२०८३ भदौ २ , मंगलबार

बाढीपहिरोले सल्यानका सडक अवरुद्ध



सल्यान । लगातारको वर्षासँगै आएको बाढी र पहिरोले सल्यानका दर्जनौँ ग्रामीण सडकमा क्षति पुर्‍याएपछि यातायात सेवा प्रभावित भएको छ । केही सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने अन्य सडकमा हिलाम्मे बाटो र पहिरोका कारण जोखिम मोलेर सवारी सञ्चालन गर्नुपर्ने अवस्था छ । स्थानीय तहले सडक खुलाउन जेसिबी परिचालन गरी मर्मत गरिरहेका छन् । तर वर्षा नरोकिँदा सडकमा नियमित यातायात सञ्चालन गर्न कठिनाइ भइरहेको छ ।

सडक अवरुद्ध हुँदा बिरामीलाई अस्पताल लैजान, कृषि उपज बजारसम्म पुर्‍याउन तथा दैनिक आवतजावतमा समेत समस्या भएको स्थानीयले बताएका छन् । वर्षाका कारण खलंगा, कालिमाटी, लान्ती, लेखपोखरा, कपुरकोट, गर्पा, लुहाम, फलाबाङ, तुलसीपुर, बागचौर, पातिहाल्ना, पातिहाल्ना–बाफुखोला, ढोडचौर बडागाउँलगायतका सडकमा बाढी र पहिरोले क्षति पुर्‍याएको छ ।  कालिमाटी गाउँपालिका छ को बालुवा छरछरे, वडा नम्बर सातको बालुवा–घुइँयाबारी तथा बागचौर क्षेत्रका केही सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

कालिमाटीबाट घुइँयाबारी हुँदै नेपालगन्ज जाने सडकमा ठाउँठाउँमा कटान र पहिरो गएको वडाध्यक्ष मित्रलाल रिजालले बताए । उनका अनुसार स्थानीय र यात्रुसमेत मिलेर जेसिबीको सहायतामा सडक खुलाउने काम भइरहेको छ । छत्रेश्वरी गाउँपालिका दुई मा खहरेखोलाको बाढीले लान्ती लेखपोखरा दह सडक तीन दिन अवरुद्ध भएको थियो । पालिकाले जेसिबी प्रयोग गरी मर्मत गरेपछि यातायात सञ्चालनमा आएको जनाइएको छ ।

प्रकाशित मिति : २०८३ भदौ २ गते मंगलबार