जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रिक्त पदाधिकारी नियुक्तिका लागि जारी गरिएको नयाँ कार्यविधिमाथि विवाद उत्पन्न भएको छ । ‘पदाधिकारी छनोट तथा सिफारिस कार्यविधि, २०८३’ मा रजिष्ट्रार पदका लागि राखिएका केही विशेष योग्यता र अनुभवका सर्तले खुला प्रतिस्पर्धाको दायरा साँघुरो बनाएको भन्दै सरोकारवालाले प्रश्न उठाएका हुन् ।
कार्यविधिको दफा सातमा रजिष्ट्रारका लागि स्वास्थ्य विज्ञान प्रतिष्ठान, विश्वविद्यालय वा शिक्षण अस्पतालमा राजपत्राङ्कित द्वितीय श्रेणी वा सोसरहको पदमा पाँच वर्ष अनुभव वा शिक्षण अस्पतालमा सहप्राध्यापकभन्दा माथिल्लो पदमा दुई वर्ष अनुभव हुनुपर्ने व्यवस्था छ । त्यस्तै, विश्वविद्यालय, प्रतिष्ठान, अस्पताल वा शैक्षिक संस्थामा पदाधिकारी वा विभागीय प्रमुखका रूपमा व्यवस्थापकीय अनुभवलाई पनि अनिवार्य गरिएको छ ।
आलोचकहरूले यस्ता प्रावधानका कारण निजामती सेवा, सार्वजनिक संस्थान तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय निकायमा लामो प्रशासनिक अनुभव भएका दक्ष व्यक्ति प्रतिस्पर्धाबाट बाहिरिन सक्ने बताएका छन् । कार्यविधि साउन २७ गते सार्वजनिक भएर साउन २९ गते नै संशोधन भएपछि त्यसको उद्देश्य र प्रक्रियामाथि थप आशंका उत्पन्न भएको उनीहरूको भनाइ छ । यसैबीच, कार्यविधिमा रहेको योग्यता केही निश्चित व्यक्तिसँग मात्र मेल खाने गरी बनाइएको हुन सक्ने चर्चा पनि चलेको छ ।
यद्यपि प्रतिष्ठानका उपकुलपति प्रा.डा. सूर्यमान म्याहाङम्बोले भने कार्यविधिले प्रतिस्पर्धाको दायरा फराकिलो बनाएको दाबी गरेका छन् । उनका अनुसार स्नातकोत्तर तह उत्तीर्ण गरेका योग्य व्यक्तिले प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरिएको छ । पूर्व रजिष्ट्रार विश्वराज काफ्लेले भने कार्यविधि निर्माण तथा संशोधनको वैधानिकतामाथि नै प्रश्न उठाउँदै यसले प्रतिष्ठानको संस्थागत मर्यादा र सुशासनमा असर पार्न सक्ने बताएका छन् ।









