यक भए पनि जिल्लाका धेरै ठाउँमा यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।









