सुर्खेत । नेशनल बाथरोग सेन्टर (NCRD) ले कर्णाली प्रदेशका नागरिकलाई आफ्नै क्षेत्रमा बाथ तथा रुमाटिक रोगको विशेषज्ञ उपचार उपलब्ध गराउने उद्देश्यले सुर्खेतमा आफ्नो १०औँ शाखा सञ्चालनमा ल्याएको छ । शाखाको उद्घाटन कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले गरेका छन् । कार्यक्रममा बाथरोग सेन्टरका निर्देशक रमेश कुमार श्रेष्ठले अध्यक्षता गरेका थिए ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश प्रमुख जोशीले कर्णाली र सुदूरपश्चिमका महिलामा बाथरोगको समस्या बढी देखिने भएकाले समयमै रोग पहिचान गरी उपचार गर्नुपर्ने बताए । उनले विशेषज्ञ स्वास्थ्य सेवा राजधानीमा मात्र सीमित नराखी स्थानीयस्तरसम्म विस्तार गर्नुपर्नेमा जोड दिए ।
सेन्टरका निर्देशक श्रेष्ठले बाथरोग दीर्घकालीन प्रकृतिको भएकाले नियमित उपचार, फलोअप र उचित व्यवस्थापन आवश्यक पर्ने बताए । सुर्खेतमै विशेषज्ञ सेवा सुरु भएपछि कर्णालीका बिरामीलाई उपचारका लागि काठमाडौं लगायत ठूला सहर धाउनुपर्ने बाध्यता कम हुने उनकाे भनाइ थियो ।
वीरेन्द्रनगर दुईका वडाध्यक्ष गजबहादुर बुढाले स्थानीयस्तरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध हुनु वीरेन्द्रनगर दुई र एकका लागी झन नागरिकमा सकारात्मक भएको बताए ।
चिकित्सक तथा निर्देशक डा. बिनित वैद्यले बाथरोग समयमै पहिचान र विशेषज्ञ उपचार पाए प्रभावकारी रूपमा व्यवस्थापन गर्न सकिने बताए । वीरेन्द्रनगर एकका वडाध्यक्ष दिनेश खत्रीले शाखा विस्तारले कर्णालीका नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउने विश्वास व्यक्त गरे ।
त्यस्तै नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष मधुवन बीसीले बाथरोग सम्बन्धी जनचेतना अभिवृद्धिमा सञ्चारमाध्यम र स्वास्थ्य संस्थाबीच सहकार्य आवश्यक रहेको बताए ।
कार्यक्रम सञ्चालन शाखा म्यानेजर कृष्ण बीसीले गरेका थिए । सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिका अनुसार सुर्खेत शाखाबाट बाथरोग विशेषज्ञ ओपीडी, Autoimmune Diseases सम्बन्धी विशेष प्रयोगशाला परीक्षण, एक्स–रे, डे–केयर उपचार, फार्मेसी, मस्कुलोस्केलेटल अल्ट्रासाउन्ड र नर्भ कन्डक्सन टेस्टलगायत सेवा उपलब्ध हुनेछन् ।
२०६९ जेठ २२ गते स्थापना भएको सेन्टरले काठमाडौंको रातोपुललाई मुख्य केन्द्र बनाएर ललितपुर, भक्तपुर, पोखरा, झापा, बुटवल, दाङ, चितवन र धनगढीलगायत स्थानमा सेवा विस्तार गरिसकेको छ ।
सुर्खेत शाखामार्फत कर्णालीका बिरामीलाई समयमै निदान, उपचार, नियमित फलोअप र दीर्घकालीन रोग व्यवस्थापन सहज हुने अपेक्षा गरिएको छ ।










