२०८३ भदौ २ , मंगलबार

पञ्चपुरी अस्पतालमा एनएसआई टोली, स्वास्थ्य सेवा विस्तारको अपेक्षा



दिलिप कडेँल

सुर्खेत । पञ्चपुरी नगरपालिका दुई सालकोटस्थित पञ्चपुरी आधारभूत अस्पतालमा एनएसआई टोलीको स्वागत गरिएको छ । टोलीको आगमनसँगै पश्चिम सुर्खेतका नागरिकले स्थानीयस्तरमै थप गुणस्तरीय स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ । अस्पतालमा आयोजित स्वागत कार्यक्रममा पञ्चपुरी नगरपालिकाका नगरप्रमुख लालवीर भण्डारी, पूर्वनगरप्रमुख उपेन्द्र थापा, वडा नम्बर दुईका अध्यक्ष यामबहादुर बीसी, वडा नम्बर तिनका अध्यक्ष बलबहादुर रोकाय र वडा नम्बर चारका अध्यक्ष रामप्रसाद अधिकारीलगायत जनप्रतिनिधि तथा सरोकारवालाको सहभागिता थियो ।

कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत लालबहादुर सुवेदी, लेखा अधिकृत लक्ष्मी अधिकारी, अस्पतालका कार्यालय प्रमुख आवासचन्द्र कटुवाल तथा अस्पतालका कर्मचारीसमेत सहभागी थिए । एनएसआई टोलीको उपस्थितिले अस्पतालको सेवा थप प्रभावकारी र गुणस्तरीय बन्ने विश्वास गरिएको छ । यसअघि पश्चिम सुर्खेतका नागरिक सामान्यदेखि विशेषज्ञ स्वास्थ्य उपचारका लागि समेत वीरेन्द्रनगर पुग्नुपर्ने बाध्यता थियो ।

अस्पतालको सेवा विस्तारसँगै उक्त समस्या कम हुने अपेक्षा गरिएको छ । कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा सरोकारवालाले अस्पतालको सेवा सुधारका लागि आवश्यक जनशक्ति, उपकरण र पूर्वाधार व्यवस्थापनमा जोड दिएका थिए । साथै, गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि स्थानीय तह, अस्पताल प्रशासन र सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको बताएका थिए ।

पञ्चपुरी अस्पताललाई पश्चिम सुर्खेतकै भरपर्दो स्वास्थ्य केन्द्रका रूपमा विकास गर्न सके पञ्चपुरीसँगै आसपासका नागरिकसमेत लाभान्वित हुने अपेक्षा गरिएको छ । स्थानीयस्तरमै विशेषज्ञ सेवा विस्तार भए उपचारका लागि लाग्ने समय, खर्च र यात्राको झन्झटसमेत कम हुने विश्वास गरिएको छ ।

प्रकाशित मिति : २०८३ भदौ २ गते मंगलबार